डेंगु बढ्दा सर्वत्र त्रास- सरकारको भूमिका निराशाजनक

0
Shares

–तनहुँमा ३ र पाल्पामा एकको मृत्यु
–२९ हजार ४ सय ६८ जना संक्रमित

काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला केही दिन यता डेंगुका कारण तनहुँमा ३ जना र पाल्पामा एक जनाको मृत्युु भएको छ । यसको प्रकोप देशव्यापी रूपमा फैलिरहेको चिकित्सकहरूले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही २४ सेप्टेम्बरमा जारी गरेको बुलेटिनअनुसार नेपालमा डेंगुका कारण १५ जनाको मृत्यु भएको छ भने २९ हजार ४ सय ६८ जना डेंगुबाट संक्रमित भएका छन् । नेपालको ७६ जिल्लामा डेंगु फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मनसुन सकिँदै गएसँगै काठमाडौंको टेकु, स्वयम्भू, सीतापाइला, बालाजु, चाबहिल, कलंकीलगायतका क्षेत्रमा डेंगु बढ्दो छ । सरकारले भने डेँगु नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको छैन । काठमाडौं महानगरपालिकाले पनि प्रचार गरेअनुसार डेंगु नियन्त्रणका लागि खासै काम गर्न नसकेको विज्ञहरूको ठम्याइ छ । यसै गरी देशभरमा विभिन्न स्थानीय तहहरू पनि आफ्नो क्षेत्रमा बढेको डेंगु नियन्त्रण गर्न असफल देखिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन भन्नुहुन्छ– ‘डेंगुको संक्रमण असार साउनमा धरानमा देखिएजस्तो अवस्था अहिले छैन तर जोखिम भने कम भएको छैन र डेंगुको संक्रमण काठमाडौंमा देखिरहेको छ ।’

उहाँका अनुसार काठमाडौंका टेकु, त्रिपुरेश्वर, स्वयम्भू, बालाजुमा छिटपुट प्रभाव परे पनि तुलनात्मक रूपमा पहिला जस्तो छैन । मनसुनसँग डेंगुको संक्रमण देशव्यापी रूपमा फैलिरहेको छ ।

काठमाडौंबाहेक, चितवन, वुटवलमा मनसुन सकिनासाथै देखिएको छ । स्थानीय लामखुट्टे वृद्धिविकास भएका ठाउँमा डेंगु संक्रमितको संख्या देखिएका छन् । डेंगु बेमौसमी पानी पर्दा पनि फैलन सक्छ । यही अवस्था रही रहेमा तिहारपछिबाट विस्तारै आफैं हटेर जाने तर निर्मूल भने नहुने पुनले बताउनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रत्येक हप्ता निकाल्ने गरेको बुलेटिनमा सरकारले यति मरे, यति बिरामी भए भन्नेबाहेक प्रभावकारी अभियान सञ्चालन गर्न सकेको छैन । धरानमा केही दिन सक्रियता देखिए पनि तुरुन्तै सेलाएको डा. पुनको ठम्याइ छ । यति बेला सरकार जनस्वास्थ्यमा भन्दा राजनीतिमा केन्द्रित रहेको भन्दै चिकित्सकले गुनासो गरेका छन् । डेंगु विशेषगरी ठूलो मात्रामा मनसुनको समयमा देखिन्छ । मनसुन सकिएलगत्तै हरेक वर्ष केही कोर एरिया तथा लामखुट्टेको बास धेरै हुने ग्यारेज, गाडि पार्किङ, फोहर मैला, खोलानालाको आसपासका अस्थायी बस्ती, टायरको बढी प्रयोग हुने क्षेत्रमा बढी जोखिम देखिने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्नुहुन्छ– ‘३ महिनाको दाँजोमा डेंगुको प्रकोप घट्दो क्रममा छ तर जोखिम भने कम भएको छैन । त्यसैले आगामी शुक्रबार सातै प्रदेशका प्रतिनिधिहरूसँग बसेर हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी लिँदै छांै ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु, लामखुट्टेबाट सर्ने रोग नेपालमा डेंगु ज्वरो, डेंगु हेमोरेजिक फिभर र डेंगु सक सिन्ड्रोमका रूपमा देखा परेको छ । प्रारम्भिक केसहरू सन् २००५ को शुरूमा पत्ता लागेको थियो । छिटपुट घटनाहरू जारी रह्यो र सन् २००६ र सन् २०१० मा प्रकोप देखा प¥यो ।

शुरूमा रिपोर्ट गरिएका धेरैजसो घटनाहरू छिमेकी देश (भारत) को यात्रा गर्नेमा देखिएको थियो तर पछिल्लो समय नेपालमै यसको वृद्धिविकास हुँदै गएको रिपोर्ट गरिएको थियो । इडीसीडीद्वारा सन् २००६ मा गरिएको अध्ययनले नेपालका तराईका जिल्ला चितवन, झापालगायतका जिल्लामा डेंगुको जोखिम रहेको उल्लेख गरिएको छ ।