सरुले १९औं एसियाडका बाँकी खेल गुमाउने

टेबल टेनिस टोली बाहिरियो



हाङचाओ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् ।

जारी एसियाडको महिला फुटबल अन्तर्गत शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा बायाँ खुट्टा ट्विस्ट भएपछि सरुले मैदान छाड्नु परेको थियो । सरुको बाँया खुट्टाको एसिएल र मिनिस्कस गएको टोलीमा रहेकी राष्ट्रिय खेलकुद परिषद् (राखेप) की फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङले बताएकी छिन् ।

चोटका कारण सरुले झण्डै ९ महिना मैदान बाहिर रहनुपर्ने अनुमान गरिएको छ । चीनमा नै सरुको शल्यक्रिया गरिने बताएको छ । उनी टोलीसँगै फर्कने गुरुङले बताइन् । भिएतनामविरुद्धको खेल नेपालले २–० ले गुमाएको थियो । नेपालले सोमबार जापानसँग खेल्नेछ ।

टेबल टेनिस टोली बाहिरियो

नेपालको महिला र पुरुष टेबल टेनिस टोली १९ औं एसियाली खेलकुदको टिम इभेन्टमा समूह चरणबाट नै बाहिरिएका छन् ।

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको दोस्रो खेलमा महिला टोली समूह एफमा दक्षिण एसियाको भारतसँग पराजित हुँदा प्रतियोगिताबाट बाहिरिएको हो। त्यस्तै, पुरुष टोली पनि उत्तर कोरियासँग हार बेहोरेपछि एसियाडको औपचारिक उदघाटन समारोह हुनु अगावै प्रतियोगिताबाट बाहिरिएको हो। दुवै खेलमा नेपाल ३–० ले पराजित भएको हो ।

महिलातर्फ पहिलो खेलमा सिक्क सुवाल दिया पराग चितालेसँग ११–१, ११–६, ११–८ ले पराजित भएकी थिइन् । त्यसपछि नविता श्रेष्ठले यहिका मुखर्जीसँग ११–३, ११–७, ११–२ को हार बेहोरिन् । तेस्रो खेलमा इभान थापा मगर सुतिर्था मुखर्जीसँग ११–१, ११–५, ११–२ ले हारेपछि नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

महिला टोली यसअघि शुक्रबार सिंगापुरसँग पनि ३–० ले नै पराजित भएको थियो । यस समूहमा भारतले दुवै खेल जित्दै समूह विजेता बनेको छ । शुक्रबार भारतले सिंगापुरलाई ३–२ ले हराएको थियो ।

यता, पुरुषतर्फ पनि नेपाल समूह बीको पुछारमा रहेर बाहिरियो । शुक्रबार जापानसँग हारेको नेपालले उत्तर कोरियाविरुद्ध पनि कुनै खेल जित्न सकेन । पहिलो खेलमा हाम युसोङले संयोग कपालीलाई ११–७, ११–४, ११–५ ले हराए । दोस्रो खेलमा रुविन महर्जन जिसोङ आङसँग ११–२, ११–६, ११–२ ले पराजित भए । विलोश श्रेष्ठले जोङसिक रीसँग ११–८, ११–२, ११–३ को हार बेहोरेपछि नेपालको चुनौती समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्