शिक्षकको माग गर्दै विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी, नगरपालिकामा जुलुस र धर्ना



सल्यान।

सल्यानको बागचौर नगरपालिकाका विद्यार्थीले शिक्षकको माग गर्दै विद्यालयमा ताला बन्दी गर्नुका साथै नगरपालिकामा नाराजुलुस लगाएका छन् । सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ६ जामुनेचौर, अमरज्योति माध्यमिक  विद्यालय बागचौर नगरपालिका  ३ चौरपानीका र शिशुकल्याण माध्यमिक विद्यालय बागचौर नगरपालिका ११ हारिचारका बिद्यार्थीहरुले शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी, सँगै नाराजुलुस लगाएका हुन् ।

आइतबार सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ६ जामुनेचौर र सोमबार अमरज्योति माध्यमिक ३ चौरपानी र शिशुकल्याण माध्यमिक विद्यालय ११ हारिचारमा विद्यार्थीले ताला लगाएका थिए।

विद्यालयमा ताला लगाउँदा समेत पनि नगरपालिकाले शिक्षक नपठाएपछि बाध्य भएर नगरपालिका घेराउ गर्न आएको बिद्यार्थीहरुले बताएका छन् । गत साउनमा बागचौर नगरपालिकाले नगर अनुदानमा कार्यरत शिक्षक हटाएर पुनः परीक्षा गराउने निर्णय गरेको थियो ।  शिक्षकको पहिलो चरणको परीक्षा समेत गराएको थियो। तर, अहिलेसम्म पनि विद्याालयमा शिक्षक नआउँदा पढाइ अस्तव्यस्त भएका कारण तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीको भनाइ छ ।

शिशुकल्याण माध्यमिक विद्यालय हारिचारमा कक्षा १० मा अध्ययनरत मधुसूदन वलीले अंग्रेजी र गणित बाहेक अरु कुनै पनि विषयको पढाइ डेढ महिनादेखि नभएको बताए । ‘हाम्रो विद्यालयमा एक वर्षदेखि सामाजिक विषयको सर हुनुहुदैन्, अंग्रेजी र गणित बाहेक अरु बिषयमा प्राविमा पढाउने सरले बेला बखतमा कक्षा लिनुहुन्छ’ उनले भने ‘एसइई दिने विद्यार्थीले यस्तो पढाइबाट कसरी पास गर्ने ? त्यही भएर विद्यालयमा तालाबन्दी गरेका हौँ ।’

विद्यालयमा पर्याप्त शिक्षक नहुँदा  बिद्यार्थीहरुको पढाइ अस्तव्यस्त बनेको छ । दरबन्दी अनुसारको शिक्षक नभएर समस्यामा परेका विद्यार्थी नगरअनुदानका शिक्षक पनि कटौती हुँदा  थप समस्यामा परेका हुन् । सरस्वती माद्यामिक विद्यालय जामुनेचौरका प्रधानाध्यापक धनविर वलीले नगर अनुदान र निजी स्रोतमा रहेका ६ जना शिक्षक एकैपटक कटौती हुँदा समस्या भएको बताए ।

‘विद्यार्थीले विषयगत शिक्षकको माग गरिरहेका छन्, हामीले शिक्षक आपूर्ति गर्न सक्ने अवस्था भएन, असार महिनामा ६ जना शिक्षक एकैपटक हटाइएपछि समस्या भएको हो, नयाँ ५ जना शिक्षक आउने कुरा हो, तर अहिलेसम्म आएका छैनन्, नियमित पढाइ नभएकै कारण विद्यार्थीले आइतबार विद्यालयमा ताल्चा लगाए’ उनले भने ‘सोमबार विद्यार्थी र अभिभावकसँग छलफल गरेका हौँ, तर शिक्षक नहुँदा  सम्म ताल्चा नखोल्ने विद्यार्थीले अडान राखेका छन् ।’

