जब जोशमा बोल्दा गोली हानिदिन्छु भनिदिएँ– मोहन निरौला



अहिले देशमा जताततै भ्रष्टाचारका मुद्दा उठेका छन्। भ्रष्टाचारले देशलाई थिलो थिलो बनाएको छ। मैले भने आजभन्दा तीन दशकअघि नै भ्रष्टाचारको विषयलाई लिएर तपाईंहरू बन्दुक दिनुहुन्छ भने नेताहरूलाई गोली हानिदिन्छु भनेका कारण राज्यको प्रहार खेपेको छु।

२०५७ साल असार २३ गते दामोदरलाल अध्यक्ष भएको राष्ट्रवादी मोर्चाले भृकुटी मण्डपमा कार्यक्रम गरेको थियो। त्यो बेला सन्तोष पन्तलगायत मलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा पूर्व अधिराजकुमार धीरेन्द्र शाह पनि हुनुहुन्थ्यो। इला शर्मा जोपछि निर्वाचन आयुक्त हुनुभयो, उहाँको श्रीमान् इन्सपेक्टर हुनुहुन्थ्यो र माओवादीद्वारा मारिनुभएको थियो। सरकारको अर्कमण्यताको कारणले उनी मारिए भन्ने सन्र्दभमा मैले त्यहाँ केही कुरा उठाएको थिएँ। गिरिजाप्रसाद कोइरालाको सरकार भ्रष्टाचारमा लिप्त छ भन्दै त्यति बेला माओवादीले भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको थियो। मैले तीनै सन्दर्भलाई लिएर कार्यक्रममा आप्mनो कुरा राखेको थिएँ। बोल्ने क्रममा यदि, तपार्इंहरु बन्दुक दिनुहुन्छ भने म नेताहरूलाई गोली हानिदिन्छु भनेर तीन जनाको नाम लिएको थिएँ। मैले कार्यक्रमअघि नै यस्तो बोल्छु, उस्तो बोल्छु भन्ने केही योजना बनाएको थिइनँ। के बोल्ने भन्नेबारे सोचेकै थिइनँ। जे–जे बोलेँ, भनेँ त्यो सबै एकाएक हुन पुगेको थियो। कुनै पूर्व योजना बनाएर बोलेको थिइनँ। बोल्दै जाँदा मैले गिरिजाप्रसाद कोइराला, विजय गच्छदार र गोविन्दराज जोशीको नाम लिएको थिएँ।

यही कुरालाई एक दैनिक पत्रिकाले मेरो नाम उल्लेख गर्दै सरकारको आदेश पाए गोली हान्दिन्छु भन्यो भनेर फस्ट पेजमै लेख्दियो। दुई दिनसम्म त मेरो अभिव्यक्तिलाई लिएर कहीँ कतैबाट केही प्रतिक्रिया आएन। तेस्रो दिन सदनमा सूर्यबहादुर थापाले राजाहरूले जनप्रतिनिधिलाई मार्ने उद्घोष गर्न मान्छे प्रयोग गरिरहेका छन् भन्दै मेरो अभिव्यक्तिको सन्दर्भ निकालेपछि भने हलचल भयो। हुँदा हुँदा मेरो अभिव्यक्ति इन्टरनेसनल न्युज नै बन्न पुग्यो। दुई दिनपछि तत्कालीन नेवि संघका कार्यकर्ता मेरो अफिसमा आउनुभयो र दाइ तपाईंलाई छिट्टै पक्रिन्छन् र कोल्याप्स नै गर्दिन्छन् भने। मैले उनीहरूले त्यतिकै भनेका होलान् भन्ठानें र त्यसलाई सामान्य रूपमा लिएँ। बेलुका घर पुगँे, दिउँसोको कुराले सशंकित भएर गेटमा चाबी लगाउन भनेँ। राती ९ साढे नै बजे तत्कालीन डीएसपी रमेश खरेलको नेतृत्वमा प्रहरी टोली आएर मेरो घर घेरेछ। अनामगरस्थित मेरा घर आठवटा जति प्रहरी भ्यानले घे¥र्यो। मलाई भने कहाँ जाने भनेर दिमागमा केही आएन र तीन तल्ला माथिबाट पल्लो घरमा हाम फालेर नारायण राज गुरुघरानाको घरमा पुगेँ। मलाई त्यति बेला नै भेट्टाएको भएचाहिँ ठूलै कारबाही गर्थे होलान् अथवा मारिदिन्थे होला। म त्यहाँबाट उम्किएर त्यो रात त्यहीँ बसेँ र दाह«ी काटेँ। भोलिपल्ट उनको छोराको सर्ट मागेर लगाई ट्याम्पु चढेर कुसुन्तीमा रहेको शान्ती मास्के (अभिनेत्री) दिदीको घरमा गएँ। दिदी यस्तो यस्तो भएकोले म तपाईंकहाँ आएको हो, म केही दिन यहीँ बस्छु भनेँ। उहाँले पनि सामान्य ढंगले मलाई त्यहाँ बस्ने अनुमति दिनुभयो।

