सोह्रौँ पुस्तकालय दिवस भव्यरुपमा सम्पन्न



काठमाडौँ।

`पुस्तौं पुस्ताका लागि पुस्तकालय´ भन्ने आदर्श वाक्यका साथ सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाइएको छ ।

कमलपोखरी स्थित रसियन भवनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री अशोककुमार राईले, `छिट्टै नेपाल राष्ट्रिय पुस्तकालयको सुविधासम्पन्न भवन काठमाडौंको जमलमा बन्ने बताए ।´ मन्त्री राईले पछिल्लो समय ज्ञान आर्जन गर्नेभन्दा पनि सुचना मात्रै लिने प्रवृत्ति मौलाएको भन्दै पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको आवश्यकता औंल्याए।

त्यस्तै समारोहमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पुस्तकालयहरुमा रुपान्तरणको आवश्यकता रहेको र प्रविधिसँग पुस्तकालयलाई जोड्नुको विकल्प नरहेको बताइन् । सोही अवसरमा पूर्व मन्त्री गणेश शाहले सुरुका दिनहरुमा जनताको स्तरबाट मात्रै यो दिवस मनाइएकोमा हाल राज्यले समेत यसको अपनत्व ग्रहण गरेकोमा खुशी व्यक्त गरे ।

समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा मूल आयोजक समितिका अध्यक्ष सुरेश अधिकारीले समतामूलक समाज निर्माणमा पुस्तकालयको भूमिका उपर चर्चा गर्दै समारोहलाई सफल बनाउन आबद्ध सबैलाई धन्यवाद दिए ।

समारोहको अवसर पारेर देशभरीबाट पुस्तकालयको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट पुस्तकालय अभियान्ताको रुपमा रिड नेपालका अध्यक्ष भोला श्रेष्ठ, उत्कृष्ट पुस्तकालयको रुपमा काठमाडौं रक्तकाली स्थित आशा सफू कुथि, उत्कृष्ट पुस्तकालयकर्मीको रुपमा मातृभूमि सामुदायिक पुस्तकालय बिर्घा स्याङ्जामा कार्यरत जोगप्रसाद पाण्डे र उत्कृष्ट पाठकको रुपमा रुक्मिणी चालिसे गोदावरी न.पा.४ बडीखेललाई अभिनन्दन गरिएको छ ।

तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले `पुस्तक चिताइ तहविल´ नाममा पुस्तकालय स्थापन गर्न लालमोहर जारी गरेको दिन (१८६८ भाद्र १५ शुक्रबार)लाई स्मरण गर्दै प्रत्येक वर्ष भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्