मौद्रिक नीति पुँजीबजार-मैत्री हुुनुपर्ने हो



पछिल्लो समयमा शेयरबजार उकालो लाग्न नसकिरहेको कारणले शेयरबजारका लगानीकर्ताहरुको मनोबल खस्किएको जस्तो देखिन्छ, एकसिमको त्रास पनि देखिएको छ । लगानीकर्ताहरुको शेयरबजारप्रति विश्वास गर्न नसकिरहेको अवस्था छ । नेप्से बढ्न नसकिरहेकोले नेप्सेमा गिरावट आउने गरेको कारणले लगानीकर्ताहरुमा निरास हुनु स्वाभाविक नै हो ।

त्यसो त कतिपयको भनाइमा पछिल्लो समयमा धमाधम आईपीओ र हकप्द शेयर जारी भइरहेको कारणले पनि शेयरबजारको दोस्रो बजारमा असर गर्ने गरेको बताइन्छ । पछिल्लो समयमा दिनहुँजसो आईपीओ र हकप्रद शेयर जारी हुने गरिरहेको छ । हकप्रद शेयर भर्नका लागि रकमको जोहो गर्न परिरहेको कारणले घटेको बजारमा पनि शेयरहरु बेच्न परिरहेको कतिपयको भनाइ रहेको छ । कतिपयको भनाइमा घटिरहेको बजारको अवस्थामा पनि कमिसनको चक्करमा धमाधम आईपीओ र हकप्रद शेयर जारी गर्ने स्वीकृति दिने गरेको बताउँछन् सरोकारवालाहरु । त्यसो त केही लगानीकर्ताहरुले यसको विरोधमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।

त्यसो त कतिपय शेयरबजारका विज्ञ विश्लेकहरुको र स्वयं लगानीकर्ताहरुको भनाइमा शेयरबजारका नियामक निकायहरुले जारी गर्ने निर्देशन, नीति, नियम शेयरबजार मैत्री हुनुपर्दछ भनेर भन्ने गरिरहँदा पनि शेयरबजार मैत्री हुन सकिरहेको छैन । यसले गर्दा लगानीकर्ताहरुको मनोबलमा ह्र्रास आउने गरेको छ । यस वर्ष नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति शेयरबजार मैत्री नभएको कारणले शेयरबजारले अहिलेको अवस्थामा पनि गति लिन नसकिरहेको छ । अहिले पनि नेप्से १८ सय अंक र २२ सय अंकमा घुमिरहेको छ भन्दा पनि फरक नपर्ला । विगतमा ३२ सय अंक पार गरिसकेको नेप्से पछिल्लो समयमा २२ अंक पनि पार गर्न सकिरहेको छैन । यसले पनि कतिपयको भनाइमा कतै शेयरबजारमा संकट त देखिएको छैन भन्ने गरिरहेका छन् । शेयरबजारमा उतारचढाव त भइरहन्छ तर १ हजार अंकको ग्याप हुनुलाई भने लगानीकर्ताहरुले पचाउन सकिरहेका छैनन् । त्यसै गरी यस वर्षको मौद्रिक नीतिको पर्खाइमा बसिरहेका लगानीकर्ताहरुलाई मौद्रिक नीतिले निराश बनाइदिएको छ । यसपालिको मौद्रिक नीतिले शेयरबजारको बारेमा सम्बोधन नै गरेन भन्दा पनि फरक नपर्ला । मौद्रिक नीति जारी भएदेखि नै नेप्सेमा गिरावट आउने गरेको छ भन्दा पनि फरक नपर्ला । यसबारेमा नेपाल राष्ट्र बैंकप्रति लगानीकर्ताहरुले असन्तुष्टि जनाइरहेका छन् । खासगरी लगानीकर्ताहरुको असन्तुष्टि भनेको गभर्नर साहेबप्रति नै हो भन्दा पनि फरक नपर्ला ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ०८०/८१ को मौद्रिक नीति पनि शेयरबजारको लागि हात्ती आयो हात्ती फुस्सा भयो । मौद्रिक नीतिले शेयरबजारको लागि समबोधन नै गरेन भन्दा पनि फरक परेन । मौद्रिक नीति शेयरबजार मैत्री आउला भनेर बसेका लगानीकर्ताहरु निराश भए । खासगरी शेयरबजारमा लगानीकर्ताहरुको माग भनेको १२ करोडको क्याप हटाउने र जोखिमको औसत भार १५० प्रतिशतबाट १ सयमा झार्ने मात्र हो तर दुवै माग सम्बोधन भएन भने साना लगानीकर्ताहरुलाई भनेर २५ लाख बाट ५० लाख सम्मको कर्जामा जोखिम भार १ सय प्रतिशत गरेका छन् । यसबाट लगानीककर्ताहरु भने सन्तुष्टि देखिएनन् भने शेयरबजारमा गिरावटजस्तो पनि देखियो ।

