९५ हजार नक्कली नोटसहित तीन जना पक्राउ

0
Shares

हेटौँडा ।

 प्रहरीले हेटौँडा–१५ बाट बिहीबार राति करिब ९ः३० बजे ९५ हजार नक्कली नेपाली रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले रौतहटको कटहरिया नगरपालिका–६ का १९ वर्षीय धर्मेन्द्र महरा, कटहरिया नगरपालिका–१ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ४० वर्षीय विजय तामाङलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटेबाट प्रवनानि मञ्जुकुमारी रानाको कमाण्डमा खटिएको टोलीले पैदलयात्री महरा र दासलाई चेक गर्दा महराको साथबाट नेपाली नक्कली रुपियाँ एक हजार दरका ९५ थान फेला पारेको हो । उनलाई नियन्त्रणमा लिई इप्रका पशुपतिनगरमा राखिएकोमा थप अनुसन्धान तथा सोधपुछ गर्दा उनले तामाङबाट ल्याएको बताएपछि घरमा इप्रका पशुपतिनगरबाट प्रनि दिनेशबहादुर कुँवरको  कमाण्डमा टोली खटिएर नियन्त्रणमा लिइएको हो ।

महरा र दासलाई हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरनजिकहिंडीरहेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनीहरुको खानतलासी गर्दा महराको साथबाट उक्त परिणामको नक्कली नेपाली रुपियाँ  बरामद भएको प्रवक्ता कार्कीले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा सोधपुछ गर्ने क्रममा राक्सिराङका तामाङले उक्त नक्कली रुपियाँ  दिएको सूचना दिएपछि प्रहरीले तामाङलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।