समाजवादी अभियान अगाडि बढाउन ‘समाजवादी मोर्चा’

गुमेको शक्ति एकत्रित गर्ने प्रयास


हेटौंडा ।

 काठमाडौँमा केन्द्रीय मोर्चा गठन गरेका ४ दलका प्रमुख नेताहरुले आइतबार हेटौंडामा बागमती प्रदेशस्तरीय सन्देशसभा गरेका छन् ।
पार्टी विभाजनपछि अलग्गिका दलले गुमेको शक्ति एकत्रित गर्न ‘समाजवादी मोर्चा’ घोषणा गरेका हुन् । छरिएर रहेको वामशक्तिलाई एक ठाउँमा भेला भएर ठूलो शक्ति देखाउन समाजवादी मोर्चा बनाइएको हो ।

सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादी अध्यक्ष माधबकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट पार्टीहरु मात्र विभाजित हुन्छन् भन्ने सन्देश चिर्न कम्युनिष्ट पार्टीहरु पनि जुट्छन् भन्ने सन्देश दिनका लागि मोर्चाबन्दी गरिएको उद्घोष गरे ।

सभामा प्रचण्डले आफू जति समय प्रधानमन्त्री हुने हो, त्यतिञ्जेलसम्म राम्रो काम गरेर देखाउने बताए । ‘समाजवादी मोर्चा’ को बागमती प्रदेशस्तरीय सन्देशसभालाई हेटौंडामा सम्बोधन गर्दै उनले भने–कति समय प्रधानमन्त्री हुन्छु भन्ने छैन । तापनि, जति समय बस्छु, राम्रो काम गरेर देखाउँछु ।

भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा अभियान चलाइएको र यस अभियानलाई निरन्तररुपमा अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्धा हालिरहने चलन बढेकोमा उनको चिन्ता छ । उनले आफू प्रधानमन्त्री भएपछि पटकपटक कार्यकारीविरुद्ध अदालतमा मुद्धा परेको भन्दै चिन्ता व्यक्त गरे । मोर्चा ४ पार्टीको मात्र नभएर देशका जनताको परिवर्तनको मोर्चा रहेको उनले स्पष्ट पारे।

प्रचण्डले आफू प्रधानमन्त्री भएसँगै  सरकारले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेकाले आफूविरुद्ध एक समूह लागेको आरोप लगाए । उनले भने–सरकारविरुद्ध दबाब महसुस भइरहेको छ ।

मोर्चा घोषणामा प्रधानमन्त्री प्रचण्डले अन्य वाम दललाई पनि उक्त अभियानमा सहभागी हुन आह्वान गरे । विगतमा एमालेसँग आफ्नो दलले एकीकरण गर्दा नेपाल कम्युनिष्ट पार्टी गठन गरेका उनले त्यसबाट सिकेको अनुभवका आधारमा मोर्चा गठन गरेका हुन् ।

सभामा पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादी अध्यक्ष नेपालले समाजवादको मिसन पूरा गर्नका लागि मोर्चा तयार गरिएको बताए । उनले पहिले चुनावका लागि मोर्चा बनाइए पनि हाल जनताको काम गर्न मोर्चा बनाइएको भन्दै अब सरकारलाई सदन र सडक दुवैबाट दबाब दिनु जरुरी रहेको औंल्याए । ‘हामी मिसन समाजवादमा पुग्ने उद्धेश्यमा छौं । हाम्रो सिद्धान्त र आदर्श समाजवाद हो । सरकार, सडक र सदन तीन वटै मोर्चामा हामी हुनेछौं,’ उनले समाजवादको नेपाली बाटो पहिल्याउन संसद र बाहिर पनि मोर्चा बलियो शक्ति हुने अपेक्षा गरे ।

मोर्चाको सन्देशसभामा उनले भने–सरकारमा रहेका पार्टीले सडकमा गएर आन्दोलन गर्नु हुँदैन  भन्ने मान्यता छ । तर, सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्छ । त्यसकारण हामीले समाजवादी मोर्चा बनाएका हौं । ‘हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौं,’ उनले भने । नेपालले भ्रष्टाचारमुक्त विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने बताए ।

सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्ड सरकारबाट लड्नुपर्ने र आफूहरु सडकबाट लड्ने बताए । उनले आफूहरु सडक, सदन र सरकारबाट समेत लड्ने उद्घोष गरे । सत्ता हाल पनि दलाल र पूँजीपतिले चलाइरहेको उनको आरोप छ ।

कार्यक्रममा मोर्चामा आवद्ध राजनीतिक दलका कार्यकर्तालाई मोर्चाको अवधारणाबारे प्रशिक्षण दिइएको थियो । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद छन् । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् ।