आफूले आफैँलाई चिन्नुहोस्



एकपटकको कुरा हो । एकजना किसान जङ्गलको बाटो भएर हिँड्दै गर्दा अचानक एउटा सिंहको बच्चा (डमरु) लाई भेटे । उनले यताउता हेरे तर कसैलाई पनि देखेनन् । सिंहको बच्चा अत्यन्तै भोकाएको र तिर्खाएको कारण मरणासन्न अवस्थामा थियो ।

त्यो सिंहको बच्चोको त्यस्तो हालत देखेर ती किसानलाई दया लाग्यो । त्यसलाई लिएर उनी आफ्नो घरतिर लागे । खुवाइ–पियाइ गराएर सिंहको बच्चाको भोक मेटिएपछि ती किसानले त्यसलाई कहाँ राख्ने भनेर सोच्न थाले । उनले धेरै भेडा पालेका थिए । उनले त्यो सिंहको बच्चालाई पनि त्यही भेडाको बगालमा सँगै राखिदिए ।

अर्को दिन भेडाहरू चर्नलाई बाहिर निस्कँदा त्यो सिंहको बच्चो पनि उनीहरूसँगै बाहिर निस्क्यो । यस्तै गर्दागर्दै धेरै वर्ष बित्यो । त्यो सिंहको बच्चो पनि भेडाहरूसँगै चरिरहन्थ्यो, उनीहरूसँगै निस्कन्थ्यो र उनीहरूसँगै बेलुका घर फर्कन्थ्यो ।

यसै गरी एकदिन त्यो सिंहको बच्चा भेडाहरूसँग चरिरहेको बेलामा अचानक एउटा ठूलो सिंह जङ्गलबाट आयो र भयङ्करले गर्जना ग¥यो । त्यो गर्जन सुनेर ती स–साना भेडाहरू डरले काम्न थाले र झाडीभित्र लुक्न लागे । सिंहको बच्चा पनि भेडाहरूजस्तै डराएर लुक्नतिर लाग्यो । ठूलो सिंहले भेडासँगै त्यो सानो सिंह पनि लुक्ने कोशिश गरिरहेकोे देखेपछि उसले सानो सिंहको नजिक गएर भन्यो, ‘तिमी के गरिरहेको छौ ?’ सानो सिंहले भन्यो, ‘म लुक्ने कोशिश गरिरहेको छु ।’

सिंहले भन्यो, ‘तिमी के सोच्छौ, म तिमीलाई खान्छु त ?’ त्यसपछि सानो सिंहले भन्यो, ‘अँ, तपाईँले मलाई खानुहुन्छ !’ ठूलो सिंहले भन्यो, ‘होइन, होइन । तिमीलाई थाहा छैन, तिमी को हो ?’ सानो सिंहले भन्यो, ‘अँ, म को हुँ भनेर त मलाई थाहा छैन, तर तिमीले मलाई खान्छौ भनेरचाहिँ थाहा छ, त्यसैले म लुक्न चाहन्छु ।’ सिंहले भन्यो, ‘होइन, साँच्चै तिमीलाई तिमी को हौ भनेर थाहा छैन ? तिमीले आफूलाई भेडा नै भनेर सोचेका छौ तर तिमी भेडा होइनौ । आऊ, मसँगै आऊ ।’

त्यसले उसलाई पोखरीको किनारमा लिएर गएपछि भन्यो, ‘हेर, आफ्नो छायालाई हेर !’ सानो सिंहले आफ्नो छायालाई हेरेर भन्यो, ‘साँच्चै नै म त ती भेडाहरूजस्तो रहेनछु । म त तिमीजस्तै पो छु ।’ उसले ठूलो सिंहप्रति आभार प्रकट गर्न लाग्यो । अनि सिंहले भन्यो, ‘किन ! मैले त तिमीलाई यथार्थमा तिमी को हौ भनेर देखाएको मात्र हुँ ! तिमी भेडा होइनौ । तिमी भेडाहरूसँग त अवश्य रहन्थ्यौ तर तिमी भेडा होइनौ । तिमीले उनीहरूसँग रहँदा–बस्दा तिमीले आफूलाई पनि भेडा नै हुँ भनेर सोच्न थाल्यौ ।’

