नियमावलीको स्वागत गर्दै  विज्ञापन संघले गरायो बोर्डको ध्यानाकर्षण



काठमाडौँ।

नेपाल विज्ञापन संघ आनको संघर्षका कारणले परिवर्तन भएको विज्ञापन नियमावली २०८० जारी भएकोमा नेपाल विज्ञापन संघले स्वागत गरेको छ । अध्यक्ष सोमप्रसाद धितालले मंगलबार जारी गरेको विज्ञप्ति मार्फत नेपाल विज्ञापन संघले स्वागत गरेको छ ।

संघले नियमावलीको स्वागत गर्दै कार्यान्वयनमा विज्ञापन बोर्डलाई अविलम्ब पहल गर्न अनुरोध गरेको छ । विज्ञापन एजेन्सी संघ (आन) को केही गुनासाहरु हुँदै गर्दा सरकारले २०८० श्रावण ३२ गते विज्ञापन एजेन्सी, सञ्चार माध्यम र विज्ञापनदातालाई मान्य हुने गरी संशोधित विज्ञापन नियमावली २०८० जारी गरेसँगै विज्ञापन एजेन्सीका बारेमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा अनेकन अफवाह फैलाउने खालका अभिव्यक्तिप्रति नेपाल विज्ञापन संघ (आन) को ध्यानाकर्षण भएको जनाएको छ । एक पक्षीय रुपमा विज्ञापन व्यवसायीलाई बदनाम बनाउँदै सम्पूर्ण समस्याको जड नै विज्ञापन व्यवसायी नै हो भन्ने धारणाको हामी घोर निन्दा गरेको छ । सरकारले समयानुकूल सरोकारवालाको सहकार्यमा ऐन, नियम र कानुनमा सुधार, संशोधन र परिमार्जन गर्नु स्वाभाविक कदम हो तथापि कुनै नियमावली जारी गरे लगत्तै कुनै सरोकारवालालाई लक्षित गरी सत्य, तथ्य, विषयवस्तु र नियमावलीको मर्म नबुझी एकोहोरो रुपमा विज्ञापन व्यवसायी र सञ्चार माध्यमहरूको मानमर्दन हुने गरी सार्वजनिक रुपमा बेइज्जती गर्ने, बदनाम बनाउन खोज्ने र सरकारी कर्मचारीलाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न सामाग्री पोस्ट गर्ने कदमप्रति नेपाल विज्ञापन संघ (आन) ले आपत्ति गरेको छ ।

‘विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईद्धारा विभिन्न सञ्चार माध्यमहरुमा विज्ञापन व्यवसायी, सरकारी कर्मचारी र विज्ञापनदाताप्रति लक्षित गर्दै विभिन्न अफवाह फैलाउन उत्प्रेरित गर्नु झनै आपत्तिजनक छ । अध्यक्षद्वारा नै सामाजिक संजालमार्फत् यस्ता गलत अभिव्यक्तिलाई समर्थन गरेको प्रति सिङ्गो विज्ञापन उद्योग खेद प्रकट गर्दछ’–विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन क्षेत्र बढाउन गर्नुपर्ने यावत कुराहरुलाई बेवास्ता गर्दै कसैलाई काखा र कसैलाई पाखाको व्यवहार बोर्डबाट भइरहेकोमा यसलाई पुनर्विचार गर्न अनुरोध गरिएको छ । साथै विदेशी ब्रान्डको ५ प्रतिशत र स्वदेशी ब्रान्डको ५ प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गर्न, सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा सूचना राख्दा पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने, वैदेशिक रोजगारी र मदिराको विज्ञापन प्रकाशन रोकिँदा कुनै पनि पहल नगरिनु, अन्य क्षेत्रका विज्ञापनमा अङ्कुश लगाएकोमा यसलाई खुलाउने तर्फ बोर्डले कुनै पहल नगर्नु दुःख लाग्दो अवस्था भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञापन बोर्डले आफ्नो काम, कर्तव्य र अधिकार बिर्सेको हो कि भन्ने भान नेपाल विज्ञापन संघ (आन) लार्ई परेको उल्लेख गर्दै विज्ञापन बोर्डलाई विभिन्न अमुक संघ/संस्थालाई विज्ञापन व्यवसायी प्रति आरोप/प्रत्यारोपमा उत्रन उक्साउने कार्य तुरुन्त बन्द गर्न नेपाल विज्ञापन संघ (आन) ले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्