गायक थापालाई सहयोग



सिन्धुपाल्चोक।

चर्चित गायक रेशम थापाको उपचारका लागि उनका गाउँबासीले आर्थिक सहयोग गरेका छन्।
काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका थापाको उपचारका लागि धेरै रकम लाग्ने भएपछि गाउँवासीले चन्दा उठाएर सहयोग गरेका हुन्।

लोकदोहोरी, घाँसेलगायत गीतबाट चर्चा बटुलेका काठ क्षेत्रका चर्चित गायक तथा सर्जक थापाको उपचारका लागि एक लाख ४३ हजार तीन सय ७० रुपैयाँ संकलन गरेर सहयोग गरिएको दीपक थापाले बताए।

उनको उपचारका लागि बलेफी गाउँपालिका–१ जलवीरेका अध्यक्ष हुपबहादुर खड्का, राप्रपाका नेता दीपक थापा र जलवीर युवा क्लबका पदाधिकारीले सहयोग रकम संकलन गरेका थिए।

‘राष्ट्रमै चिनिएका हाम्रा गाउँका गहनालाई उपचारमा धेरै रकम लाग्ने सुनेपछि केही सहयोग गर्न रकम संकलन गरेका थियौं। सोहीअनुरूप संकलित रकम सहयोग गरेका होँ राप्रपाका नेतासमेत रहेका दीपले भने।

उच्च रक्तचापका कारण अस्वस्थ भएपछि सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–२ बतासे बालुवा टोल स्थायी घर भएका थापालाई भदौ १० गते अस्पताल भर्ना गरिएको थियो। चिकित्सकले उनको शरीरको आधा भागमा प्यारालाइसिस भएको र मस्तिष्कको नशामा असर परेकाले शल्यक्रिया गर्नुपर्ने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्