सौर्य ऊर्जाप्रति सरकारी बेवास्ता- कृषियोग्य जमिनमा राख्न नदिने कानुनले थप अड्चन

नेपालमा सोलारको अवस्था

0
Shares

काठमाडौं । सरकारले आवश्यक कानुन र व्यवस्थापनमा ध्यान नदिँदा बैकल्पिक ऊर्जाको मुख्य स्रोत मानिएको सौर्य ऊर्जा उत्पादनमा अड्चन आएको छ । कम लागतमा चाँडै निर्माण गर्न सकिने सौर्य ऊर्जाको निर्माण कृषियोग्य जमिनमा राख्न नदिने गरी कानुन ल्याउन लागिँदै छ । सो कानुनले पनि थप अड्चन पार्न सक्ने विज्ञहरूले बताएका छन् ।

संसद्मा प्रवेश गरेको विद्युत् विधेयकको दफा ५३ को २ मा कृषियोग्य जमिनमा सौर्य ऊर्जाका पाता राख्न नपाउने गरी कानुन पास गर्न खोजिएको छ । अहिले हिउँदमा भारतबाट १५ अर्ब रुपियाँ बराबरको विद्युत् आयात हुने गरेको छ ।

यसलाई पूर्ति गर्न पनि तालतलैयामा सौर्य पाता राखी विद्युत् उत्पादन गर्न सकिने विज्ञहरूले जनाएका छन् । यस्तै, सौर्य ऊर्जा आफैँमा निःशुल्क उपलब्ध हुने भएकाले रोजगारी प्रदान गर्न सकिने, सौर्य विद्युत् उत्पादन गर्नका लागि राखिएको पाताको तल्लो भागमा बाख्रा पालन, बेसार खेतीलागयत कृषि उत्पादन गर्न सकिने हुँदाहुँदै सरकारले कृषियोग्य जमिनमा सौर्य ऊर्जा निकाल्ने पाता राख्न नदिने गरी कानुन निर्माण गर्दा सौर्य ऊर्जा उत्पादनमा थप समस्या पर्न सक्ने देखिएको छ ।

गत वर्षभन्दा अघिल्लो वर्षदेखि विद्युत् प्राधिकरणले सौर्य ऊर्जाबाट उत्पादित विद्युत् ७ दशमलव ३० रुपियाँले किन्ने गरेको थियो । तर, अहिले ५ दशमलव ९४ रुपियाँ उच्च दर कायम गरी बोलकबोल गर्नुपर्ने अवस्था आएको छ । यसले गर्दा लगानी सुनिश्चित नभएको व्यवसायीहरूले बताउने गरेका छन् । यसरी नै नवीकरणीय ऊर्जामा सरकारको ध्यान नजाने हो भने यस विषय पढेका विद्यार्थीले पनि अनुसन्धान गर्न नपाउने भएका छन् ।

सौर्य ऊर्जाका माध्यमद्वारा १ बिघा क्षेत्रफल रहेको जग्गामा वार्षिक १ करोड रुपियाँ आम्दानी गर्न सकिने विज्ञहरूले जनाएका छन् । कृषि मन्त्रालयका अनुसार १० लाख हेक्टरभन्दा बढी बाँझो जमिन छ । सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेमा हिउँदमा भारतबाट बिजुली किन्नुपर्ने अवस्था नआउने विज्ञको भनाइ छ । विज्ञका अनुसार २० ओटा पाता राख्दा १० किलोवाट विद्युत् उत्पादन हुने र सोबाट वार्षिक १ करोड १४ लाख ७ सय ५० रुपिँया आम्दानी हुनेछ ।

विगतको भन्दा परिष्कृत सोलार प्यानलका कारण अहिले थोरै खर्चमा पनि आफूलाई चाहिने विद्युत्को जोहो आफैं गर्न सकिने प्रविधिको विकास भइसकेको छ । पहिले एउटा घरको छतभरि सोलार राख्दा पनि आफंैलाई नपुग्ने बिजुली उत्पादन हुने गर्दथ्यो । तर, अहिले घरको एउटा कुनामा साना सोलार राख्दा घरलाई पुग्ने बिजुली उत्पादन गर्न सक्ने प्रविधि विकास भइसकेको विज्ञको भनाइ छ । जलवायु परिवर्तनका कारण विश्वभरको तापक्रम बढ्दो क्रममा छ । तापक्रम बढ्नु भनेको स्वतन्त्र ऊर्जाको माग बढ्नु हो ।

अहिले हिउँदको मौसममा विद्युत् आपूर्ति गर्न पनि भोल्टेज सुधार नहुँदा बत्ती बाल्दा झ्याप्पझ्याप्प जाने, बत्ती आउँदा पनि मधुरो बल्ने समस्या भइरहेको छ । यसको समाधान पनि सौर्य ऊर्जाले गर्न सक्ने जिकिर गर्दै विज्ञहरूले समुदायलाई नै आ–आफ्नो घरको छतमा सौर्य ऊर्जा राखिदिँदा समुदायका व्यक्ति धनी हुने दाबी गर्छन् । तर, वितरण प्रणालीमा सुधार आउने कुनै संकेतसम्म नदेखिएकाले सर्वसाधारणले आफ्नो घरको छतमा सोलार प्यानलबाट उत्पादन हुने विद्युत् विद्युतीय चुल्होमा खाना पकाउने, बत्ती बाल्नेलगायत घरमा मात्रै उपभोग गर्नसक्ने अवस्था रहेको जानकरहरू बताउँछन् ।

नेपालमा सोलारको अवस्था

राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालका ६६ लाख ६० हजार ८ सय ४१ घरधुरीमध्ये ६ दशमलव ६ प्रतिशत घरधुरीले अर्थात् ४ लाख २९ हजार १ सय ४१ घरधुरीले वैकल्पिक ऊर्जा सोलारको प्रयोग गरिरहेका छन् । सन् २०११ मा सोलार प्रयोग गर्ने घरधुरीको संख्या ७ प्रतिशतभन्दा बढी रहेको पनि विभागको तथ्यांकमा उल्लेख छ । त्यसबाहेक ८२ हजार ४ सय १८ घरधुरीले बिजुली नै बाल्न पाएका छैनन् । उनीहरूको घरमा सोलारसमेत छैन ।

सौर्य ऊर्जाका फाइदा :

–रोजगारी सिर्जना हुने
–सौर्य पाताभित्र वैकल्पिक कृषि गर्न सकिने
–सानो लगानीमा उत्पादन गर्न सकिने
–बाँझो जमिनमा सोलार पाता राख्न सकिने
–आफैंले उपभोग तथा आम्दानी पनि गर्न सक्ने