उदयपुरमा लम्पिस्किन रोगविरुद्ध एलएसडी खोप



Close up of veterinarian hand holding syringe in front of cow on ranch

उदयपुर । जिल्लाको भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र गाईघाटले लम्पिस्किनविरुद्ध एलएसडी खोप अभियान शुरू गरेको छ । अस्ति (आइतबार)देखि उक्त रोगबाट प्रभावित गाई–भैसीका लागि खोप अभियान शुरू गरेको हो ।

उदयपुरमा चैतदेखि घरपालुवा पशुचौपाया गाई–भैसीमा लम्पिस्किन रोग देखा परेको थियो । त्यसयता उक्त रोगबाट करिब ६ सय गाई, भैसी गरेको पशुसेवा केन्द्र गाईघाटले जनाएको छ ।

जिल्लाका सबै पालिकासँग समन्वय गरेर बढी प्रभावित क्षेत्रमा भ्याक्सिन दिने काम भईरहेको भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख रामनारायण साहले बताए ।

साहका अनुसार उदयपुरमा करीब ३५ हजार गाई, भैसी लम्पिस्किन रोगबाट प्रभावित छन् भने करीब ६ सय मरेका छन् । यस रोगबाट झन्डै ९५ प्रतिशत गाई र ५ प्रतिशत भैसी प्रभावित छन् ।

सबैभन्दा बढी बेलका नगरपालिकामा यो रोग देखा परेको छ । त्यस्तै लिम्चुङ्बुङ गाउँपालिकामा भने हालसम्म उक्त रोग देखा परेको छैन ।

साहले दिएको जानकारीअनुसार सदरमुकाममा रहेको त्रियुगा नगरपालिकामा मात्रै १ हजार ५ सय ५६ पशुचौपाया लम्पिस्किनबाट बिरामी परेका छन् । यस पालिकामा करीब ६० गाई, भैसी मरेका छन् भने ६ सय ५० पशुचौपायालाई लम्पिस्किनविरुद्ध खोप लगाईएको छ । यस रोगबाट सबैभन्दा बढी गाई संक्रमित छन् ।

यो रोग विस्तारै नियन्त्रणमा आएको भए पनि खोप अभियानलाई निरन्तरता दिईने बताईएको छ । रोग नियन्त्रण तथा खोप अभियानका लागि प्रदेश सरकारले ५ लाख र संघ सरकारले १ लाख बजेट पठाएको भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख साहले बताए ।

प्रतिक्रिया दिनुहोस्