म लगभग १३÷१४ दिन त्यहाँ बसेँ। म कहाँ छु कसैलाई थाहा थिएन। त्यति बेला तत्कालीन राजा वीरेन्द्र विदेशमा भएकाले दीपेन्द्रले कार्यवाहकका रूपमा राज्य चलाएका थिए। त्यति नै बेला मोहन निरौला सोल्टीको पाँच सय ६ नम्बर कोठामा धिरेन्द्रसँग लुकेर बसेको छ भन्ने समाचार आएका थिए। फिल्म लाइनमा सक्रिय हुँदा कहिल्यै पनि मेरो बारेमा पत्रपत्रिकाको पहिलो पेजमा न्युज आएको थिएन, तर त्यो बेला व्यापक आयो। म केही पत्रकारसँग सम्पर्कमै थिएँ। तर, प्रहरीले ट्रयाक गर्न सक्छ भनेर कसैलाई फोन सम्पर्कचाहिँ गरिनँ। पछि कलाकार स्व. रवि शाहले मेरो बारेमा स्पष्ट पार्नका लागि पुतली सडकमा प्रेस सम्मेलन पनि गरेका थिए। प्रेस सम्मेलनमा मलाई पनि बोलाइएको थियो, तर म गइनँ। उता माओवादी, कांग्रेसीहरूले पनि तपाईं बाहिर निस्किनुस् हामी तपाईंसँग छौँ भनेका थिए। केही साथी शुभचिन्तकले चाहिँ बन्दी प्रत्यक्षीकरणमा रिट दिनपर्छ भन्नु भएपछि कृष्ण पहाडी, बालकृष्ण न्यौपानेहरूसँग कुरा गरेँ। तर, उनीहरूले तपाईंले राज्यद्रोह गर्नुभएकाले यो केस हामी लिन सक्दैनौँ भन्नुभयो। पछि वकिल रामजी विष्टले चाहिँ सर्वोच्च अदालतमा रिट दिए अनि स्टे अर्डर जारी भयो र पन्ध्रौँ दिनमा म शान्ति दिदी कहाँबाट निस्किएर बार एसोसिएसनमा सार्वजनिक भएँ। त्यति बेला मलाई हिजोआजका कुरामा खेल्ने कलाकार अनिल पाण्डेले सहयोग गरेका थिए, जो अहिले अमेरिकामा छन्। त्यहाँ सार्वजनिक भएपछि मोहनजी अलि छिटो जाऊँ, पुलिस आएजस्तो छ भनेर कलपोखरीस्थित एक होटलमा लानुभयो। एक रात त्यहिँ बसियो। भोलिपल्ट अफिस (परिवर्त नेपाल) गए“ र घर गएर एक रात सुतेँ।

