स्वदेशी उद्योगलाई विद्युत्मा छुट दिने विषय सेलायो : प्रमुख कर्यकारी अधिकृत घिमिरे



-कैलाश घिमिरे
प्रमुख कर्यकारी अधिकृत
क्लासिक इन्डस्ट्रिज प्राइभेट लिमिटेड

नेपालको जङ्गलमा काठ सडेर नाश भएको छ तर विदेशबाट काठ आयात गर्नुपर्ने स्थिति छ । मानिसको चाहना दैनिक बढ्दा फर्निसिङ् तथा फर्निचरको माग पनि बढ्दो छ । स्वदेशी उत्पादन बन्द हुने अवस्थामा छन् भने विदेशमा बनेका सामान सस्तो मूल्यमा सरकारकै मिलेमतोमा विभिन्न सम्झौताका आधारमा आयात भइरहेको छ । यस्तो अवस्थामा सरकारले निजी लगानीमा खुलेका उद्योगले कस्तो कार्य गर्नुपर्छ भन्ने विषयमा क्लासिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गर्नुभएको कुराकानी ।

० अहिले फर्निसिङ व्यवसायको अवस्था कस्तो रहेको छ ?

यस क्षेत्रमा बजार अध्ययन नगरी लगानी भइरहेको छ । विशेष गरेर भारतबाट बनेका सामान आयात भइरहेको छ । भारतबाहेक पनि अमेरिका, चाइनाबाट पनि भित्रीरहेको छ । साफ्टाको छुटमा सामान आयात भइरहेको छ । यसले स्वदेशी उत्पादनमा धक्का दिएको छ ।

० फर्निसिङको कच्चा पदार्थ कहाँबाट आयात हुने गरेको छ ?

नेपालमा कच्चा पदार्थ उत्पादन एकदमै कम छ । अन्य देशसँग प्रतिस्पर्धा गर्न सकिने अवस्था छैन । अहिले चाइना, कोरिया, भारतबाट आयात भइरहेको छ । आयात गर्ने वायर स्प्रिङहरू चाइनाबाट ल्याउने गरेका छौँ । केही भने स्थानीय बिक्रेताबाट प्लाइबोर्ड, सिसौउ, अग्राखको काठ स्वदेशमै पाइन्छ । वर्षको तीन÷चार महिना वनमा काठ काट्न बन्द हुन्छ । त्यतिबेला हामीलाई केही असहज हुन्छ ।

० स्वदेशी उत्पादन बढाउन के गर्नुपर्ला ?

अहिले सुविधा लिएर भन्सार छुटबाट विदेशमा बनेको सामान आयात हुने गरेको छ । बाहिरबाट बनेर आउने सामान बन्द गर्नुपर्छ । छुट सुविधामा बनेका सामान ल्याउनेलाई बन्द गर्नुपर्छ । स्वदेशी उत्पादनका बारेमा जनचेतना जगाउनुपर्छ । स्वदेशमै उद्योग स्थापना भएमा स्वदेशमै रोजगारी सिर्जना हुने थियो ।

० कच्चा पदार्थको अवस्था कस्तो छ ?

फर्निचर तथा फर्निसिङ व्यवसाय फस्टाउँदै गएको भए पनि कच्चा पदार्थको अभाव रहेको छ । फर्निचर उद्योगको सम्भावना रहे पनि कच्चा पदार्थ अभावले विदेशबाट आयात गर्नुपरेको छ । सरकारले फर्निचर उद्योगलाई पर्याप्त काठको व्यवस्था गर्न सके स्वदेशमै गुणस्तरीय र आकर्षक डिजाइनका फर्निचर तयार गर्न सकिन्छ । अहिले चीनबाट सामान मगाउँदा ४५ देखि ६० दिन लाग्छ । भन्सार बिन्दुमा हुने कठिनाइ नियमित समस्या हो ।

सरकारले स्वदेशी उद्योगलाई विद्युतमा छुट दिने विषय सेलाएर गएको छ । बैंकको ब्याज बृद्धिको विषयले झनै समस्या पारेको छ । यस्तै अवस्था हो भने केही समयमा स्वदेशी ब्यापारी धरासायी हुने र विदेशमा बनेका सामान प्रोत्साहन भइ नेपली रूपियाँ विदेश जाने अवस्थाले झनै ठुलो रूप लिनेछ ।

० उद्योगमा जनशक्ति अभाव रहेको भन्ने सुनिन्छ, क्लासिक इन्डस्ट्रिजको अवस्था कस्तो छ ?

