सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार, सर्वसाधारणको टाउकोमा थोपरिँदै



काठमाडौं । सोनापुर सिमेन्टको उत्पादक सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बहिष्कार गरेका छन् । कम्पनीको वित्तीय अवस्था कमजोर, शंकास्पद वित्तीय विवरण, करोडौं विद्युत् महसुल बक्यौता, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेर राजस्व छली गर्ने, स्थानयीबासीसँगको विवादजस्ता काण्डमा परेको कम्पनीको सेयर स्थानीयले बहिष्कार गरेका हुन् ।

कम्पनीले स्थानीयबासीका लागि १५ लाख ३७ हजार ५ सय २९ कित्ता सेयर बिक्री खुलाएको भए पनि जम्मा ९१ हजार ३० कित्ताका लागि मात्रै आवेदन परेको छ । १४ लाख ४६ हजार ४ सय ९५ कित्ता अर्थात् ९४ दशमलव शून्य ८ प्रतिशत सेयर बिक्री नभएपछि सेयर बिक्री प्रबन्धक र कम्पनीका अधिकारी रनभुल्लमा परेका छन् ।
पहिलो चरणमा सेयर बिक्री नभएपछि दोस्रो चरणमा लगिएको थियो गरिएको थियो । तर, दोस्रो चरणमा पनि कम्पनीको सेयर बिक्री भएन ।

विभिन्न ९ वटा बैंकको ऋण तिर्नका लागि प्रभावित क्षेत्र दाङ र रोल्पाका बासिन्दाका लागि सय रुपियाँमा १ सय २५ रुपियाँ प्रिमियम मूल्य थपेर कुल २ सय २५ रुपियाँ मूल्यमा सेयर बिक्री खुलाएको थियो । कम्पनीले आईपीओका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन ट्रीपल बी माइनस इस्युआर’ रेटिङ दिएको छ । यसको अर्थ कम्पनीसँग दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

एकातिर कम्पनीमा लगानी गर्नु जोखिम रहेको संकेत अर्कोतिर शंकास्पद वित्तीय विवरण र कम्पनीमा विभिन्न काण्डमा मुछिएकाले सर्वसाधारण लगानी गर्न हच्किएका हुन् ।

गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी प्रतिकित्ता ७ रुपियाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपियाँ ८१ पैसा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५÷७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपियाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६÷७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको देखिन्छ । त्यसपछिका तीनवटा आर्थिक वर्षमा ८० करोड रुपियाँ ब्याज पुँजीकरण गरेर कम्पनीले नाफामा गएको देखाइएको छ । तर, वास्तविकता भने कम्पनी नोक्सानमा छ । किनकि, पछिल्लो तीन वर्षदेखि कम्पानीका लगानीकर्ताले नाफा बुझ्नै पाएका छैनन् । नियमक निकायसँगको मिलेमतोमा सर्वसाधारण लगानीकर्तालाई ठगी गर्ने प्रवृत्ति बढिरहेका बेला लगानीकर्ता सचेत हुँदा खराब मनसाय भएका कम्पनी समस्यामा पर्दै आएका छन् ।

सोनापुरले सर्वसाधारणलाई सेयर बिक्री प्राप्त रकमबाट प्राइम कमर्सियल बैंकको ३७ करोड ७९ लाख, नबिल बैंकको ८ करोड ४१ लाख, सिटिजन्स बैंक इन्टरनेसनलको ५ करोड ३२ लाख, माछापुच्छ«े बैंकको १ करोड २८ लाख, सिद्धार्थ बैंकको ४ करोड ८१ लाख, कुमारी बैंकको १३ करोड १८ लाख, लक्ष्मी सनराइज बैंकको ९३ लाख ९३ हजार, ग्लोबल आईएमई बैंकको १६ करोड ११ लाख र प्रभु बैंकको १२ करोड ११ लाख रुपियाँ ऋण भुक्तानी गर्ने योजना बनाएको छ ।

– ‘आईआरएन ट्रिपल बी माइनस इस्यूआर’ रेटिङ
– कम्पनीसँग दायित्व बहन गर्ने क्षमता जोखिममा
– ८० करोड ब्याज पुँजी रूपान्तरण
– रातारात कम्पनी नाफामा, लगानीकर्तालाई लाभांश शून्य
– ७५ करोड विद्युत् महसुल बक्यौता
– कम्पनीका सञ्चालकलाई भ्रष्टाचार मुद्दा

प्रतिक्रिया दिनुहोस्