चेपाङको विकासमा प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री जमरकट्टेल

0
Shares

धादिङ। 

चेपाङ समुदायका विकासमा बागमती प्रदेश सरकार गम्भीर रहेकोले चेपाङ समुदायलाई विकासको मूलधारमा ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताएका छन् ।

सीमान्तकृत चेपाङ समुदायको न्वागीको अवसरमा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङ्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले यस्तो बताएका हुन् ।

विकासमा अत्यन्तै पछि पारिएको चेपाङ समुदायलाई अन्य समुदाय जसरी विकासको मूलधारमा ल्याउन कार्यदल बनाएर अघि बढ्ने मुख्यमन्त्री जमरकट्टेलले   प्रतिबद्धता व्यक्त गर्दै संघीय सरकारसँग समन्वय र सहकार्य गरेर कार्यक्रमहरू ल्याउने बताए ।

विशेष संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र संविधानमा व्यवस्था भएको कारण सङ्घीय सरकारले पनि निर्णय गर्नुपर्ने धारणा राख्नुहुँदै मुख्यमन्त्री जमरकट्टेलले सबै दल र सरोकारवालाहरुलाई एकजुट भएर विकासका लागि लाग्न आग्रह गरे । कार्यक्रमलाई  सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले आदमघाट वैकुण्ठ मनोहरी सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्न निर्माण कार्य भइरहेको  जानकारी दिए ।

गिट्ठा र भ्याकुर खाने अति सीमान्तकृत चेपाङ समुदाय धादिङ मकवानपुर, चितवन, गोरखामा बसोकासरहेको छ ।

नेपालका सीमान्तकृत चेपाङ समुदायले न्वागी पर्व शुक्रवार धूमधामका साथ मनाएका छन् । देशभरका चेपाङहरु धादिङमा जम्मा भएर यो पर्व मनाएका हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।

कार्यक्रममा चेपाङ समुदायको रीतिरिवाज र संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरिएको थियो । कलाकारहरूले चेपाङको कला संस्कृति झल्काउने नृत्य तथा गीत प्रस्तुत गरेका थिए । चेपाङ झाक्रीहरुले एक पाखे ढ्याङ्ग्रो बजाएर मञ्चमै फलाकेका थिए ।

बिहीबार बेलुकाबाट न्वागी पर्वका लागि जम्मा भएका चेपाङ समुदायले चेपाङका पुरेतले मन्त्र पढेर फलाकेर सुरु गरिएको थियो ।

नयाँ अन्न बाली खान सुरु गर्ने दिनका  अवसरमा न्वागी खाने पर्वको रुपमा विकास गरिएको हो । चेपाङको न्वागीको दिनमा भगवानलाई चढाए पछि मात्र नयाँ अन्न खान सुरु गर्ने गर्दछन् ।