तपतपे ढुङ्गा व्यवस्थापन: हट्यो सिंगटीवासीको त्रास 



दोलखा ।

 दोलखाको उत्तरी विगु गाँउपालिका वडा नम्बर ४ सिंगटीको खोलिखिम बजारमाथि माईथान सामुदायीक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा ब्लास्टिङ मार्फत व्यवस्थापन गरिएको छ । नेपाली सेनाले त्यसको लागि गत भदौ १८ गतेबाट काम सुरु गरेको थियो ।

नेपाली सेनाको तारादल गणको सेनानी गजेन्द्र दहितको समन्वयमा काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंहको टिमले तपतपे ढुङ्गालाई १३ पटक ब्लास्टिङ गरी फुटाएर बिहीबार व्यवस्थापनको काम सकेको तारादल गण चरिकोटले जनाएको छ । अब फुटाइएको ढुङ्गाका टुक्राहरु पन्छाउने र माटो सफा गर्ने काममात्र बाँकी रहेको नेपाली सेनाको तारादल गणले जनाएको छ ।

वर्षाको कारण क्रमशः बग्दै गएको उक्त ढुङ्गा खस्योभने खोलिखिम बजारको ७८ भन्दा बढी घर धुरीमा क्षतिपुग्न सक्ने नेपाली सेनाले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

नेपाली सेनाको तारादल गणको सेनानी गजेन्द्र दहितको समन्वयमा काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंह, सह सेनानी सुजिन जंग शाही, जमदार राम कुमार राई र सिपाही खुम बहादुर डांगी तथा अर्जुन घिमिरेको प्राविधिक टिमले गरेको रेकीमा उक्त ढुङ्गा भएको ठाँउमा पहिरो गयो भने तीन सय ५० मीटर तल सिंगटी बजारमा रहेको करिब २० घरमा क्षतिहुने तथा ढुङ्गाले नदि थुन्यो भने बजारको ७८ वटा घरमा क्षतिपुग्न सक्ने रिर्पोट दिएको थियो । ढुङ्गा खस्ने त्रास बढेपछि विगु गाँउपालिकाको पहलमा खोलिखिमका ३२ घर धुरीका वासिन्दालाई अन्यत्र सारीएको थियो ।

जोखिम मानिएको ढुङ्गा व्यवस्थापन गरिएकोले अब पहिलेको जस्तो त्रास नभएको विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओलीले बताए । अब फुटाइएको ढुङ्गा पन्छाएर सफा गर्ने र सडकलाई मेसिनरी वाल दिएर मर्मत गरी जोखिम कम गर्ने पालिका प्रमुख ओलीले बताए । त्यसको लागि करिब ४० लाख लाग्ने अनुमान गरिएको पनि ओलीले बताए ।

पैसा व्यवस्थापनको लागि म काठमाडौँ पुगेर संघ तथा प्रदेश सरकारका सरोकारवालाहरुसंग भेट गरे पालिका प्रमुख ओलीले भने– तर कतैबाट पनि सहयोग भएको छैन । सडक मर्मत र पहिरो रोकथामको काम तत्काल गर्नुपर्ने भएकोले पालिकाले काम सुरु गर्ने प्रमुख ओलीको भनाई छ । खोलिखिम बजारलाई सुरक्षित बनाउन माटो बगेको जमिनमा समेत बिरुवा रोप्ने तथा वाल लगाउने काम गर्नुपर्ने भएकोले उक्त काम वर्षा सकिएपछि सुरु गर्ने ओलीले बताए ।

ढुङ्गा बग्ने जोखिमका कारण अन्यत्र सारीएको ३२ घर धुरीका मानिसलाई प्राकृतिक रुपमा जोखिम भए नभएको विज्ञको परीक्षण र सेनाको प्रतिवेदन प्राप्त भएपछिमात्र फिर्ता बोलाउन सकिने पालिका प्रमुख ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्