काठमाडौंमा साइकल चलाउने ठाउँ छैन, कोठामा पाङ्ग्रा नभएको चलाउँछु : हरिवंश आचार्य

0
Shares

काठमाडौँ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन्।

काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले शहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताएका हुन्।

उनले काठमाडौंमा सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताउँदै आचार्यले स्वच्छ वायुका लागि पनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

मानव स्वास्थ्यका लागिपनि साइकल यात्रा उपयुक्त हुने बताउँदै उनले साइकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताए।

‘पहिलो सवारी साधन काठको बनाएको थियो रे। नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दोरहेछ। मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतिक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ,’ उनलेल भने, ‘तर, म हरेक दिन एक घण्टा साइकल चलाउँछु। एक घण्टा साइकल नचलाईकन मलाई चित्त नै बुझ्दैन। तर, साइकल कहाँ चलाउँछु कोठामा पाङ्ग्रा नभएको साइकल चलाउँछु। पसिना निकाल्छु, तर, मलाई साँच्चिकै पाङ्ग्रा भएको साइकल चलाएर हिँड्न मन लाग्थ्यो।’

उनले सडकका नयाँ संरचनाहरु बनिरहेपछि साइकल लेन छुट्टयाउन कन्जुस्याँई गरिएको आचार्यको भनाई छ। उनले आफूसँग साइकल चलाउने सीप चएप्नि साइकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताए।

‘केही समय अगाडी पोखरामा साइकल र्‍याली हुँदाखेरी ३५ किलोमिटर साइकल चलाएको हो। साइकल चलाउन सक्छु तर, साइकल चलाउने ठाउँ छैन। साइकल चलाउने ठाउँको साह्रै ठूलो अभाव छ। साइकल चलाउँदाखेरी ज्यानको माया मारेर चलाउनुपर्छ। मोटरसाइकलले कामलाई छिटो त बनाइदिएको छ तर, मोटरसाइकलले संसारलाई नै प्रदुषित गर्दिसक्यो,’ आचार्यले भने।