फर्निचर उद्योगमा कामदार अभाव रहेको छ । यहाँका युवा रोजगारीका लागि विदेश गएका छन् । फर्निचर तथा फर्निसिङ उद्योगमा आधाभन्दा बढी कामदार विदेशी छन् । फर्निचर उद्योगमा करिब ९० प्रतिशत कामदार भारतलगायत मुलुकका छन् । दक्ष जनशक्ति अभावले उद्योग सञ्चालनमा कठिनाइ भएको छ । उद्योगले रोजागरीको सुनिश्चितता गर्ने भएकाले सरकारले प्रशिक्षण केन्द्रमार्फत तालिम दिनुपर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ ।

० नेपालमा आकर्षण बढाउने इन्टेरियर डिजाइनको अवस्था कस्तोे छ ?

विस्तारै उपभोक्ताको आकर्षण आफ्नो घर, अफिस आकर्षक होस् भन्ने चाहनाको विकाससँगै इन्टेरियर डेकोरेसनमा ध्यान गएको छ । डेकोरेसन बस्ने ठाउँ सुन्दर हुँदा तनाव कम हुने चिकित्सकहरूले पनि बताउने गरेका छन् । सामग्री भएर मात्र हुँदै सजावटमा पनि ध्यान दिनुपर्छ । घरभित्र र बाहिर लगाउने रङको कम्बिनेसन मिलाउनुपर्छ । घर तथा अफिसको सजावटमा इन्टेरियर डिजाइनमा ध्यान दिनुपर्छ । घर र अफिसको डेकोरेसनले थकान र तनावलाई बिर्साउँछ । रातिको समयमा लाइटको कलरले पनि बेडरुमलाई शोभायममान बनाउँछ ।

इन्टरेरियर डिजाइनरले कुन सामान कहाँ, कसरी राख्ने भन्ने व्यवस्थापन गर्छ । स्पेस कम भएको ठाउँमा पनि फर्निचर सजावट, कार्पेट, मार्बल, सिलिङ, भित्ताको रंगलाई व्यवस्थित गरेर आकर्षक बनाउँछन् । पूराना घरलाई पनि इन्टेरियर डिजाइन गरेर स्वरूप बदल्न सकिन्छ । यस्ता डेकोरेसनले वास्तुशास्त्र मिलाउन सकिन्छ । घरको बाहिर र भित्रको रङ, पर्दा, बेड, सोफा, टेबुल, दराज व्यवस्थापनमा ध्यान दिइन्छ । त्यसको व्यवस्थापन इन्टरेरियर डिजाइजनरले मिलाउन सक्छन् ।

० क्लासिक इन्डस्ट्रिजको सुरुवात र अहिलेके अवस्थामा के फरक पाउनु भएको छ ?

सानो लगानीबाट वि.सं. २०४७ मा स्थापना भएको उद्योग अहिले विस्तार र बृहत् हुँदै गएको छ । सुरुमा सिरक र सिरानी उत्पादनबाट कम्पनीले व्यवसाय सुरु गरेको थियो । अहिले दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी भएको छ । सुरुको व्यापार प्रतिस्पर्धात्मक थिएन भने अहिले अनावश्यक प्रतिस्पर्धात्मक भइरहेको छ ।

० कम्पनीले के कस्ता सामान उत्पादन गर्छ ?

