क्यान्सर रोगको उपचारका लागि ५० हजार रुपैयाँसहित अस्पताल तोकियो 

हृदय रोगको उपचार र रगत निःशुल्क 



काठमाडौँ

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हृदय रोगको उपचार र रगत निःशुल्क तथा क्यान्सर रोगको उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ ।

काठमाण्डौंको वीर अस्पतालमा नागरिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिक तथा सम्झौता हस्तान्तरण कार्यक्रम आयोजना गरी सम्झौता गरिएको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार निःशुल्क रगत उपलब्ध हुने बागमती प्रदेश अन्तर्गतका १३ वटा अस्पताल र अन्य अस्पताल रहेका छन् । अन्य अस्पतालहरुमा पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल काभ्रे, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पताल समेत रहेका छन् ।

सम्झौता अनुसार २४ वटा अस्पतालमा क्यान्सर उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । ती अस्पतालमा प्रदेश अन्तर्गतका १३ वटा अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरमा क्यान्सरको उपचार गराउँदा प्रदेश सरकारले .५० हजार उपलब्ध गराउने छ ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पतालमा पनि ५० हजार बराबरको क्यान्सर रोगको उपचार निःशुल्क पाइने छ ।

हृदयरोग लागेका नागरिकको निःशुल्क औषधि उपचारका लागि प्रदेश अन्तर्गतका १३ वटै अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसँग सम्झौता गरिएको छ । यी अस्पतालमा हृदयरोगको औषधि उपचार निःशुल्क हुने व्यवस्था गरिएको मन्त्री जोशीले बताए ।

सो अवसरमा बोल्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश सरकारले स्वास्थ्य सुरक्षामा यति ठूलो कार्यक्रम ल्याएको भन्दै प्रशंसा समेत गरे । उनले “प्रदेश सरकारले यति ठूलो स्वास्थ्य सुरक्षा कार्यक्रम ल्याएको छ, म प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्दछु ।” मन्त्री बस्नेतले अस्पतालहरुले जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन समेत दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु रामकुमार पहाडी, कृष्णबहादुर तामाङ, रविकुमार श्रेष्ठ, समिता श्रेष्ठ, सोना परियार, प्रदेश स्वास्थ्य सचिव बद्रि बहादुर खड्का, जिल्ला समन्वय समितिका सभापतिहरू, वीर अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडेल, शिक्षण अस्पतालका कार्यकारी निर्देशक, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक तथा सम्झौता गरिएका अस्पतालहरुका निर्देशक सहित जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्