सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले ६१ किलो सुन तस्करी गरेको अभियोगमा २९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको पा“च दिनपछि कार्यालयले जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

सीआईबीले सो प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको भए पनि कार्यालय काठमाडौंले २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी महेशप्रसाद खत्रीका अनुसार प्रतिवादी बनाइएकामध्ये ३ जना फरार रहेका छन् । सीआईबीले ४ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन प्रतिवेदन तयार पारेकामा सरकारी वकिलले एक चिनिया“ नागरिकलाई तत्काल मुद्दा नचलाउने निर्णय गरेको थियो । सरकारी वकिलको कार्यालयले यो प्रकरणमा पक्राउ परेकामध्ये ६ जनालाई भने मुद्दा नचलाउने निर्णय गरेको छ ।

सीआईबीले मुद्दा नचलाउने निर्णय गरेको रुक्मिना सुब्बालाई भने सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको छ । अन्य भन्सार एजेन्ट र कर्मचारीलाई मुद्दा चलाउने तर क्यान्सर रोगी भएकै कारण उनलाई मुद्दा नचलाउ“दा राम्रो सन्देश नजाने भन्दै रुक्मिनालाई पनि मुद्दा चलाउने निर्णय गरेको बताइएको छ ।

अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसूरतर्फ थप सजाय माग दाबी गरिएको छ । मुलुकी अपराध संहिता–२०७५ अनुसार कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसूर गरेमा त्यस्तो व्यक्तिले एकीकृत कसूर गरेको मानिनेछ । एकीकृत कसूर गर्ने कसूरदारलाई सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसूरबापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसूरबापतको सजायको आधा सजाय थप गरी सजाय गर्नुपर्ने छ ।

पटक–पटक अपराध गरेको आरोपमा थुप्तिन छिरिङको हकमा प्रहरीले थप सजाय माग गरेको छ । अभियोग पत्रअनुसार उनी यसअघि नै गैंडाको खाग चोरी तस्करीको आरोपमा दोषी ठहर भएका थिए । सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपिया“, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपिया“ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपिया“ रहेको अभियोग पत्रमा उल्लेख छ । प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोपपत्र अनुसार उनीहरुले ३ सय ६२ किलो ७ सय ७८ ग्राम सुन तस्करी गरेका छन् ।

प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । सो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । यो प्रकरणमा संलग्न रहेका फरार सूचीमाका १५ जनाविरुद्ध थप अनुसन्धान जारी रहने बताइएको छ ।

हङकङबाट ब्रेक–सुको आवरणमा कार्गो गरी ल्याइएका वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जा“च पार गरेर सिनामंगल सडकमा पुगिसकेको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले गत साउन २ मा बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्