‘प्रधानमन्त्री दाहाल अराजक’

0
Shares

हेटौंडा ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक हुँदै गएको आरोप लगाएका छन् । ११० औं वीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा वीपीको शालिक अनावरण गर्न आएका कोइरालाले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएकाले दाहाल नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरे ।

कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदामात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गर्दै देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको उल्लेख गरे । सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल हुने तर, यसैगरि सरकार सञ्चालन भए देश अप्ठ्यारो स्थितिमा पुग्ने उनको दाबी छ ।

‘हामी देशकै ठूलो दल हौं । हाम्रो ९० सिट छ । यो सबै विषयलाई विचार गरेर अगाडि बढ्छौं,’ उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए ।

देशका प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं । र, जातीय राज्य बनाउछौं भन्दै हिड़द धरानमा द्वन्द्व भएको उनको दाबी छ । ‘सुर्खेतमा केही महिनाअघि २ लाख मानिस सडकमा उतार्छौं भने । प्रधानमन्त्रीकै अभिव्यक्तिले धरानमा घटना हुन पुगेको हो,’ उनले धरानमा जातीय द्वन्द्व भएको दाबी गरे ।

पार्टीभित्रको आन्तरिक समस्यालाई सामान्यरुपमा बुझ्न आग्रह गरेका उनले भने–कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र असन्तुष्टि हुन्छन् । यसलाई चिर्दै हामी अगाडि बढ्ने हो ।