कामपा र अभियन्ता ईः बीचको वार्ता असफल



काठमाडौं । साना व्यवसायीहरूको व्यवस्थापनको माग गर्दै नौ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरपालिकाका प्रतिनिधिबीच मंगलबार शुरू भएको वार्ता असफल भएकोे छ ।

मेयर बालेन्द्र साहका सचिवालय सदस्य कुमार बेञ्जनकार र काठमाडौं महानगरपालिका वार्ता समितिका सदस्यलाई अघि सारेर शुरू गरेको वार्ता अन्तिममा निष्कर्षविहीन भएको हो ।

यसअघि महानगर प्रहरी लगाएर भेट्न बोलाउँदा इन्कार गरेका अभियन्ता ईःलाई कामपाले वार्ता गर्न औपचारिक जानकारी गराएको थियो । उपमेयर सुनिता डंगोलले मंगलबार बिहान ईः सँग भेटेर वार्ता गर्न आफूले सहजीकरण गर्ने बचन दिनुभएको थियो । कामपाका प्रवक्ता नवीन मानन्धरको संयोजकत्वमा गठन भएको वार्ता टोलीमा २२ वडाका अध्यक्ष चीनकाजी महर्जन, कानुन, न्याय तथा मानव अधिकार विभाग विभाग प्रमुख वसन्त आचार्य, ब्यञ्जनकार र धिरज जोशी रहनुभएको छ भने ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी हुनुभएको थियो । कामपा स्रोतका अनुसार मेयर साह वार्तामा नआएको कारण अभियन्ता ईः ले पनि वार्ता सहभागी नहुनुभएको हो ।

यसअघि सोमबार नेपाली कांगे्रसका महामन्त्री गगन थापाले समस्या समाधान गर्न आग्रहसहित मेयर साहसँग भेट गर्न खोज्दा मेयर साहले भेट दिनु भएन । अभियन्ता ईःलाई भेट्न सोमबार महानगर प्रहरी खटाएका मेयर साहले ईःसँग भेट गर्न नपाएकोमा नेताहरूप्रति आक्रोस पोख्नुभएको थियो ।

नौ दिनदेखि राष्ट्रिय सभागृहको मूलगेटमा उभिएर सडकका व्यापारीलाई विकल्प दिनुपर्ने माग राख्दै विरोध जनाएका ईःप्रति मेयरको व्यवहारप्रति सर्वत्र विरोध भएको छ ।

पूर्व प्रधनमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘दुवै युवा हुनुहन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् । समाधानको उपाय के हुनसक्छ तपाईंहरूले विचार राख्नुहोस् ।’

आधुनिक युगमा शहरी गरिबहरूको मुद्दा सबै सचेत नागरिक र अग्रगामी राजनीतिक दल÷नेतृत्वको साझा मुद्दा हो र हुनुपर्छ भन्दै पूर्व प्रम बाबुराम भट्टराईले ट्विटरमा लेख्नुभएको छ– ‘नयाँ पुस्ताका सत्याग्रही युवा ईः र मेयर बालेन्द्र साहले छिटो संवादद्वारा समाधान निकाल्न सके, मजस्ता पुराना पुस्तामा जन्मेर पनि नयाँ पुस्ताको सोच र शैली पछ्याउन खोज्नेहरूलाई समेत ठुलो राहत हुन्थ्यो ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ईःको मागप्रति समर्थन जनाउँदै तत्काल समस्या समाधान गर्न मेयरलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्