इन्द्रध्वजासहितको लिंगो ठड्याइयो

0
Shares

काठमाडौैं । यस वर्षको इन्द्रजात्रा मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्ति अगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो अर्थात यसिद्यः ठड्याइएको छ ।

३२ हातको लिंगोमा इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चैबाजा बजाएर मंगलबार बिहान १०ः ३७ बजे ठड्याइएको हो । भाद्र शुक्लपक्ष ञलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई ञलागाःचौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।

नेपालभाषामा ‘योसी’ भनिने उक्त लिंगोमा विभिन्न प्रकारका मंगल सूचक चिह्नहरू अंकित पताकाहरू झुन्ड्याइएको थियो । लिंगोको फेदीमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजा अर्चना गरिएको थियो । लिंगो ठड्याएपछि सैनिकहरूले बन्दुक पड्काएर बढाइँ गरेका थिए । त्यसपछि गुरुजुको पल्टन, पञ्चैबाजा, बैन्डबाजा, मानन्धरहरूका क्वँचाः खीं बाजामा मालश्रीको धुन बजाउँदै यसद्यःपरिक्रमा गरेका थिए ।

समारोहस्थलमा किलाघःटोलका ज्यापू समुदायले परम्परागत देवीनाच प्रस्तुत गरेको थियो । साथै, राजप्रतिनिधिका रूपमा राजखड्ग ल्याइएको थियो । लिंगो ठड्याएको हेर्न निकै संख्यामा विदेशी पर्यटकसमेत भेला भएका थिए । राजधानीदेखि पूर्वमा पर्ने नाला भन्ज्याङको सल्लेरी वनबाट तानेर ल्याइएको उक्त लिंगोलाई बाजागाजासाथ तानेर त्यहाँ पु¥याइएको थियो । इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा राजा सिंहप्रताप शाहले चलाउनुभएको थियो।

लिंगो ठड्याएको ठाउँसँगै रहेको इन्द्रपुरको मन्दिरको माथिल्लो तलामा सुनको इन्द्रेश्वर महादेवको मूर्ति र हनुमानढोका दरबारसँगै सुनको मोलम्मा लगाइएको श्वेत भैरव ‘सरभ मुख’ को विशाल प्रतिमा पनि प्रदर्शनका लागि राखिएका थियो ।

साथै काष्ठमण्डप ‘मरुसत्तल’ अगाडि अग्लो डबली बनाई त्यसमाथि खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर प्रदर्शनका लागि राखिएको थियो। इन्द्रजात्रा मनाउन कुमारीघर, मरुसत्तल, सिंल्यँ सत्तल, हनुमानढोका दरबारलगायत मन्दिरमा रङरोगन लगाई नयाँ झल्लर राखी सिंगारिएको छ । इन्द्रचोकमा रहेको आकाश भैरवको मूर्तिलाई राति बाहिर खट बनाएर विभिन्न प्रकारका रंगीचंगी फूलले सिंगारेर राखिएको छ ।

हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याएपछि इन्द्र जात्रा विधिवत शुरू हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें याः भनिन्छ । यें भनेको कान्तिपुर नगर र याःभनेको मुख्य जात्रा हो। इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाःसमुदायले मनाउने जात्रा हो । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।