सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम



बैतडी । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो ।

दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेको छ ।”

पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा प्रदेशमा छ सय ८० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भइसकेको छ । सम्पर्क व्यक्ति जोशीका अनुसार जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५, मे महिनामा २२, जुनमा २६, जुलाइमा ५८ र अगस्तमा तीन सय ५३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा दुई सय ३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै दार्चुलामा एक सय ९४, कञ्चनपुरमा एक सय २३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

“सङ्क्रमणका कारण यस वर्ष सुदूरपश्चिममा कोहीले पनि ज्यान गुमाउनु परेको छैन । गत वर्ष प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो”, सम्पर्क व्यक्ति जोशीले भन्नुभयो ।

अरु महिनाभन्दा अगस्तमा डेङ्गु सङ्क्रमितको सङ्ख्या अधिक बढेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समय भएकाले बिरामीको सङ्ख्या बढेको हो ।

उहाँले भन्नुभयो, “तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ । यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ ।” डेङ्गुबाट सङ्क्रमण हुन नदिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।

प्रतिक्रिया दिनुहोस्