कम्पनीले काठमाडौंको गैरीधारामा आधुनिक शोरुम स्थापना गरेको छ । ५ हजार ८ सय स्क्वायर फिटमा तयार भएको शोरुममा कम्पनीका सबै उत्पादनहरू बिक्री तथा प्रदर्शनमा राखिएको छ । यस अगाडि बाँसबारीमा रहेको कर्पोरेट कार्यालय पनि गैरीधाराबाटै सञ्चालन हुनेछ । फर्निसिङसँग सम्बन्धित सबै उत्पादन भइरहेको छ ।

अहिले उद्योगमा स्प्रिङमा बोन्नेल स्प्रिङ र पकेट स्प्रिङ म्याट्रेस उत्पादन भइरहेको छ । बोन्नेल स्प्रिङ सुरुबाटै उत्पादन हुँदै आइरहेको हो । पकेट स्प्रिङ उत्पादन थालेको पाँच वर्ष भयो । कम्पनीले लामो समयदेखि क्वायरको म्याट्रेस उत्पादन गरिरहेको छ । कम्पनीले सिरक, सिरानी, बेडसिट, होटल रेन्जको प्रोडक्टहरू, बाथरुमको रगहरू, रुमको कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । फोमको युनिट सुरु भइसकेको छ ।

फोमको व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी छ । कम्पनी कम्प्लिट बेड सोलुसनको अवधारणाबाट अगाडि बढेको छ । होटल, रिसोर्ट, घरमा आवश्यक बेड, म्याट्रेस लगायतका सेवा उपलब्ध गराउन कम्पनी सफल छ । यसको म्याट्रेस उद्योग बाराको सिमरामा छ । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी सयौं जनाले रोजगारी पाइरहेका छन् । अहिले हामीले साना उद्योगहरूलाई कच्चा पदार्थ सप्लाई गर्ने गरेका छौँ ।

० कम्पनीले आफ्ना सामान कस्तो वर्गलाई केन्द्रित गरेर उत्पादन गरिएका छ ?

कम्पनीले सबै खालका ग्राहकलाई लक्षित गरी म्याट्रेस उत्पादन गरिरहेको छ । कम्पनीले २० भन्दा बढी रेन्जका म्याट्रेसहरू बजारमा उपलब्ध गराएको छ । ‘ग्राहकले आफ्नो आवश्यकता र क्षमता अनुसारको म्याट्रेस खरिद गरी प्रयोग गर्न सक्छन् । हाम्रा म्याट्रेसको मूल्य ५ हजार रूपियाँदेखि १ लाख २० हजार रूपियाँसम्म छ ।

० कम्पनीले निर्यात कहाँ गरिरहेको छ ?

कम्पनीले क्वायर म्याट्रेस भारत निर्यात गर्दै आइरहेको छ । चारवर्षदेखि भारतका विभिन्न ठाउँमा र ६ महिनादेखि चीनमा म्याट्रेस निर्यात गर्दै आइरहेको छ । म्याट्रेस निर्यात गरेर अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली प्रडक्टले प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरण कम्पनीले पेश गरेको छ । पहिलो चरणमा भारत र चीनमा निर्यात गरिएको र आगामी दिनमा अन्य देशमा पनि निर्यात गर्न अध्ययन भइरहेको छ । विशेष गरी मध्यपूर्वका देशहरूमा निर्यात गर्ने योजना रहेको छ ।

० स्वदेशमा कम्पनीको बिक्री क्षेत्र कहाँ–कहाँ हो ?

देशैभरी खुद्रा तथा थोक बितरकमार्फत् १ हजारभन्दा बढी स्टोरमा उपलब्ध रहेका छन् । घर, अपार्टमेन्ट, अफिस, रेस्टुरेन्ट, होटल, अस्पताल, विद्यालय सरकारी तथा गैर सरकारी संस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठान हाम्रो ब्यवसायको क्षेत्र हो । यसबाहेक कम्पनीले खुद्रा पसललाई पनि सामान दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्