निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर



काठमाडौं । देशमा सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने स्थायी सरकारका रूपमा रहेका निजामती कर्मचारीहरूले प्रत्येक वर्ष भदौ २२ मा निजामती सेवा दिवस मनाउने गर्छन् ।

सो दिवसमा उनीहरूले सेवा प्रवाह, सुशासन र विकासका विभिन्न नाराहरूसमेत दिने गर्छन् तर व्यवहारमा भने नारा एकातिर, काम अर्कैतिर हुँदै आएको छ । उनीहरूले दिने गरेको सुशासन, विकास र सदाचारिताको नारा व्यवहारमा देखिन मुस्किल हुँदै आइरहेको छ ।

विसं २०६१ भदौ २२ देखि शुरू भएको निजामती सेवा दिवसको यस वर्षको नारा दुई वर्षअघि नै तय भएको ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास समृद्धि र सुशासन’ रहेको छ । विगतमा प्रत्येक वर्ष नयाँ नारा तय हुँदै आएकोमा अझै ३ वर्ष यही नै नारा रहने छ । सरकारले पाँच वर्षसम्म यही नाराअनुसार नै काम गर्ने निर्णय गरेको थियो । कर्मचारीले नाराअनुसार काम गरिदिएको भए मुलुक धेरै अगाडि बढिसकेको हुन्थ्यो । १० वर्षमा नै मुलुकले कोल्टे फेथ्र्यो तर नारा आडम्बरमा मात्रै सीमित हुँदै आएकाले मुलुकले प्रगति गर्नुको साटो दुर्गति झेल्न बाध्य भएको प्रशासनविद्को तर्क छ । निजामती प्रशासनलाई स्थायी सरकारको रूपमा समेत हेर्ने गरिन्छ ।

फरक फरक नारा, कहिल्यै आएन सुशासनको पारा
२०७८–२०७९ व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन
२०७७ स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र प्रशासन
२०७६ सक्षम निजामती प्रशासन ः विकास, समृद्धि र सुशासन
२०७५ नतिजामुखी प्रशासन : समृद्धि र सुशासन
२०७४ निजामती कर्मचारीको प्रतिबद्धता : पारदर्शिता र चुस्तता
२०७३ सेवामैत्री प्रशासन : संघीयतामा सुशासन
२०७२ निजामती सेवाको सपना : समृद्ध नेपालको रचना
२०७१ निजामती सेवाको मान्यता : अनुशासन, इमानदारी र नैतिकता
२०७० सुशासन र सदाचार : निजामती सेवाको आधार
२०६९ जनमुखी प्रशासन : अनुशासन र सुशासन
२०६८ जनतालाई सम्मान र सेवा सुशासनलाई टेवा
२०६७ शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार
२०६६ जनताका लागि प्रशासन
२०६५ जनसेवा हाम्रो प्रतिबद्धता
२०६४ पारदर्र्शी प्रशासन लोकतान्त्रिक प्रशासन
२०६३ लोकतन्त्रको लागि जनमुखी नागरिक प्रशासन
२०६२ सबल प्रशासन, स्वच्छ प्रशासन
२०६१ सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता

१० वर्षअघि २०७० सालमा निजामती सेवा दिवसको नारा थियो सुशासन र सदाचार ः निजामती सेवाको आधार । तर, कर्मचारी प्रशासनले सो नाराअनुसार सुशासन दिन नसकेको र सदाचारितामा पनि बस्न नसकेको पाइएको छ । त्यस्तै, हरेक वर्ष तय भएका सुशासन, सेवा प्रवाह, विकास, सदाचारिता, नैतिकता, पारदर्शीता समेटिएका नारा केबल कागमा मात्रै सीमित हुँदै आएका छन् ।

सरकारका ती सबै नारा नारामै मात्रै सीमित रहेको तर्क गर्दै प्रशासनविद् भन्छन्– ‘निजामती सेवा न त व्यावसायिक, न त सिर्जनशील नै बन्न सकेको छ, न त सदाचारिता, पारदर्शिता र नैतिकतायुक्त नै बन्न सकेको छ । ’

प्रशासनविद् तथा पूर्वसचिव श्यामप्रसाद मैनालीले एक दिन निजामती दिवस मनाएर नारा फुक्दैमा समस्याको समाधान नहुने टिप्पणी गर्दै भन्नुभयो– ‘निजामती सेवा दिवस मनाउन थालिएको वर्षांै भयो । निजामती दिवसका दिन हामी भ्रष्टाचार गर्दैनौँ, सुशासनको पक्षमा लागिरहन्छौँ भन्ने विषयमा प्रतिबद्धता व्यक्त गर्छन् तर सोअनुसारको काम भने हुँदैन । नारा एकातिर काम अर्कोतिर भइरहेको छ ।’

प्रशासनविद् शारदाप्रसाद त्रितालले नारा भनेको नीतिगत मार्गदर्शन भएको हुनाले यसलाई कार्यान्वयन गर्न कानुनका साथै साधनस्रोतको व्यवस्था गरेर मात्र नारा तय गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘कार्यान्वयन नहुने नारा बनाउनु भनेको नौटङ्की मात्र हो ।’

प्रधानमन्त्री टंकप्रसाद आचार्यले वि.सं २०१३ साल भाद्र २२ गते निजामती सेवा ऐनको घोषणा गरेसँगै त्यस दिनको सम्झनास्वरूप वि.सं. २०६१ सालदेखि औपचारिकरूपमा निजामती सेवा दिवस मनाउँदै आइएको छ ।

राजनीतिक नेतृत्व जनताबाट आवधिक निर्वाचनमार्फत् निश्चित अवधिका लागि आउँछ तर कर्मचारी हजारौँसँग प्रतिस्पर्धा गरी आफूलाई अब्बल साबित गरी वर्षौंसम्म जनतासँग निकट भएर काम गर्दै आएका हुन्छन् । तथापि, निजामती कर्मचारीले निष्पक्ष रूपमा कानुनअनुसार विधिसम्मत ढंगबाट नभई राजनीति दबाब र प्रभावमा रहेर कार्यसम्पादन गर्नुपर्ने स्थिति छ । त्यसैले, कर्मचारी संयन्त्रले निष्पक्षतापूर्वक काम गर्न सक्ने अवस्था नरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्