२० किलो अवैध चाँदीसहित दुईजना पक्राउ 

0
Shares

सिन्धुली ।

 बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका –५ खनियाँखर्कमा प्रहरीले मगंलवार २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारकोमा लुकाई छिपाई राखेको २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो ।

बरामद गरिएको चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका– ५ बस्ने रोहीत कुमार यादव र सप्तरीको राजविराज नगरपालिका –८ घरभई विराटनगर महानगरपालिका– ४ बस्ने ३७ बर्षका शेचन मानन्धर रहेका छन् ।

 नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए ।