एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटब्युरो जियाजुनबीच भेटवार्ता



चीन।  

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहेका  नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच आज भेटवार्ता भएको छ ।

चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटवार्ता भएको हो ।

भेटका क्रममा पोलिटब्युरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताए ।  उनले नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गरे।भने  ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुसी छौं ।’

केपी ओली देशभक्त नेताको रुपमा पाएँ : जियाजुन

नेता जियाजुनले नेकपा (एमाले) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भबिष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदानप्रदान जारी राख्नु पर्ने बताए ।

नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रुपमा पाएको बताए ।

गत साउनमा आफ्नो नेपाल भ्रमणका क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तीव्र चाहना पाएको उल्लेख गर्दै  जियाजुनले नेपालको बिकासमा सहयोगका लागि चीन तत्पर रहेको बताए ।

आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरीबीचको असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसका लागि छोङछिङको सफल अनुभव रहेको बताए । उनले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने र नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले दक्षिण एशियाको गरिबी निवारणका लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको बताए ।

धान उत्पादनका लागि छोङछिङ प्रसिद्ध रहेको बताउँदै उनले नेपालको कृषिको आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताए । कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अवसर दिने उनले बताए ।

नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिका : महासचिव पोखरेल 

महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताएका बताए ।

 भृकुटी र अरनिकोदेखि नै जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्दै   सन् १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्ध महत्वपूर्ण रहेको स्मरण गरे  ।

एमाले महासचिव पोखरेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले नेपालको राष्ट्रिय स्वाधिनता र गौरवमा वृद्धि गरेको बताए ।

‘भृकुटी र अरनिको समयदेखि नै जनस्तरको सम्बन्ध रहेको छ । चीनको क्रान्तिका बारेमा बुझ्न नेपाली नेताहरूले तीन महिना हिँडेर पनि आफ्नो अनुभव लिएका थिएका थिए । सन् १९५५ मा मनमोहन अधिकारीको चीन भ्रमण गर्नुभएको  थियो   र मदन भण्डारीको चीनको भ्रमणले पनि विचार निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको थियो । केपी शर्मा चीनसँग पारवहन सम्झौता तेस्रो देशमा जाने बाटो र राष्ट्रिय स्वाधिनता र गौरव बढायो,’ महासचिव पोखरेलले भने  ।

जनताको बहुदलीय जनवादका प्रर्वतक जननेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको बताए  ।

महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनबीचको व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेश्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । यसले नेपालको स्वाधिनता र स्वाभिमानको पाटोमा गौरव बढाएको बताए।

उनले  राष्ट्रपति सीजिनपिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरुको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताए ।

 महासचिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव पनि राखे  ।

भेटमा नेकपा (एमाले) विदेश विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरु सहभागी थिए  ।

प्रतिक्रिया दिनुहोस्