सोनापुरको १ करोड ११ लाख कित्ता शेयर बिक्री गर्न मुस्किल



काठमाडौं । सोनापुर सिमेन्टको उत्पादक सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बहिष्कार गरेको १४ लाख ४६ हजार कित्ता शेयरलाई थपेर सर्वसाधारणलाई बिक्री गर्ने तयारी भएको छ ।

यतिखेर लगानीकर्ताहरू स्थानीयबासीले शेयर खरिद नगरेर कम्पनीका संचालकहरूलाई फाइदा नै भएको भन्दै हिँडेको स्रोतको भनाइ छ । स्थानीयबासीलाई २२५ रुपियाँ प्रतिकित्तामा बिक्री खुलाइए पनि अब सर्वसाधारणलाई १२ रुपियाँ महँगो २३७ रुपियाँ ५८ पैसामा आईपीओ बेच्दा थप फाइदा हुने सपना देखिरहेका छन् ।

सामान्य अवस्थामा खुलेको आर्ईपीओमा सर्वसाधारणको ओभर सस्क्राइब भए पनि विवादास्पद कम्पनीको आईपीओ बिक्री नभएको बिगतका घटनाले कम्पनीका लगानीकर्ता र शेयर बिक्री प्रबन्धकलाई त्रर्साएको स्रोतको दाबी छ ।

कम्पनीले कुल चुक्ता पुँजीको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपियाँको १ करोड २३ लाख २०० कित्ता साधारण शेयर आईपीओ खोलकोमा सर्वसाधारणले ९१ हजार र वैदेशिक रोजगारीमा रहेकोले १० दाख ७६ हजार कित्ता शेयर खरिद गर्दा पनि अब सर्वसाधारणका लागि १ करोड ११ लाख ३२ हजार शेयर बिक्री गर्न शेयर बिक्री प्रबन्धकलाई चुनौती हुने देखिएको छ । सर्वसाधारणले शेयर खरिद नगरेको अवस्थामा कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटलले खरिद गर्नुपर्ने भएकाले बिक्री प्रबन्धकलाई चुनौती देखिएको हो । महँगो मूल्यको शेयर खरिद गर्दा बिक्री प्रबन्धकलाई वित्तीय दबाब पर्ने देखिएको छ ।

वित्तीय एवम् सार्वजनिक छविसमेत रामो नभएको र स्थानीयबासीलाई दुःख दिँदै आएको हुँदा उनीहरूले शेयर खरिद गर्न इच्छा नदेखाएको स्थानीयको भनाइ छ । व्यापार ठप्प भएपछि ऋण तिर्न गलत तथ्यांक देखाएर महँगोमा शेयर बिक्री केही उद्योगहरू उद्दत भएका छन् । सोनापुर सिमेन्टकोे स्वच्छ व्यवसाय गर्ने उद्देश्य नदेखिएको ७५ करोड रुपियाँ हुँदासम्म विद्युत् महशुल बक्यौता नतिर्नुले स्पष्ट गर्दछ ।

पटक–पटक ताकेता गर्दा पनि महशुल भुक्तानी नगरेपछि नेपाल विद्युत प्राधिकरणले गत वैशाखमा सो उद्योगको विद्युत् लाइन काटेको थियो । त्यस्तै रोल्पाको रन्टीगढीमा खानी विभागका कर्मचारीसँगको मिलेमोतोमा अनुमति लिएको भन्दा बढी चुनढुंगा उत्खनन् गरेको भेटिएपछि ६ करोड ९९ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुन्धान आयोगले गत माघ महिनामा उद्योगका प्रबन्ध निर्देशक निपेश तायलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पानीको मुहान सुकाएको, क्षमताभन्दा बढीका भारवहान गाडी चलाएर सडक जीर्ण बनाएको, वातावरण प्रदूषण गराउँदा सयौं घर परिवार, विद्यालय विस्थपित गराएको, वातावरणीय प्रभाव मूल्यांकनअनुसार कार्य नगरेपछि उद्योगसँग स्थानीय रुष्ट छन् । त्यसमाथि महँगो दरमा शेयर बेचेर ऋण तिर्ने योजना बनाएकाले स्थानीयबासी आकर्षित नभएको स्थानीयको भनाइ छ ।

यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बजारमा आएका सबै आईपीओ आँखा चिम्लिएर खरिद गर्न नहुने बताउँदै आउनुभएको छ । कम्पनीका सबै वित्तीय सूचक अध्ययन गरेर मात्रै शेयर खरिद गर्न उहाँको आग्रह छ । विद्युत् बक्यौता विवाद, राजस्व छलीको मुद्दा एवम् स्थानीयसँगको समस्यालगायतका विषयमा उद्योग सञ्चालक निपेश तायलसँग नेपाल समाचारपत्रले सम्पर्क गर्ने प्रयास गरे पनि सफल भएन । कम्पनीमा रतनलाल तायल अध्यक्ष, निपेश तायल प्रबन्ध निर्देशक र प्रकाश तायल, एलिसा पाण्डे र भीमप्रसाद पाण्डे सञ्चालक रहेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा स्थापित उक्त कम्पनीले क्लिंकर, ओपीसी, पीपीसी तथा पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीसँग वार्षिक २ लाख १३ हजार ३५७ टन क्लिकंर, १ लाख ७२ हजार ७२ टन ओपीसी, ५ लाख ४९ हजार ४८० टन पीपीसी सिमेन्ट र ४९ हजार ९२४ टन पीएससी सिमेन्ट उत्पादन क्षमता छ । तर, क्षमताअनुसार उत्पादन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्