नवीकरणीय ऊर्जा प्रवर्द्धन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं ।

नवीकरणीय उर्जा प्रविधि वैकल्पिक उर्जाका श्रोतको रुपमा रहेका मूलधारको स्तरमा समेत स्थापित नवीकरणीय उर्जा प्रविधिलाई व्यापक रुपमा उपयोग गरी जलवायु परिवर्तन, वातावरण संरक्षण, वन जंगल संरक्षण, कृषि व्यवसाय प्रवद्र्धन, जनस्वास्थ्य, औद्योगिकरण, उद्यमशीलता अभिवृद्धि,  स्वच्छ उर्जामा आधारित यातायात व्यवस्थापन गर्न संयुक्त कार्यक्रमहरु सञ्चालन गर्न केन्द्र र पसिंघबिच समझदारीपत्रमा हस्ताक्षर  भएकाे छ  ।

केन्द्रको तर्फबाट केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र परिसंघको तर्फबाट परिसंघका अध्यक्ष गुणराज ढकालले हस्ताक्षर गरेका छन् ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल नवीकरणीय उर्जा परिसंघ आपसी साझेदारीमा विभिन्न गोष्ठी, सेमिनार, कार्यशाला, अध्ययन अनुसन्धान समीक्षा, प्रशिक्षण कार्यक्रमहरु समन्वयातात्मक शैलीमा सञ्चालन गर्दै आएका छन् ।

नेपालको सन्दर्भमा जलविद्युत, सोलार विद्युत, सोलार तापीय उर्जा, बायोग्यास, बायोमास र सुधारिएका चुल्हाहरु, वायु उर्जा नवीकरणीय उर्जा प्रविधि हुन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र २६ वर्ष अघि स्थापना गरिएको हाल उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको नेपाल सरकारको निकाय हो ।

विगतका वर्षहरुमा जलविद्युत, सोलार विद्युत, सोलार तापीय उर्जा, बायोग्यास, बायोमास र सुधारिएका चुल्हाहरु, वायु उर्जाका प्रविधिहरु प्रवद्र्धनका लागि केन्द्रले समुदाय र व्यक्तिगत स्तरमा प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । त्यस केन्द्रको हालसम्मको योगदानलाई उर्जा क्षेत्रमा उललेखनीय मानिएको छ ।

नेपाल नवीकरणीय उर्जा परिसंघमा निजी क्षेत्रकानवीकरणीय उर्जा क्षेत्रमा कार्यरत विभिन्न छाता संगठनहरु र पेशागात विज्ञहरु परिसंघमा आवद्ध रहेका छन् । साथै, प्रविधिको प्रवद्र्धन, क्षमता अभिवृद्धि, लगानी व्यवस्थापन, नीति निर्माणका लागि परिसंघले आधार तयार गर्दै आएको छ ।

उक्त अवसरमा केन्द्रका कार्यकारी निर्देशक ढकालले परिसंघको औचित्य र योगदानको प्रशंसा गर्दै समुदाय र उपभोक्तालाई लाभ हुने भएकोले संयुक्त कार्यक्रमहरु सञ्चालन गर्नु उपयुक्त हुने बताए  ।

त्यसैगरी परिसंघका अध्यक्ष ढकालले जलवायु परिवर्तनको असर कम गर्न, वातावरण संरक्षण गर्न, जनस्वास्थ्यको स्तर सुधार गर्नका लागि नवीकरणीय उर्जा प्रविधिहरु अझै व्यापकरुपमा परिचालन गर्नु आवश्यक छ । संघले निजी क्षेत्रलाई परिचालन समेत गरेर योगदान दिनुपर्ने भएकोले केन्द्रसँगको सहकार्य अझ सुदृढ हुनुपर्ने र निजी क्षेत्रको प्राविधिक विज्ञता र क्षमतालाई सदुपयोग गर्न परिसंघले केन्द्रका साथ सहकार्य गर्ने बताए ।

केन्द्रका निर्देशक डा. नारायण प्रसाद अधिकारीले सञ्चालन गरेकाे उक्त हस्ताक्षर कार्यक्रममा नवीकरणीय उर्जा प्रविधि विकासका लागि क्रियाशील व्यक्तित्वहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा केन्द्रका बोर्ड सदस्य एवं जल तथा उर्जा परामर्शदाता संघ नेपालका अध्यक्ष कुशल गुरुङ, नेपाल लघु जलविद्युत विकास संस्थाका अध्यक्ष श्रीराम अधिकारी, नेपाल बायोग्यास प्रवद्र्धन संघका वरिष्ठ उपाध्यक्ष यब बहादुर थापा, नेपाल सौर्य विद्युत उत्पादक संघका महासचिव ओम केसी लगायतका वक्ताहरुले केन्द्र र परिसंघको सहकार्यबाट नवीकरणीय उर्जा प्रविधि विकास गर्न सकिने र यस्ता कार्यक्रमहरुमा निजी क्षेत्रले पनि व्यवसायिक रुपमा अधिकतम योगदान दिनसक्ने भएकोले अबका नीति तथा कार्यक्रमहरु निजी क्षेत्र मैत्री बनाउँदा सबैको लक्ष्य पुरा हुने बताए  ।

प्रतिक्रिया दिनुहोस्