संविधानको लचकतामा उभिएर यसैमाथि प्रहार



हेटौंडा ।

 बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको लचकतामा उभिएर यसैमाथि प्रहार हुने जमर्को हुन लागेको आभाष हुन थालेको टिप्पणी गरेका छन् ।

हेटौंडामा संविधान दिवसको अवरमा आयोजित कार्यक्रममा उनले भने–हाम्रो समाजका दन्त्यकथाका पाठकहरु श्मशानको नलिहाडलाई तान्त्रिक विधिद्वारा प्राण प्रतिष्ठा गर्ने कसरतमा लागेका छन् भन्ने झिनो स्वरमा चर्चा सुनिन थालेका छन् । तर, हाम्रो समाज र हामी नेपाली विधिले व्यवस्थित गरेको सिद्धान्त र विचारको जगमा उभिएर सहभागितामूलक विकासका लागि उपलब्ध स्रोतसाधनको समुचित उपयोग गर्दैै वाञ्छित उद्धेश्यप्राप्तिका लागि अनवरण प्रयत्नरत् छौं ।
उनले  न्याय र समानताका आधारमा प्राप्त उपलब्धिको संरक्षण–प्रवद्र्घन गर्दै थप उपलब्धिका लागि क्रियाशील रहने र ती उपलब्धिको न्यायोचित वितरण गर्दै समतामूलक समाजका आधारमा शोषणरहित समाज निर्माण, राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर एवम् समुन्नत पार्दै समाजवादतर्फ लक्षित गर्ने उद्देश्य संविधानले निर्देशक सिद्धान्तका रुपमा अङ्गीकार गरेको छ ।

‘हाम्रा सामु संविधान नै भएपछि यसमा सन्निहित विशेषताको वर्णन गरिरहनु सान्दर्भिक नहोला । यसर्थ, संविधानका मर्म र भावनापालना गर्न प्रतिबद्धता व्यक्त गर्नु हामी सबैको मूल दायित्व हो,’ उनले भने–संविधानप्रतिको ओठेभक्ति र संघीयताप्रतिको विषवमन विरोधाभाषपूर्ण विषय हुन् । अन्तर्वेदनाको असह्य पीडामा उत्सर्जित उच्छवास जनताको आँखाबाट बलिन्द्र धारा आँसु बनेर बहन्छ । ती आँसु पुछिदिने, अन्तर्नादलाई मत्थर पार्न राहत दिने र आश्वस्त पार्ने शासकीय प्रणाली सुशासन हो । यस्तो सुशासनमा करप्सनको कोरले बीभत्स अनुहारलाई करेन्सीको कस्मेटिक सर्जरीद्वारा दिइएको आकर्षणप्रति विकर्षणको तीव्र वेग हुनुपर्छ ।

उनले सबैले संविधानपालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनका रुपमा अङ्गीकार गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र शहीदहरुप्रति श्रद्धाञ्जली हुने भन्दै थपे–हाम्रो संविधानले समाजवादको सुखद परिकल्पना गरेको छ । र, यसबाट समृद्ध नेपाल निर्माण गर्दै सुखी नेपालीको हसिलो मुहार हेर्ने अपेक्षा गरेको छ ।

संविधानले न्याय, समानता र जनजीविकाको हक स्थापित भएको र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्थामार्फत् दीगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको उनको कथन छ । ‘यही संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरिदिएको छ । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा हजारौं फूलको एउटै मालाका रुपमा गुथेर राखेको छ । यस सन्दर्भमा सङ्घीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यस संविधानले उपलब्ध गराएका नेपाली जनताका निधि हुन् । र, भावी पुस्ताका धरोहर पनि ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधानमा उल्लेख गरेअनुसार प्रदेशले पाउनुपर्ने अधिकार प्राप्त गर्नुपर्ने बताए । आफूहरुले संविधानको अक्षरसः पालना गरेको उनले दाबी गरे । संविधान कार्यान्वयन गरेर मात्र समृद्धि र समाजवाद आउने बताएका उनले  नेपालको संघीयतामा आफ्नै विशेषता रहेको बताए ।

हेटौंडाको बुद्धचोकबाट प्रभातफेरी गर्दै मुख्यमन्त्री कार्यालय परिसरमा सभामा परिणत भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विभिन्न झाँकीसहित प्रभातफेरीमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्