पदक विजेता मार्सल आर्ट्स टोली सम्मानित



काठमाडौं । जर्मनमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टिम स्वदेश फिर्ता भएको छ । गत अगस्ट ४ देखि २४ गतेसम्म भएको उक्त प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट सहभागी खेलाडीहरुले पदक जित्न सफल भए । कीर्तिपुर नगरपालिका र जर्मनको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा उक्त टिम जर्मन गएको थियो ।

खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरि पदक जित्न सफल भएको टिम प्रशिक्षक राजिव महर्जनले जानकारी दिए । पदक बिजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले एक कार्यक्रम गरि सम्मान गरेको छ । कार्यक्रममा कीर्तिपुर खेलकुद बिकास समिति तथा विथ लोकल्स नेपालले पनि सहयोग गरेको विथ लोकल्सका संचालक सुदिप महर्जनले बताए ।

कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले विजेता खेलाडीहरु तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरिन् । उप मेयर शाक्यले खेलाडीहरुलाई अझ प्रगति गरि देश र कीर्तिपुर नगरको नाम उच्च राख्न हौसला समेत प्रदान गरिन् ।

उक्त प्रतियोगिताको पुरुष ३० केजीमा इभान महर्जनले स्वर्ण, ४० केजीमा एन्जेस महर्जनले रजत र ५० केजीमा प्रतिक श्रेष्ठले कांस्य जितेको प्रशिक्षक महर्जनले जानकारी गराए । टिम व्यवस्थापकको भूमिकामा रजनी डंगोल सहभागी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्