इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो

भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र प्रदेश स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रतिनिधिलाई निम्तो



sf7df8f}+ ebf}+ @$ OGb|hfqfsf] cj;/df xg’dfg9f]sfdf hLljt b]lj s’df/LnfO{ /ydf /fv]/ b/jf/ kl/if/ kl/qmdf ub}{ . t:jL/ M k|blk/fh jGt,/f;;

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र राष्ट्रिय स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ ।

मेयरको सचिवालय र कामपा बोर्डको बैठकले इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय पर्वका रूपमा परिचय दिन पाहुना बोलाउन लागेको हो । निम्तो मान्न भगिनी सम्बन्ध कायम भएका १८ नगरका ४–४ जना, संस्था र स्थानीय तहका प्रमुख, उपप्रमुख र केही जनप्रनितनिधि आउने कार्यक्रम रहेको छ । कामपाका प्रवक्ता नवीन मानन्धरले २ साताअघि सबै पाहुनालाई निमन्त्रणा गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कामपाले सम्बन्ध कायम गरेका विश्वका मुख्य देश, अन्तर्राष्ट्रिय संस्था र राष्ट्रिय स्तरका ७ स्थानीय तहका प्रमुखलाई निम्तो पठाएका छौं । उहाँहरू इन्द्रजात्रा अवलोकन गर्न विश्व पर्यटन दिवसको दिन अर्थात् असोज १० गते नेपाल आउनुहुनेछ ।’

कामपाले चार दिनसम्मका लागि बस्ने र खाने व्यवस्था गरेको छ । ११ गते मुख्य जात्रा अवलोकन गरेपछि १२ गते भक्तपुर दरबारक्षेत्र भ्रमण गराउने कार्यक्रम तय भएको छ । चार दिनको बसाइपछि सबै पाहुनालाई औपचारिक रूपमा बिदा दिने गरी तयारी थालेको छ ।

प्रवक्ता मानन्धरले जात्रा अवधिभरको जिम्मा कामपाको रहेको बताउनुभयो । ‘हामीले केही पर्यटकीय क्षेत्र भ्रमण गराउने कार्यक्रम तय गरेका छांै, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय भइसेकेको छैन’ –प्रवक्ता मानन्धरको भनाइ छ । कामपाले कामपा सदस्य रहेको अन्तर्राष्ट्रिय संस्थाका प्रमुखलाई निमन्त्रणा गरेको छ । कामपा सदस्य रहेको संस्थाहरूमा चीनको बेजिङमा मुख्यालय रहेको विश्व पर्यटन शहरहरूको महासंघ (डब्ल्यूटीसीएफ), मुख्य महानगगरहरूको विश्व संस्था मेट्रोपोलिस, स्थानीय वातावरणको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय परिषद् (आईसीएलईआई), मानव बन्दोबस्त व्यवस्थापनका लागि स्थानीय सरकारको क्षेत्रीय सञ्जाल (सिटिनेट), विशाल शहरहरूको दिगो, भूकम्पीय जोखिम व्यवस्थापन, संस्था (ईएमआई), ऐतिहासिक शहरहरूको संस्था (एलएचसी), संयुक्त शहरहरू र स्थानीय सरकारको संगठन (सीएलजी) र विश्व सम्पदा शहरहरूको संगठन (ओडब्ल्यूएचसी) का प्रमुखलाई निमन्त्रणापत्र पठाएको छ ।

कामपाले विदेशी पाहुनालाई परराष्ट्र मन्त्रालयसँग समन्वय गरी पत्राचार गरेको हो । कामपा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा प्रमुख सुदर्शन भट्टराईले सबै निकायलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं महानगरसँग भगिनी सम्बन्ध भएका विदेशस्थित मुलुकमध्ये अमेरिकाको युजिन, रोचेस्टार, फेडरिक्सवर्ग र बोल्डर, जापानको मात्सुमोतो, बेलारुसको मिन्स्क, म्यानमारको यांगुन, उत्तर कोरियाको प्योङयाङ, भारतको वाराणसी, चीनको सियान, ल्हासा, सेन्जेन, लान्चोउ, छेन्दु, नान्जी र स्पेनको मेड्रिट शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । ‘यी सबै शहरका ४–४ जना प्रतिनिधिलाई निम्तो पठाएका छौं’ –शाखा प्रमुख भट्टराईले भन्नुभयो ।

महानगरले भगिनी सम्बन्ध राखेका राष्ट्रिय नगरहरूमध्ये कोशी प्रदेशको पाख्रिबास नगरपालिका, मधेस प्रदेशको जितपुर सिमरा उपमहानगरपालिका, वागमतीको मेलम्ची नगरपालिका, गण्डकीको ङिस्याङ गाउँपालिका, लुुम्बिनीको रामग्राम नगरपालिका, कर्णालीको चन्दननाथ नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणापत्र पठाएको छ ।

इन्द्रजात्राको गरिमालाई राष्ट्रिय रूपमा अपनत्व र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो पठाइएको प्रवक्ता मानन्धरको भनाइ छ । कामपाले ‘जात्रालाई राष्ट्रिय रूपमा अपनत्व बोध गराउन पाहुनालाई निम्तो गरिएको हो । यो वर्षको इन्द्रजात्रा असोज ९ शुरू भएर ११ गते सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्