अमेरिकी सिनेटर र ओलीबीच भेट- एमसीसी र शान्ति प्रक्रियाबारे चासो

0
Shares

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो भएको भेटवार्तामा एमसीसी सम्झौता र नेपालको शान्ति प्रक्रियाबारे कुराकानी भएको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।

भेटमा होलेनले दुई देशबीचको सम्बन्ध विस्तार र सहयोग आदान प्रदानलाई निरन्तरता दिँदै अघि बढ्न अमेरिका तयार रहेको बताएका थिए । साथै उनले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ भनेर चासो समेत राखेका थिए । त्यसक्रममा उनले एमसीसी कार्यान्वयनमा गएकोमा नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई धन्यवाद दिएका थिए । जवाफमा अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन आफू प्रधानमन्त्री भएकै बेलादेखि सो सम्बन्धी विधेयक अघि बढाएको बताएका थिए ।

‘शान्ति प्रक्रिया हाम्रो सरकारको हुदाँ नै यसलाई टुंगोमा पुर्‍याउने प्रयास गरेको हाम्रो अध्यक्ष तथा संसदीय दलको नेताले प्रष्ट राख्नु भयो । अहिले पनि संसदमा विधेयक आइसकेको छ । अव अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालत र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया पीडित मैत्री हुनेगरी टुंगोमा पुग्नु पर्छ’, ओलीको भनाइ उद्धृत गर्दै नेता नेम्वाङले जानकारी दिए ।

भेटवार्तामा एमालेका उपमहासचिव विष्णु रिमाल र अन्जान शाक्य समेत सहभागी थिए । होलेनसँग नेपालस्थित अमेरिकी दूतावासका अधिकारी समेत थिए । गत शुक्रबार नेपाल आएका होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य रहेका छन् । हेलेनले आइतबार नै सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गरेका छन् ।