त्यसो त मौद्रिक नीतिमा शेयरबजारको लागि त्यस्ता केही नकारात्मक कुरा पनि आएको छैन भन्दा पनि फरक नपर्ला । शेयरबजारमा मौद्रिक नीति सार्वजनिक भएदेखि शेयरबजारमा गिरावट आएको थियो भन्दा पनि फरक नपर्ला । त्यसो त शेयरबजारमा ठूलाबडा लगानीकर्ताहरु शेयरबजारका स्वघोषित शेयरलगानीकर्ताहरुको नेता भन्नेहरुले यसमा भ्रम सिर्जना गरेको जस्तो पनि देखियो । अघिल्लो वर्ष ०७९।८० को मौद्रिक नीति पनि शेयरबजार मैत्री नभएको कारणले शेयरबजारले गति लिन नसकेको हो भने यसपालिको मौद्रिक नीति पनि अघिल्लो वर्षकै निरन्तरता हो भन्दा पनि फरक नपर्ला । कतिपय गभर्नर महाप्रसाद अधिकारी शेयरबजारको खलनायक नै हो भनेर पनि भन्ने गरेका छन् । यसै गरी अघिल्लो वर्षको मौद्रिक नीति पनि शेयरबजार मैत्री नभएकोले शेयरबजारले गति लिन नसकेको हुँदा शेयरबजार निराशाजनक नै रहेको देखिन्छ ।

त्यसो त बजारमा देखिएको आर्थिक मन्दी, बैंकमा तरलताको समस्या, ब्याजदरमा वृद्धि आदि कारणले शेयरबजार बढ्न नसकेको भनाइ पनि सरोकारवालाहरुको रहेको छ । तर पनि शेयरबजारका नियामक निकाय भने शेयरबजार मैत्री नभएको कारणले समेत शेयरबजार उकालो लाग्न नसकेको जानकारहरु बताउँछन् । खासगरी नेपाल राष्ट्र बैंकको नीति, नियम, निर्देशन र मौद्रिक नीति खुकुलो र शेयरबजार मैत्री मौद्रिक नीतिमा लगानीकर्ताहरुको माग सम्बोधन नगरेकोले पनि शेयरबजारले गति लिन नसकेको, उकालो लाग्न नसकेको लगानीकर्ताहरुको भनाइ रहेको छ । खासगरी मौद्रिक नीति शेयरबजार मैत्री हुनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । लगानीकर्ताहरुको लगानी सुनिश्चित हुने मौद्रिक नीति भएपछि मात्र लगानी पनि बढ्ने सरोकारवालाहरु बताउँछन् ।

शेयरबजार उत्साहजनक नभएको बेलामा पनि लगानीकर्ताहरुको आकर्षण भने शेयरबजारमा रहेको देखिन्छ । डिम्याट खातामा आबद्ध हुनेहरुको संख्या नै ५८ लाखभन्दा बढी भइसकेको सरोकारवालाहरु बताउँछन् । त्यसो त धेरैजसो लगानीकर्ताहरु प्राथमिक बजारमा नै सीमित रहेको देखिन्छ । यस वर्षमा पनि थप्रै कम्पनीहरुको प्राथमिक शेयर निष्कासन भएको कारणले पनि लगानीकर्ताहरु बढेको हो भन्दा फरक नपर्ला । त्यसो त नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लगानीकर्ताहरुको मागलाई सम्बोधन गर्ने बताइए तापनि मौद्रिक नीति सार्वजनिक गर्दा लगानीकर्ताहरुको मागलाई सम्बोधन नै गरिएन । हुन त शेयरबजार घट्ने, बढ्ने कारणमा विभिन्न कारण रहेका छन् । राजनीतिक खिचातानी, सरकार परिवर्तन, नेताहरुको अभिव्यक्ति, शेयरबजारमा चल्ने गरेको हल्ला, बैंकको ब्याजदरमा परिवर्तन आदिले पनि शेयरबजारमा प्रभाव पार्ने गरेको छ । त्यसो त कतिपय नेता, सांसदहरुले शेयरबजारलाई अनुत्पादक क्षेत्र पनि भन्ने गरेका छन् । पुँजीबजारले देशको लागि पँुजी निर्माण गर्ने गर्दछ भन्नेसम्म थाहा नभएकाहरुको पनि कमी छैन यो देशमा । यसको लागि शेयरबजारका लगानीकर्ताहरु नै सचेत, सजग र जानकार हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्