तपाईँको वास्तविक स्वरूप के हो ? तपाईँ को हुनुहुन्छ ? आजसम्म त तपाईँले आफ्नो नाता–सम्बन्धका बारेमा सोचिरहनुभएको थियो– ‘म कसैको छोरा हुँ, म कसैको काका हुँ ।’ यिनै कुराहरुलाई नै बुझौँ । तर, वास्तविक नाता के हो ? त्यो कुन चीज हो, जसको उपस्थितिमा सबै थोक हुन्छ र नहुँदा केही पनि रहँदैन । हामी बाहिरतिरको चीजलाई मात्रै चिन्ने कोशिश गर्दछौँ । तर, हामीभित्र रहेको जुन चीज छ, के हामीले त्यसलाई पनि चिन्ने कोशिश ग¥यौँ– ‘मेरो वास्तविक स्वरूप के हो ?’ हामीले हाम्रो वास्तविक स्वरूप के हो भनेर थाहा पाएपछि हाम्रा धेरै भ्रमहरू हट्नेछन् ।

यो जीवन के हो ! तपाईँको जीवन के हो ! तपाईँ को हुनुहुन्छ ! यदि ‘म को हुँ, म के हुँ’ भन्ने दृष्टिकोणबाट हेर्ने हो भने जुन–जुन कुरालाई म निर्माण गर्छु ती सदैव रहँदैनन् । जुन–जुन चीजलाई म प्रेम गर्छु ती सधैँ रहँदैनन् । यो संसारमा मानिसले कस्तो पद्धति निर्माण गरेका छन् भने ‘जागिर खाऊ, व्यवसाय गर, व्यापार गर, त्यसपछि धन प्राप्त हुनेछ । अनि, त्यो धनबाट जे तपाईँलाई चाहिएको छ, जे तपाईँको आवश्यकता हो, त्यो पूरा हुनेछ ।’ वास्तवमा तपाईँको आवश्यकता के हो ?

तपाईँलाई हावाको आवश्यकता छ । तपाईँलाई तातोपनको खाँचो छ । तपाईँलाई भोजन र पानीको आवश्यकता छ । तीन दिन पानी पाइएन भने हामी बाँच्न सक्दैनौँ । यदि तीन हप्ता भोजन प्राप्त भएन भने हामी जिउन सक्दैनौँ । तीन मिनेट यदि श्वास चल्न सकेन भने त मानिस जीवित रहनै सक्दैन । तथापि, यदि तीन दिन टेलिभिजन हेर्न पाइएन भने त्यस कुराले केही फरक पर्छ र ! यही त बुझ्नुपर्ने कुरा छ । किनभने तपाईँको वास्तविक आवश्यकता के हो ! अनि, कुन–कुन कुरालाई तपाईँले आफ्नो आवश्यकताका रूपमा लिनुभएको छ ! र, त्यसलाई किन आवश्यकताका रूपमा लिनुभएको छ !

आज यो संसारमा झुटो बोलिरहिएको छ । हामी सबैजसो यसैमा अभ्यस्त भएका छौँ । हामी त यसलाई झुटो हो भन्नेसमेत ठान्दैनौँ । जो ठग हुन्छ, उसले हामीलाई ठगिरहेको हुन्छ तर हामी यस कुरामा यति धेरै अभ्यस्त भयौँ किनभने हामीलाई ‘म ठगिएको छु’ भन्ने कुरामा विश्वास नै लाग्दैन । यदि कसैले भन्यो, ‘यो तिमी के गरिरहेका छौ ? तिमी ठगिइरहेका छौ । तिमी आफ्नो जीवनलाई खेर फालिरहेका छौ । तिमीसँग झुटो बोलिरहिएको छ ।’ उल्टै उसलाई नै हामी ‘तिमी झुटो बोलिरहेका छौ’ भनेर भन्छौँ । कुनै पनि कुराको बानी पर्नु भनेको त्यस कुराप्रति सचेत नहुनु पनि हो ।

तपाईँ हात्तीलाई देखेर भन्नुहुन्छ– हात्ती आइरहेको छ तर माउतेका लागि केही पनि होइन । किनभने, उसले त त्यसलाई हरेक दिन देखिरहेको हुन्छ । उसका लागि कुनै ठूलो कुरै होइन । यदि तपाईँसँग सोधियो– ‘तपाईँ कुन–कुन कुरामा अभ्यस्त हुनुहुन्छ !’ भने तपाईँ के भन्नुहुन्छ ? वास्तवमा जुन कुरामा तपाईँ बढी अभ्यस्त हुनुहुन्छ, त्यसका बारेमा तपाईँलाई थाहा नै छैन । संसारमा आज जे भइरहेको छ त्यो यसकारण भइरहेको छ, किनभने संसारका मानिसहरू यी सबै कुरामा यति धेरै हराइरहेका छन्– कसले झुटो बोलिरहेको छ अनि कसले साँचो बोलिरहेको छ भन्ने कुरा नै थाहा छैन । वास्तविकता के हो ! हामी सबै आफ्नो जीवन यसरी बिताउँछौं जस्तो कि हामी कहिल्यै यो संसारबाट जाँदैनौँ । अनि, कोही यो संसारलाई छोडेर गयो भने हामीलाई एकदमै नराम्रो लाग्छ । आँसु बगाउँछौँ, रुन्छौँ ।

