नेपालको निराशाजनक प्रदर्शन जारी



हान्झाउ । चीनको हान्झाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा अन्तर्गत चौथो दिन मंगलबार नेपाली खेलाडीहरुको खराब प्रदर्शनले निरन्तरता पाइ नै रह्यो । पदक जित्ने आशा गरिएको तेक्वान्दोबाट आधाभन्दा बढी खेलाडीको प्रतिस्पर्धा सकिंसक्दा नेपालको कमजोर प्रदर्शन जारी नै रहेको छ । तेक्वान्दोबाट यसपटक नेपालका कुल ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ७ खेलाडी पराजित हुँदै प्रतिस्पर्धा बाहिरिसकेका छन्। अब तेक्वान्दोमा तीन पुरुष र एक महिला गरी चार खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।

मंगलबार मात्रै तीन खेलाडी पराजित भएका छन् । मंगलबार लिलान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित भए । उनले अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका थिए ।

अन्तिम १६ को खेलमा पनि उनले थाइल्याण्डका बानलुङ टुबतिम्दाङविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै कडा टक्कर दिएका थिए । तर थोरैले मात्र पछि परे । पहिलो राउण्डमा १४–१२ ले पछि परेका गोविन्द दोस्रो राउण्डमा ८–७ ले पछि पर्दा २–० ले पराजित हुँदै बाहिरिएका हुन् ।

त्यसैगरी महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन् । महिला ५७ केजीमुनि अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २–० ले पराजित भइन् । त्यस्तै, पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक–एक खेल जिते पनि अर्को खेलमा अगाडि बढ्न भने सकेनन् ।

मंगलबारै दुई जना नेपाली खेलाडी पराजित भएपछि चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको जुडोमा नेपालको चुनौती सकिएको छ । जियोसन लिन्पु जिम्न्याजियममामा भएको पुरुष १ सय केजीमाथि रन्जेश गोले काजकिस्तानका क्रिकबे गालिमजानसँग इप्पोनका आधारमा १०–० ले पराजित भए । उनी १ मिनेट ७ सेकेन्ड मात्र टिकेका थिए ।

त्यस्तै, उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा १०–० ले स्तब्ध बन्दा महिला ७८ केजीमाथिमा आकृति जोशीको यात्रा अगाडि बढ्न सकेनन् । आकृति २७ सेकेन्डमै पराजित भएकी थिइन् ।

त्यसैगरी पौडीमा पनि नेपाली पौडिवाज अनुशिया तण्डुकार हिट चरणबाटै बाहिरिइन्। उनी १ सय मिटर फ्रिस्टाइलतर्फ हिट चरणबाटै बाहिरिएकी हुन् । हाङझाउ स्पोर्टस सेन्टरको पौडी पोखरीमा भएको हिट–१ मा प्रतिस्पर्धा गरेकी अनुशिया तेस्रो स्थानमा रहिन् । ६ खेलाडी सहभागी यो हिटमा उनले १ मिनेट ३.१७ सेकेन्डको समय निकालिन् । यो हिटमा ५९.२७ सकेन्डका साथ प्यालेस्टाइनकी भिलेरी ताराजी शीर्ष स्थानमा रहिन् ।

यसअघि सोमबार डुवाना लामा र एलेक्सजान्डर शाह पनि हिट चरणबाटै बाहिरिएका थिए । महिला २ सय मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्डको समय निकाल्दै आठौं स्थानमा रहिन् । यो हिटमा आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी पुरुष ५० मिटर फ्रि–स्टाइलमा आठौं स्थानमा रहेपछि एलेक्सजान्डर शाहको यात्रा पनि हिट चरणबाट अगाडि बढ्न सकेन । उनले २४.१५ सेकेन्डको समय निकाले ।

त्यसैगरी रग्बीमा पनि नेपालको प्रदर्शन बिर्सनलायक बन्यो । १९ औं एसियाड अन्तर्गत रग्बी सेभेन्समा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच भएको ९–१३ स्थान निर्धारण गर्न भएको प्रतिस्पर्धा समेत सबै खेलमा हार बेहोर्यो ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन मंगलबारसम्म नेपालले ६ खेलमा प्रतिस्पर्धा गर्यो । यसक्रममा नेपाली टोलीले जम्मा १ ट्राइ र १ कन्भर्जनसहित ७ अंक मात्र जोड्न सक्यो । समग्रमा ६ खेलमा विपक्षीले नेपालविरुद्ध ५२ ट्राइका साथ ३ सय २० अंक जोडे । नेपालको प्रतियोगिता अवधिभर कुल अंक फरक – ३१३ रह्यो । नेपाल १३ टोली सहभागी प्रतियोगिताको पुछारमा रह्यो ।

