काठमाडौं । एशिया कप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागि भएको नेपाली क्रिकेट टोलीले पहिलो खेलमै फराकिलो हार बेहोरेको छ । पाकिस्तानको मुलतानमा भएको खेलमा नेपाललाई आयोजक टोली पाकिस्तानले २ सय ३८ रनले हराएको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको थियो । जवाफमा नेपाली टोली २३.४ ओभरमा १ सय ४ रनमै अलआउट भएको थियो ।
एशिया कपको इतिहासमा यो दोस्रो फराकिलो जित हो । यसअघि भारतले सन् २००८ को एशिया कपमा पाएको जित नै यस प्रतियोगितामा अहिलेसम्मको ठूलो जित हो । त्यतिबेला भारतले हंगकंगलाई २ सय ५६ रनको अन्तरले पराजित गरेको थियो ।
सोमपाल र आरिफको ब्याटिङ
१४ रनमा तीन विकेट पतन भएपछि नेपालको इनिङलाई सोमपाल कामी र आरिफ शेखले सम्हाले । उनीहरुले केही हदसम्म विकेट पतन हुन नदिइ रन बटुलेका थिए । तर, यो साझेदारी ५९ रनमा गएर सकियो । आरिफलाई २६ रनमा हारिस राउफले आउट गरेर नेपाललाई चौथो झट्का दिएका थिए ।
३ सय ४३ रनको लक्ष्य पछ्याउने हेतुले क्रिजमा आएको नेपाली टोलीको शुरुवात नै ज्यादै खराब रह्यो । स्कोरबोर्डमा १४ रन बन्दा नेपालले तीन विकेट गुमाइसकेको थियो । यहीबाट नै नेपाल कति रनको अन्तरले हार्नेमा मात्रै ध्यानकेन्द्रीत भयो ।
नेपालको विकेट यसरी पतन भयो :
कुशल भुर्तेल (८ रन)—शाहीन शाह अफरीदीले पहिलो ओभरको पाँचौ बलमा कुशललाई आउट गरेका थिए । कुशलले शुरुवाती दुई बललाई चौका प्रहार गरेका थिए । तर, यही ओभरमा शाहीनको बलमा उनी आउट भए ।
रोहित पौडेल (शून्य)—शाहीनकै पहिलो ओभरको छैठो बलमा रोहित आउट भए । उनी एलबीडब्ल्यू आउट भएका थिए ।
आसिफ शेख (५ रन)—दोस्रो ओभरको चौथो बलमा आसिफ आउट भएका थिए । नशीम शाहले उनको विकेट लिएका थिए । उनको क्याच स्लिपमा रहेका इफ्तिखार अहमदले लिएका थिए । योसँगै नेपालको स्थिति ३ विकेटको क्षतिमा १४ रन भएको थियो ।
आरिफ शेख (२६ रन)—आरिफ र सोमपाल कामीले चौथो विकेटका लागि ५९ रन बनाएका थिए । आरिफलाई हारिस राउफले १५ औं ओभरको चौथो बलमा आउट गरेका थिए । उनी बोल्ड भएका थिए ।
सोमपाल कामी (२८ रन)—सोमपाल नेपालको तर्फबाट सर्वाधिक रन बनाउने ब्याटर सावित भए । उनलाई १७ औ ओभरको अन्तिम बलमा राउफले शिकार बनाएका थिए ।
दीपेन्द्र सिंह ऐरी (३ रन) —दीपेन्द्र २१ औं ओभरको पाँचौ बलमा आउट भएका थिए । उनी नवाजको बलमा बोल्ड भएका थिए ।
गुलशन झा (१३ रन)—२२ औं ओभरको तेस्रो बलमा उनी शादाब खानको बलमा आउट भए ।
सन्दीप लामिछाने (शून्य)—सन्दीप २२ औं ओभरको पाँचौ बलमा बोल्ड भएका थिए ।
कुशल मल्ल (६ रन)—कुशल २४ औं ओभरको दोस्रो बलमा क्याच आउट भएका थिए । उनी पनि शादाबकै शिकार भए ।
ललित राजवंशी (शून्य) —ललित २४ औं ओभरको चौथो बलमा आउट भएका थिए । उनलाई शादाबले एलबीडब्ल्यू आउट गरेका थिए ।
बाबर र इफ्तिखारको शतक
बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिखार अहमद १ सय ९ रनमा नटआउट रहेका थिए । बाबर र इफ्तिखारले पाँचौ विकेटका लागि २ सय १४ रन साझेदारी गरेका थिए । यो साझेदारीले नै नेपालको लागि समस्या भएको थियो । बाबरले मोहम्मद रिजवानसँग तेस्रो विकेटका लागि ८६ रन साझेदारी गरेका थिए । रिजवान ४४ रनमा रनआउट भएका थिए ।
बाबरले दक्षिण अफ्रिकाका क्रिकेटर हासिम अमलाको रेकर्ड तोडेका छन् । बाबरले १९ औं शतक १ सय २ इनिङमा बनाएर अमलाको रेकर्ड तोडेका हुन् । अमलाले १९ औं शतक बनाउँदा १ सय ४ इनिङ खेलेका थिए । यस्तै बाबर पाकिस्तानी टोलीबाट सर्वाधिक शतक बनाउने सूचीमा दोस्रो स्थानमा छन् । पहिलो स्थानमा सईद अनवर रहेका छन् ।
नेपालको बलिङ
लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपालले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिए । सोमपाल नेपालबाट एकै ओडिआई खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । यसअघि सोमपाल र करणले समान ८१ रन खर्चिएका थिए । नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन खर्चिदा २ विकेट लिएको थियो ।
पाकिस्तानको विकेट पतन
फखर जमान (१४ रन)—छैठो ओभरको तेस्रो बलमा करण केसीले फखरलाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाए । उनको क्याच आसिफ शेखले लिएका थिए ।
इमाम उल हक (५ रन)—इमाम रनआउट भएका थिए । बललाई मिडअफमा खेलेर एक रन दौडेका उनलाई रोहित पौडेलले डाइरेक्ट थ्रोमा आउट गरेका थिए ।
मोहम्मद रिजवान (४४ रन)—२४ औं ओभरको चौथो बलमा एक रन लिने कोशिसमा रिजवान रनआउट भएका थिए । उनलाई दीपेन्द्र सिंह ऐरीले डाइरेक्ट थ्रोमा आउट गरेका थिए ।
सलमान अली आगा (५ रन)—२८ औं ओभरको पाँचौ बलमा सलमानलाई लामिछानेले आउट गरेका थिए । उनको क्याच कुशल भुर्तेलले लिएका थिए ।
बाबर आजम (१५१ रन)—बाबर अन्तिम ओभरको चौथो बलमा आउट भएका थिए । उनलाई सोमपाल कामीले आउट गरेका थिए ।