मधेसमा वित्तीय पहुँच बढ्दो



कृष्णउदास खनाल

कोरोना महाहारीका कारण थला परेको मधेसको आर्थिक अवस्था उठ्ने तरखरमा रहेप नि फेरि रुस र युक्रेन बीचमा भएको संघर्षका कारण अझै तग्रिन सकेको छैन । गत आर्थिक वर्षमा ऋणात्मक रहेको मधेस प्रदेशको आर्थिक अवस्था चालु आर्थिक बर्षमा भने बढ्ने अनुमान गरिएको छ ।

मधेश प्रदेशको अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो प्रदेशको अहिलेको आर्थिक वृद्धिदर १ दशमलभ ९० प्रतिशत छ । मधेश प्रदेशको आर्थिक अवस्था कमजोर भएसंगै यहाँको प्रतिब्यक्ति आय पनि कम छ । यो प्रदेशको प्रतिब्यक्ति अन्य प्रदेशको तुलनामा सबैभन्दा कम अथवा ८ सय ७५ डलर मात्रै रहेको छ ।

मधेसको कुल गार्हस्थ उत्पादन उपभोक्ताको कुल मुल्यमा करिब ७ खर्ब ७ अर्ब रुपियाँ रहने समेत अनुमान गरिएको छ । औद्योगिक वर्गीकरण अनुसार मधेस प्रदेशको सबैभन्दा बढी कुल गार्हस्थ उत्पादनमा योगदान कृषि, वन तथा माछापालनमा छ ।

नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाले दिएको जानकारी अनुसार मधेस प्रदेशमा पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाहरुको पहुँच पनि बढेको छ । खासगरी अघिल्लो स्थानीय तहको निर्वाचनपछि भने मधेसमा पनि बैंक तथा बित्तीय संस्थाहरुको पहुँच बढेको हो । मधेशका १३६ स्थानीय तहमै बैंकहरुले अहिले सेवा दिइरहेका छन् ।

मधेशमा सबै बर्गको बैंक तथा बित्तीय संस्थाहरु ४७ दशमलभ ८ प्रतिशत रहेको छ । मधेश प्रदेशमा लघुजित्तहरुको संख्या पछिल्लो चार वर्षमा करिब ६८ प्रतिशतले बढेको छ । प्रदेशमा लघुवित्त संस्थाहरुको उपस्थिति पनि बढेको छ । मधेशमा अन्य क्षेत्रभन्दा लघु बित्त संस्थाहरुको लगानी कृषिमा अधिक देखिएको छ ।

मधेशमा यी संस्थाको ४८ प्रतिशत लगानी कृषिमा रहेको छ । मधेस प्रदेशमा उत्पादक,उपभोक्ता तथा वित्तीय, बहुउद्देश्य तथा सेवा गरी कुल सहकारीको संख्या भने ४ हजार १५३ वटा रहेको छ भने सहकारी संस्थामार्फत ५ लाख ५५ हजार १७९ जनाले व्भििन्न व्यसाय संचालन गरिरहेको देखिन्छ ।

मधेशमा जीवन बीमा गराउनेहरु पनि बढेको देखिन्छ । यो आर्थिक वर्षको भदौसम्ममा १४ प्रतिशत बीमाको संख्या रहेको छ । यस्तै निर्जीवन बीमाको संख्या पनि करिब १४ प्रतिशत रहेको छ । मधेश प्रदेशको मुख्य बालीको रुपमा भने धान नै रहेको छ । मधेश प्रदेशमा सबैभन्दा बढी खेती उत्पादन हुने जमिनको रुपमा सर्लाही र महोत्तरी रहेको पाइन्छ ।

सिंचाईको पहुचका हिसावले मधेशको सबैभन्दा बढी रौतहटमा छ भने कम सप्तरी जिल्लामा रहेको पाइन्छ । धान खेती भने महोत्तरी बाहेक सबै जिल्लामा उत्पादन उस्तै छ । गहुँ खेती यो प्रदैशमा सबैभन्दा बढी धनुषामा भएको देखिन्छ भने कम महोत्तरी जिल्लामा देखिन्छ । बारा जिल्ला यो प्रदेशको सबैभन्दा बढी मकै उत्पादन हुने जिल्लामा पर्छ भने कममा रौतहट जिल्ला छ । नगदे बालीको रुपमा पनि यो प्रदेशमा उखु रहेको छ ।

उखु सबैभन्दा बढी सर्लाही जिल्लामा उत्पादन हुन्छ भने कम पर्सामा । यस्तै पर्सा जिल्लामा सबैभन्दा बढी सुर्ती उत्पादन भएको तथ्यांक छ । मधेश प्रदेशमा दलहन,फलफुल तथा तरकारी गरी सरदर बर्षमा १४ लाख बढी मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । यस्तै मधेशका जिल्लाहरुमा सबैभन्दा बढी क्षेत्रफल वनको पर्सामा पर्छ भने त्यसपछि बारा पर्छ ।

मानव विकास सुचाकांकको अवस्था हेर्ने हो भने गरिबीको अवस्था मधेश प्रदेशमा एकदमै डरलाग्दो रहेको छ । देशको कुल गरिबी मध्य मधेशमा करिब १४ लाख मानिसहरु गरिब रहेको अर्थमन्त्रालय मधेश प्रदेशको तथ्यांकामा उल्लेख छ ।यो संख्या मधेशमा गरिबीको संख्या पनि यो सबैभन्दा बढी हो ।यद्यपी मधेशमा हरेक तीनजनामा एकजना गरिबी रहेको अवस्थाबाट सुधार भएर पाँचजनामा एकजना गरिब रहेको अब सरकारी तथ्यांक छ ।

भौतिक पुर्वाधारमा अगाडि नै रहेको मधेशमा उधोगहरुको अवस्था पनि संतोषजनक नै छ । यो प्रदेशमा ६ सय ११ वटा उधोगहरु रहेका छन । यो प्रतिशमा उधोग क्षेत्रमा मात्रै १ खर्ब,७० अर्बको लगानी रहेको छ । यी उधोग मार्फत यो प्रदेशमा चारलाख जनाले रोजगारी पाइरहेका छन ।

समग्रमा मधेश प्रदेशमा अहिले आर्थिक गतिबिधि बढेको छ । राजनीतिक स्थिरतासँग आर्थिक गतिबिधि पनि सरोकार रहने भएकाले पहिला राजनीतिक स्थायीत्व आवश्यक देखिन्छ । बैदेशिक रोजगारी समेत मधेशका नागरिकहरुको गन्तब्य बनेको पनि देखिन्छ । तीन तहका सरकार आएपछि धेरै हदसम्म सुधार मधेशको आर्थिक अवस्था सुधार ल्याउनका लागि अझै पनि ठोस नीति भने बनाउन आवश्यक छ ।

अझै पनि मधेशको ठुलो जनसंख्या गरिबीको रेखामुनी रहेकाले यसको दर घटाउनका लागि पनि सरकारले नीति बनाउन आवश्यक देखिन्छ । यहाँका मानिसहरुको जीवन स्तर सुधार गर्नका लागि कृषिमा पनि लागनी आवश्यक देखिन्छ । यस तर्फपनि सबै स्थानीय, प्रदेश तथा संघीय सरकारले ध्यान दिएको खण्डमा मधेश प्रदेशको जीवन स्तर फेरिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्