अर्को दिन नेपाल चलचित्र कलाकार संघको चुनावमा भोट हालेर वसुन्धरा भुसाललाई जिताइयो। त्यो दिन म नगएको भए वसुन्धरा दिदीले जित्नु हुन्थेन। अर्को दिन आइतबार परेको थियो, अफिस गएको थिएँ। एकछिनमा एक असई र पाँच सातजना मान्छे आएर सिहंदरबारमा इन्स्पेक्टर सापले बोलाउनुभएको छ भने। मैेले खाना खान सक्छु भनेर सोधेँ। अफिसमै खाना खाएर उनीहरुका साथ सिंहदरबार गएँ। इन्सपेक्टरले खुसी भएर स्वागत गरे र एसपी कार्यालयमा फोन गरे। उताबाट गाली गरेछन् क्यार–उनी जति कुरा गर्दै जान्थे, उति आतिइरहेका थिए। सरी दुई माथिको आदेश मान्नुपर्छ तपाईं एकछिन तल खोरमा बस्नुपर्छ भने। योसँगै उनको व्यवहार परिवर्तन भयो। त्यतिबेलासम्म सिंहदरबार वरिपरि हाम्रा मान्छे, कलाकारहरू जम्मा हुन थालिसकेका थिए। म बाहिर निस्कँदा भने कोही थिएन। त्यहाँबाट मलाई व्यापक सेक्युरिटिसहित हनुमानढोका लगियो। संयोगले त्यहाँको इन्सपेक्टर मेरो ससुराली सिफलको मान्छे रहेछन्। उनले बिस्कुट र चिया खुवाए, राम्रो व्यवहार गरे र थुन्ने ठाउँमा लगे। म त्यहाँ आउँदैछु भन्ने सबैलाई थाहा रहेछ, त्यसैले उनीहरू सबै खुसी भए। मैल लुगा सुगा केही बोकेको थिइनँ, त्यसै सुतियो। मलाई कहाँ लगियो भन्ने कुराले घर–अफिस सबै तिर चिन्ता भएछ। पछि कलाकार काली सेढाईंले यादव खरेल दाइलाई मोहन सर कता छन् बुझिदिनुप¥यो भनिछन्। उनले कल गरेपछि यादव दाइले मेरो अवस्थाबारे बुझेर घरमा फोन गरेर डीएसपी कार्यलयमा राखिएको छ भन्ने जानकारी दिनुभएछ।

जिन्दगीमा कहिल्यै हतकडी लगाएको थिइनँ, त्यसैले पहिलोपटक हतकडी लगाईदा मेरो सातो गयो। मानिसहरू तपार्इं चिन्ता नलिनु, जताततै तपाईको समाचार आएको छ भोलि तहल्का मच्चिन्छ भनेर सहानुभूति दिइरहेका थिए। त्यतिबेला विहान छापिएर दिउँसो रिप्रिन्ट गरिने एक पत्रिकाले म पक्राउ परेको समाचार निकालेछ। भोलिपल्ट सबै पत्रिकामा मलाई हतकडी लगाएर लगेको समाचार आयो। त्यसलाई हेरेर मोहन निरौलालाई रिहा गर भन्दै जुलुस निस्किएको थियो। सायद त्यो जुलुस राष्ट्रवादी समूहको हुनुपर्छ। भद्रकाली पुग्दा तीन चार सयजना मान्छे थिए। मलाई सरकारी वकिलको कार्यालय पु¥याएर बयान लिइयो र अदालतमा बयान लिएपछि न्यायधिसले प्रहरीलाई उहाँले गिरिजा प्रसादलाई मार्छु भनेकोमा कानुनी प्रमाण छ भनेर सोध्दा प्रहरीले छैन भनेपछि छोडिदिए। तर, पहिला तिम्रो पक्षमा छौं भन्ने मान्छेहरू मेरोविरुद्ध भए। पछि बुझ्दै जाँदा राजा वीरेन्द्रले देश फर्केर दीपेन्द्र सरकारलाई सोेधनी भएको रहेछ र सरकारले यो कुरालाई इजिली लिनुभएको रहेछ। सूर्य बहादुरहरूले चाहि“ यसले विद्रोह गर्न थाल्यो भनेर सदनमा कुरा उठाएका रहेछन्।

कलाकार संघको पछिल्लो चुनावमा पनि गिरिजालाई गोली हान्छु भन्ने मोहन निरौलालँई हामी किन समर्थन गर्ने, ऊ डेमोक्रेटिक होइन भन्ने कुरा उठाएका थिए। तर, वास्तवमा म भ्रष्टाचार तथा बेतिथिहरूको बारेमा बोलिरहन्थे, त्यो पनि त्यसकै निरन्तरता थियो। त्यो बेला रविन्द्र मिश्र, बाबुराम भट्टराई, माधव नेपाल आदिले मोहन निरौलाले ठीक भन्यो भनेर आर्टिकल लेखेका थिए। वास्तवमा म संस्थामा आस्था राख्ने व्यक्ति हुँ, मेरो राजासँग चिनजान नै छैन। त्यसो त पञ्चायत कालमा पनि मैले राजकाज मुद्दा भोगेको छु। केही समयपछि त्यसबाट सफाइ पनि पाएँ। शान्ति दिदीकहाँ बसेको कुराचाहिँ उहाँ बितेपछि मात्र एक्सपोज गरेँ।

(नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, कलाकार, लेखक, निर्देशक तथा पूर्वपत्रकार निरौलासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्