२४ वर्षपछि जुर्यो साइत- जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको प्रतिमा अनावरण

0
Shares

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले २०४६ सालको ऐतिहासिक जन–आन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको पूर्णकदको प्रतिमा अनावरण गर्नुभएको छ ।

सिंहको २६औं स्मृति दिवसका अवसरमा राष्ट्रपति पौडेलले सूर्यविनायक नगरपालिकास्थित गणेशमान सिंह स्मृति वाटिका परिसरमा निर्मित १२ सय केजीको १२ फिट अग्लो ढलोटबाट निर्मित सिंहको प्रतिमा अनावरण गर्नुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रपति पौडेलले स्व. सिंह लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष तथा ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर रहेको बताउनुभयो । उहाँले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताका लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताउनुभयो ।

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने आन्दोलन र क्रान्तिका नेतृत्वकर्ता सिंहमा सिद्धान्तप्रतिको निष्ठा, पदप्रतिको निस्पृहता र लोकतन्त्रप्रतिको समर्पण भाव उच्च रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । सिंहको प्रतिमासहितको वाटिका निर्माणले सिंहको व्यक्तित्व र योगदान युवा पुस्तामा हस्तान्तरण गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सिंहले लोकतन्त्र राजनीतिक प्रणाली मात्र नभई जीवन दर्शनको बाटो भएको बताउने गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व. रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नुभयो । स्व. ढुङ्गेलका छोरा अनुप र नाति अक्षेप ढुङ्गेललाई उक्त सम्मानपत्र हस्तान्तरण गर्नुभयो । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि सम्मान गर्नुभयो । उहाँले समितिले प्रकाशन गरेको स्मारिका गणेशमान वाटिकाको विमोचन गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सिंहले गर्नुभएको त्याग तपस्या र बलिदानको गाथा भावी पुस्तासम्म पु¥याउने जिम्मेवारी सबै प्रजातन्त्रवादीको भएको बताउनुभयो ।

नेता सिंह र उहाँजस्ता अरू नेताको योगदानका कारण समावेशी लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको भन्दै उहाँले वाटिकामा अधुरा रहेका संरचना निर्माणलाई पूरा गर्न स्थानीय, प्रदेश सरकारसँगै केन्द्रीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सिंहका सुपुत्र तथा कांगे्रस नेता प्रकाशमान सिंहले उहाँको जीवन सन्देश नेपाली जनजनमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । २०४६ सालको जनआन्दोलनमा विभिन्न विचार बोकेका दलहरूलाई समेत उहाँकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्ति गरेको चर्चा गर्नुभयो । कार्यक्रममा संघीय सांसद दुर्लभ थापा र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समिति अध्यक्ष माथवरसिंह बस्नेत र सचिव कृष्णमुरारी न्यौपानेले सिंहको योगदानको चर्चा गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नुभएपछि २०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ शुरू भई २०५७ मै करिब १ करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भए पनि अनावरण गर्ने अवसर अहिले जुरेको हो । २४ वर्षअघि सुवर्णेश्वर डाँडामा निर्माण थालिएको गणेशमान सिंह स्मृति वाटिकाको निर्माण कार्य विभिन्न आरोह अवरोहकाबीच अन्तिम चरणमा पुगेको हो ।

१९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।