सरकारले सुशासन र भ्रष्ट्राचार नियन्त्रणमा जनताले अनुभूति गर्ने गरी काम गरेको छ :  हरिबोल  गजुरेल 

0
Shares

सिन्धुली । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारले सुशासन र भ्रष्ट्राचार नियन्त्रणमा नागरिकले अनुभूत गर्ने गरी काम गरी रहेको बताएका छन् ।

सोमवार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार गजुरेलले सरकारले नागरिकता, पासपोर्ट लिन नागरिकले भोग्दै आएको सास्तीलाई सहज तुल्याएको दाबी गरे ।

उनले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ६० किलो सुन प्रकरण, ललिता निवास जग्गा प्रकरण लगायत ठुला भ्रष्ट्राचारका दोषीहरूलाई कारवाहीको दायरामा ल्याएर भ्रष्ट्राचार विरुद्धको अभियानलाई नागरिकले अनुभूति गर्ने गरी अघि बढाएको बताए । ‘अहिले सरकारले जुन कदम चाली रहेको छ । यसले जनतामा आशा पैदा गरेको छ । तर अझै पूर्ण विश्वास भने पैदा भइसक्या छैन । यसको समर्थन नागरिक समाज, मानव अधिकारबादी, अरु राजनीतिक दल, प्रतिपक्षमा भएकाले पनि भ्रष्टाचार विरुद्धको अभियानमा हामी पनि साथ दिन्छौँ भनेको अभिव्यक्ति सुनिन्छ’ उनले भने ।

उनले प्रचण्ड नेतृत्वको सरकारले यस वर्ष किसानलाई मलको अभाव हुन नदिएको र समयमै देशभरका विद्यार्थीहरुलाई किताब उपलब्ध गराएको बताए । उनले सरकारले देशमा देखिएको आर्थिक संकटलाई पनि बिस्तारै लयमा फर्काउँदै ल्याएको दाबी गरे ।

उनले ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टाराईलाई अनुसन्धान गरी दोषी देखिए कारबाही गर्ने अधिकार सरकारलाई कानुनले नै नदिएको बताए । क्याबिनेटको कुनै निर्णय गलत देखिए त्यस क्याबिनेटको प्रधानमन्त्रीलाई कारबाही गर्ने अहिले सम्म कानुन नबनेको र कुनै नजिर समेत नभएको उनको भनाई छ ।

उनले भ्रष्ट्राचारमा पार्टीका कुनै नेता संलग्न भएको पुष्टि भएमा प्रधानमन्त्री दाहालले उसलाई उन्मुक्ति नदिने जिकिर समेत गरे ।