भद्रपुर । म्यादभित्र काम सम्पन्न गर्न नसकी थप म्याद पाएको ठेकेदार कम्पनीले बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणमा अझै ढिलासुस्ती गर्दै आएको छ ।
पटकपटक स्पष्टीकरण सोधिए पनि बिर्तामोड–भद्रपुर सडकखण्ड निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनी काठमाडौंको कन्टेक प्रालिले बेवास्ता गर्दै आएको हो ।
संझौताको म्याद सकिएर थप म्याद पाउँदासमेत ठेकेदार कम्पनीले मात्र ३० प्रतिशत काम पूरा गरेको छ । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–चन्द्रगढी खण्डको ८ दशमलब ४१ किलोमिटर सडक निर्माणको ठेक्का सो कम्पनीले लिएको छ ।
२०७७ माघ ६ गते ठेक्का संझौता गरेको निर्माण कम्पनीले साउन ५ सम्म काम सम्पन्न गर्नुपर्ने उल्लेख थियो । उक्त म्यादभित्र काम पूरा गर्न नसकेपछि आगामी फागुन ५ सम्म म्याद थप गरिएको छ । ३० महिनामा ३० प्रतिशत काम पूरा गर्न नसकेको ठेकेदार कम्पनीले थपिएको ७ महिनाको म्यादमा ७० प्रतिशत काम सक्ने देखिदैन । किनकि म्याद थपेर ठेकेदार कम्पनी चुप लागेर बसेको छ । अहिले सडक निर्माणको काम रोकिएको छ ।
ठेकेदार कम्पनीले शुरुदेखि नै काममा ढिलाई गरिरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताउँनुभयो । बर्खायामका कारण काम गर्न समस्या हुने भएकाले अहिले काम रोकिएको हुनसक्ने बताउँदै उहाँले असोज १५ देखि काम सुचारु गर्न लगाउने जानकारी दिनुभयो । ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण गत वर्ष बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । ‘ठेकेदारले देउनिया –चन्द्रगढी सडकखण्ड छोएकै छैन ’ डिभिजन प्रमुख पौडेलले भन्नुभयो ,‘ देउनिया–गरामनी सडकखण्डमा पनि सानो भागमा मात्र सवबेसको काम भएको छ , बेसको काम थालेकै छैन, कालोपत्रे कहिले गर्ने हो ?’ उहाँले देउनिया –चन्द्रगढी सडकखण्डमा वाल बनाउने, नाला बनाउने, माटो भर्ने काम शुरु नै नभएको जानकारी दिनुभयो । उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । अहिलेसम्म करिव १८ करोड रुपैयाँ भुक्तानी दिइसकेको डिभिजन प्रमुख पौडेलले बताउँनुभयो । गरेको कामको भुक्तानी नपाएका कारण काम रोकेको ठेकेदारले गलत प्रचार गर्दै आएका छन् । ‘गरेको काम अनुसारको भुक्तानी गरिसकेका छौं’ डिभिजन प्रमुख पौडेलले भन्नुभयो ।
केहीदिन यता गृहजिल्ला झापा आउँनुएका सभामुख देवराज घिमिरेले सो सडक निर्माणमा ढिलाई भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताउँनुभयो । सभामुख घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको अवस्था बुझेपछि तत्काल निर्माण कार्य अघि बढाउन निर्देशन दिएको बताउँनुभयो । सभामुख घिमिरेले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको दावी गर्नुभयो । बजेट हुँदाहुँदै पनि काम रोक्नु बेठिक हुने सभामुख घिमिरेको भनाई छ ।
सडक निर्माण कम्पनीको तर्फबाट खटिएका इन्जिनियर हरिशचन्द्र थापाले प्राविधिक कठिनाइका कारण काममा ढिलाइ भएको बताउँनुभयो । सडकमा आवश्यक पर्ने माटो नपाएकाले पनि काममा ढिलाइ हुन पुगेको उहाँको भनाइ छ
बिर्तामोड–भद्रपुर सडक जिल्लाका प्रशासनिक कार्यालयहरू तथा विमानस्थल समेत रहेको चन्द्रगढी जाने मुख्य सडक हो । दैनिक सयौंको सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने उक्त सडक भत्किएर खाल्डैखाल्डामा परिणत भएको छ ।
प्रतिक्रिया