नेपालले समूह चरणको सुरुवात संयुक्त अरब एमिरेट्स (यूएई) विरुद्ध खेलबाट गरेको थियो । उक्त खेल ५५–७ ले पराजित भएको थियो। समूहको दोस्रो खेलमा चीनविरुद्ध ६५–० को हार बेहोरेको नेपाल अफगानिस्तानसँग ४१–० को हारसहित बाहिरियो । समूहको शीर्ष २ मा पर्न नसकेका अफगानिस्तान र नेपाल अन्य समूहको पुछारमा रहेका टोलीसँग ९–१३ स्थान निर्धारण गर्न अर्को लिग चरणमा खेल्नुपर्ने भयो ।

अन्य समूहको पुछारमा रहेका टोलीविरुद्ध पनि नेपालले लज्जास्पद हार बेहोर्यो । फिलिपिन्ससँग ५५–० र थाइल्याण्डसँग ३६–० ले हारेको नेपाल स्वतन्त्र खेलाडीको टोलीसँग ६८–० को हार बेहोर्न पुग्यो । विश्व रग्बीले श्रीलंकालाई निलम्बन गरेका कारण श्रीलंकाली खेलाडीले रग्बीमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को झन्डामुनि स्वतन्त्र खेलाडी टोलीको रुपमा खेलेका थिए ।

त्यसैगरी उसुमा नेपालका दुई प्रमुख खेलाडी दीपक हमाल र निमा घर्ती मगर मंगलबार पराजित भएका छन् । दुवै १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

झिओसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३ औं स्थानमा रहे । उनले नान्छवानमा ९.६३३ तथा नान्गुनमा ९.५४६ गरी जम्मा १९.१७९ अंक जोडे । २० खेलाडी सहभागी थिए । इन्डोनेसियाका हरिस होराटियुसले स्वर्ण, दक्षिण कोरियाकी योङमुन लिले रजत र मकाउका जुन्हुवा हुवाङले कांस्य जिते ।

महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १० औं स्थानमा रहिन् । निमाले नान्छ्वानमा ९.१४० तथा नान्दाओमा ९.१४० सहित १८.७०३ अंक बटुलिन् ।

हाङझाव एसियाडअन्तर्गत लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी मंगलबार पराजित भएका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोश्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

त्यसैगरी स्क्वासमा स्क्वासमा नेपाल पुरुष र महिला दुवै टोली मंगलबार टिम स्पर्धामा पराजित भयो । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सुरु भएको स्पर्धामा पुरुष र महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भयो । पुरुषतर्फ समूह ए मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३–० ले पराजित भयो । टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्रामेजीसँग ११–२, ११–३, ११–५ ले अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ र अरहान्त केशर सिंह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित भए ।

अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११–२, ११–५, ११–२ ले अमृत असिम मुहमम्दसँग ११–३, ११–२, ११–५ ले र अरहान्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित भए ।

यस्तै महिलातर्फ समूह बी मा रहेको नेपाल मलेसिया र मकाउ चाइनासँग ३–० कै नतिजामा पराजित भयो ।

महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६ ले विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११–२, ११–५, ११–६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित भए ।

मकाउ विरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११–६, ११–९, ११–४ ले विपना वेएङ चि युएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित भए ।

पुरुष बक्सिङमा पनि नेपालका बुद्ध ग्याम्जो लामा र आशिष दुवाडी पराजित भएका छन् । पुरुष ५७ केजीको अन्तिम ३२ को खेलमा बुद्ध भियतनामा भान डुयोङ एनगुएनसँग अंकका आधार पराजित भएका हुन्। त्यसैगरी दुवाडी पनि ९२ केजीभन्दा माथिको तौल समूहको खेलमा मंगोलियन बक्सर बी खालीसँग ३–१ ले पराजित भए।

प्रतिक्रिया दिनुहोस्