सीतसीपास र रूड पराजित

0
Shares

न्युयोर्क, (एजेन्सी) । ग्रान्डस्लाम फाइनलिस्ट स्टेफानोस सीतसीपास र क्यास्पर रूड न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणबाटै विदा भएका छन् । सातौं वरियताका सीतसिपासलाई स्विट्जरल्यान्डका डोमिनिक स्ट्रिकरले हराएका थिए । यो खेल सीतसिपासले ७–५, ६–७, ६–७, ७–६ र ६–३ ले गुमाएका थिए ।

यसैगरी वरियतामा पाँचौ स्थानमा रहेका रूडलाई चिनका खेलाडी झांग झिजेनले पराजित गरेका थिए । झिजेनले गत वर्षको यूएस ओपनका उपविजेता रूडलाई ६–४, ५–७, ६–२, ०–६ र ६–२ ले पराजित गरेका थिए । तर, दोस्रो वरियताका नोभाक जोकोभिच भने तेस्रो चरणमा पुगेका छन् । उनले स्पेनका खेलाडी जापाटा मिरालेसलाई सीधा सेटमा पराजित गरे ।

जोकोभिच मार्गारेट कोर्टको कीर्तिमानी २४ ग्रान्डस्लाम उपाधि बराबर गर्न लक्ष्यमा छन् । उनी यस यूएस ओपनका मुख्य उपाधि दावेदारी समेत हुन् । सितसीपास र रूडको पराजयले उनलाई उपाधि जित्ने लक्ष्य सहज पनि बन्दैछ । उनले अन्तिम १६ मा पुग्न शुक्रबार लास्लो डेरेसँग खेल्नेछन् ।