अल्कारेज यूएस ओपनको सेमिफाइनलमा



वासिंटन । साविक विजेता कार्लोस अल्कारेज यूएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्पेनिस स्टार अल्कारेजले जर्मन खेलाडी अलेक्सजेन्डर ज्वेरेभलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । उनले खेल ६–३, ६–२ र ६–४ अंकले तीनवटै सेट आफ्नो पक्षमा पारेका हुन् । अब अल्कारेजले फाइनल प्रवेशका लागि रसियन स्टार डानियल मेदभेदेवको सामना गर्नेछन् ।

अर्को सेमीफाइनलिस्ट मेदभेदेवले पनि क्वार्टरफाइनलमा आफ्नै देशका आन्द्रे रुबलभलाई ३–० को सोझो सेटमा पराजित गरे । उनले तीन सेटको खेल ६–४, ६–३ र ६–४ अंकले आफ्नो पक्षमा पारेका थिए । यससँगै पुरुष एकलतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । अर्काे सेमिफाइनलमा सर्बियन स्टार नोभाक जोकोभिच र अमेरिकका बेन सेल्टन आमने–सामने हुनेछन् ।

त्यसैगरी, बेलारुसकी स्टार अर्याना साबालेन्का यूएस ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छन् । साबालेन्काले चाइनिज खेलाडी किनवेन झेङलाई २–० को सोझो सेटमा पराजित गरिन् । उनले खेल ६–१ र ६–४ ले आफ्नो पक्षमा पारेकी हुन् । साबालेन्काले सेमिफाइनलमा अमेरिकी स्टार म्याडिसन किजको समाना गर्नेछिन् । किजले पनि चेक रिपब्लिककी मार्केटा भोनड्राउसोवालाई ६–१ र ६–४ ले पराजित गरेकी थिइन् । यससँगै महिला एकतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । अर्को सेमिफाइनलमा अमेरिककी कोको गौफले चेक रिपब्लिककी कारोलिना मुचोवाको सामना गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्