तीन करोड ‘डिल’ले रास्वपामा खैलाबैला

0
Shares

काठमाडौं । जनतामाझ वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफ्नै सांसदलाई मन्त्री बनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्र्तवार्ता दिएपछि खैलाबैला मच्चिएको हो ।

पार्टीको साधारण सदस्यबाट समेत निष्कासित पूर्वसांसद ढाकाकुमारले सार्वजनिक रूपमा पोलेका केन्द्रीय सदस्य थापामाथि पार्टीले अनुसन्धानको प्रक्रिया अघि बढाएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ । बुधबार जारी गरिएको विज्ञप्तिमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान शुरू गरेको उल्लेख छ ।

गत चैतमा भएको उपनिर्वाचनताका रास्वापाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपियाँ मागेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले कारबाही गरेको थियो । उक्त अडिओमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपियाँ बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको प्रष्ट सुनिन्थ्यो । अहिले श्रेष्ठले फरक प्रसंगमा बोलेको विषयलाई लिएर अडियो कुराकानी गर्ने दुर्गा प्रसाईंले उक्त अडिओ सम्पादन गरी आफ्नो चरित्र हत्या गर्ने काम दाबी गर्दै आउनुभएको छ । श्रेष्ठले एक टेलिभिजन अन्तर्वार्तामा थापा सभापति लामिछानेको कोर टिमको सदस्य रहेको र मन्त्री बनाइदिन्छु भनी आफूसँग तीन करोड रुपियाँ मागेको किटान गर्नुभएको थियो ।

ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपियाँ मागेको अडियो सार्वजनिक भएपश्चात् पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोधेर कारबाही गरेकोमा ढाकाकुमारले आफूलाई पार्टीले साथ नदिए पार्टीका सदस्यलाई पोल्दिन्छु भनी धम्की दिएको पनि विज्ञप्तिमा भनीएको छ । विज्ञप्ति लेखेर चोखिन खोजेको रास्वपाभित्रका बाँकी गतिविधिका विषयमा समेत कुनै दिन मुख खोल्ने पूर्वसांसद ढाका श्रेष्ठले बताउनुभएको छ ।