सरस्वती माध्यमिक विद्यालय पेदीखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृति बहादुर पुनले नगरअनुदानका शिक्षक हटाइएपछि यस विद्यालयको पठनपाठन पनि प्रभावित भएको बताए । ‘मावि तर्फ गणित, नेपाली र सामाजिक तथा निमाविमा विज्ञान विषयको शिक्षक असारमा हटाइए, उनीहरुले पुनः नगरअनुदानको शिक्षकमा परीक्षा दिए, तर चारै जनाको नाम निस्केन्’ उहाँले भन्नुभयो ‘डेढ महिनासम्म शिक्षक भर्ना गर्न नसक्नु शिक्षामा राजनीति भएको मान्न सकिन्छ ।’

शिक्षक छनौटमा नगरपालिकाको ढिलासुस्ती

बागचौर नगरपालिकामा ६८ वटा सामुदायिक विद्यालय छन् । नगरपालिकाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० बमोजिम नगरअनुदानमा साउन ५ गते एक सय २५ जना शिक्षकको विज्ञापन खोल्यो । बालविकास सहजकर्ता १३ जना, प्रावि तह (१–५) ६५ जना, आधारभूत तह (६–८) २९ जना र मावि तहमा १८ जनाको माग गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अघिल्लो नगरसरकारले नियुक्त गरेका ६८ जना नगरअनुदानका शिक्षक असार महिनामा एकैपटक हटाएको थियो । नयाँ शिक्षक नियुक्तिका लागि प्रथम पत्रको परीक्षा सञ्चालन गरिए पनि बाँकी परीक्षा सञ्चालन गरेर छिटोभन्दाछिटो शिक्षक भर्ना गर्ने कार्यमा नगरपालिकाले ढिलासुस्ती गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत अनन्त प्रसाद गौतमले शिक्षकहरुको पहिलो चरणको परीक्षा भइसकेकाले अव दोस्रो चरणको परीक्षा छिटो सञ्चालन गरी शिक्षक पठाउने जानकारी दिए । शिक्षक नियुक्त नगरिँदा सम्म वैकल्पिक शिक्षकको व्यवस्था गरेर पढाई सञ्चालन गरिने बताए ।

वडा कार्यालयमा पनि विद्यार्थीको तालाबन्दी

यस्तै तत्कालै विषयगत शिक्षकको माग गर्दै बिद्यार्थीहरुले बागचौर नगरपालिका–११ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सोही वडाको शिशुकल्याण माध्यमिक विद्यालय हारिचारमा अध्ययनरत विद्यार्थीले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालयमा नयाँ शिक्षक नआउँदासम्म र पठनपाठन प्रभावकारी नहुँदा  सम्म तालाबन्दी जारी रहने विद्यार्थीले जनाएका छन् ।

वडाअध्यक्ष केश बहादुर भण्डारीले शिक्षकको माग गर्दै विद्यार्थीले वडा कार्यालयमा तालाबन्दी गरेको बताएका छन्  । ‘मेयरसाप काठमाण्डौँमा हुनुहुन्छ, हाकिमसावको सरुवा हुदैँछ रे, त्यही भएर शिक्षक छनौटमा ढिलाइ भएको बुझिएको छ’ उनले भने ।

सरस्वती माध्यमिक विद्यालयमा बागचौर नगरपालिकाले ६ जामुनेचौरमा नगर अनुदान र निजी स्रोतका ६ जना, अमरज्योति माध्यमिक विद्यालय बागचौर नगरपालिका ३ चौरपानीमा नेपाली, गणित र सामाजिक विषयका ३ जना र शिशुकल्याण माध्यमिक विद्यालय बागचौर नगरपालिका ११ हारिचारमा तीन शिक्षक नहुँदा पठनपाठनमा असर पुगेको हो। यस्तै श्री शहीद भरत स्मृति विद्यालय बागचौर नगरपालिका–५ सिर्पामा पनि शिक्षक अभावमा विद्यालय नै बिदा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्