के तपाईँ आफ्नो श्वासतिर ध्यान दिनुहुन्छ ? त्यसकै कारणले तपाईँ जीवित हुनुहुन्छ । जसलाई सोचेर केही पनि पाइँदैन, तपाईँ त त्यसैका बारेमा चिन्ता गर्नुहुन्छ । तपाईँलाई साँचो के हो अनि झुटो के हो भन्नेमा पनि अन्योल छ । झुटोलाई साँचो मान्नुहुन्छ अनि साँचोलाई झुटो मान्नुहुन्छ । हामीलाई राम्रो लाग्ने कुरामात्रै हामी मानिसहरूबाट सुन्न चाहन्छौँ । सत्य कुराचाहिँ सुन्न चाहँदैनौँ ।

किनकि, हामीले ‘झुटो मीठो हुन्छ अनि सत्य तीतो हुन्छ’ भन्ने बुझेका छौँ तर यस्तो हुँदैन । साँचो कुरा त ‘झुटो तीतो हुन्छ अनि सत्य मीठो हुन्छ ।’ वास्तविक सत्य के हो ? वास्तविक सत्य के हो भने तपाईँ जीवित हुनुहुन्छ । तपाईँभित्र श्वास आइरहेको छ, गइरहेको छ । तपाईँका लागि योभन्दा ठूलो कुरा हुनै सक्दैन । जबसम्म यो आइरहेको छ अनि गइरहेको छ, तबसम्म तपाईँमा ती सृष्टिकर्ताको आशीर्वाद छ ।

तपाईँको दुःखको कारण यो जिन्दगी होइन । तपाईँको दुःखको कारण त असत्यमा अभ्यस्त हुनु हो । तपाईँको जीवनमा सबैभन्दा ठूलो भय पनि यही कुरामा छ, जसमा तपाईँ अभ्यस्त हुनुभएको छ । पानीले आफ्नो प्रकृतिलाई कहिल्यै छोड्दैन । बरफ पग्लेर समुद्रमा पुगेपछि पानी बन्छ । तपाईँ पनि त्यस्तै हुनुहुन्छ । पानी समुद्रमा मिसिएपछि आफ्ना हरेक चीजलाई छोडिदिन्छ । अनि, जब पानी समुद्रबाट बाफ बनेर निस्कन्छ तब त्यो समुद्रको नुनिलोपनलाई पनि छोडिदिन्छ । यथार्थमा, तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ, यसकारण तपाईँमा ती सृष्टिकर्ताको कृपा छ । यदि तपाईँले यस कुरालाई जान्न सक्नुभयो, बुझ्न सक्नुभयो भने त्यसपछि यी अनेकन दुःखहरू रहनेछैनन् ।

यो जीवनमा आफ्नो वास्तविक सफलतालाई प्राप्त गर्नुहोस् ! आपूmले आपूmलाई चिन्नुहोस् । त्यो परम शान्तिको आनन्द लिनुहोस् । त्यसपछि तपाईँ जेसुकै गर्नुहोस्– चाहे सफल हुनुहोस्, चाहे व्यापार अभैm बढोस् । ती कुराले केही फरक पर्दैन । किनभने, तपाईँलाई सत्य र असत्यका बारेमा ज्ञात भइसक्यो । जसलाई सत्य र असत्यको पहिचान हुँदैन, जीवनमा उसलाई सबैभन्दा धेरै भय हुन्छ । तर, जसलाई सत्य र असत्यको पहिचान भइसक्यो भने केही पनि फरक पर्दैन । सत्य के हो र असत्य के हो ! यस कुरालाई बुझ्नुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् !

हामी माटोलाई घृणा गरिरहेका हुन्छौँ । यदि कतै लागिहाले पनि हामी त्यसको सफाइतिर लाग्छौँ । तर, यो शरीर पनि त्यही माटोबाट बनेको छ । अचम्मको कुरा त यो माटो बोल्छ तर यसलाई कसैले चमत्कार ठान्दैनन् । गाई पनि यही माटोबाटै बनेको छ । उसले दूध दिन्छ तर त्यसलाई कसैले चमत्कार मान्दैनन् ।

सत्यमा अभ्यस्त हुनुहोस् । सत्यलाई अपनाउनुहोस् । त्यो सत्य जुन– ‘थियो, छ र रहनेछ ।’ यदि त्यसलाई तपाईँले चिन्नुभयो, बुझ्नुभयो, अपनाउनुभयो भने कुनै पनि यस्तो दुःख हुँदैन जसद्वारा तपाईँ दुःखी हुनुहोस् !

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।

प्रतिक्रिया दिनुहोस्