शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा २८ जनाको प्रत्यारोपण



भक्तपुर।

स्थापनाको ११ वर्ष अवधिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११२७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ ।  गत भाद्र महिनामा मात्र २८ जनाको प्रत्यारोपण सम्पन्न भएको छ जसमध्ये २७ जनाको मिर्गौला र १ जनाको कलेजो प्रत्यारोपण सत प्रतिशत सफलताका साथ सम्पन्न भएको कुरा केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

केन्द्रले नेपालमै पहिलो पटक डा पकार चन्द्र श्रेष्ठको नेतृत्वमा २०७३ मङ्सिर २२ गते कलेजो प्रत्यारोपण र २०७४ वैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गरी हालसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १० जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण गरेको छ भने आपसी साटासाटबाट हाल सम्म ४६  जोडीको मिर्गौला प्रत्यारोपण समेत भइसकेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संस्थाको आफ्नै भवन नभएको अवस्थामा पनि सबै भन्दा धेरै कलेजो र मिर्गौला प्रत्यारोपण गर्नका साथै  अंगदान सम्बन्धी व्यापक प्रचार प्रसार गरेको तथा  देश भरी प्रत्यारोपण र डायलाइसिस सेवा विस्तार गर्न प्रयासरत रहेको छ ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र  साथै कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भई सकेको छ ।
वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र स्वास्थ्य सचिव द्वय डा. रोशन पोखरेल र देव कुमारी गुरागार्इँको सक्रियतामा प्रत्यारोपण केन्द्रले आफ्नो सेवा विस्तारमा थप गति लिँदै गएको छ ।

यो सफलता प्राप्त गर्नमा केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको अथक प्रयास रहेको  डा श्रेष्ठले  बताए।

प्रतिक्रिया दिनुहोस्