गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जान सक्छ : प्रभु साह



काठमाडौँ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका हुन् । उनले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताए ।

अध्यक्ष साहले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताए । उनले सरकारले कानूनी शासनको खिल्ली उडाउने काम गरेको बताए । उनले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरु चुप नलाग्ने बताए।

अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षि मात्रै बनाइएको बताए । उनले मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै सो निर्णयको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने बताए । मन्त्रिपरिषद्ले गर्ने निर्णयको जवाफदेहिता प्रधानमन्त्रीसँग हुने भएकाले यस प्रकरणमा तत्कालिन प्रधानमन्त्रीपनि दोषि भएको उनले बताए । अध्यक्ष साहले तत्कालिन प्रधानमन्त्रीहरुलाई कारबाही प्रक्रिया अगाडी नबढाएर दुनियाँलाई मुर्ख बनाइएको बताए ।

अध्यक्ष साहले सत्तारुढ गठबन्धनका ठूला नेताहरु मिलेर सुन काण्डमा नाम जोडिएका नेताहरुलाई बचाउन लागि परेका बताए । गठबन्धनको बैठक बसेर नाम जोडिएका ठूला नेताहरुलाई केही नगर्ने भनि निर्णय गरिएको उनले आरोप लगाए । उनले सुन प्रकरणबाट जनता रिसाउने भएकाले जनताको ध्यान अन्तै मोड्नका लागि धरानमा अर्को काण्ड घटाइएको बताए।

अध्यक्ष साहले ठूला नेताहरुलाई कानूनभन्दा माथि बनाउने प्रयत्न गरिएको बताए । कोही पनि व्यक्ति कानूनभन्दा माथि नहुने भन्दै उनले दोषी जो कोही भएपनि कानूनी कारबाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्