सबै विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागु



-लागु नगरे विश्वविद्यालयको अनुदान घट्ने
-मंसिर पहिलो साता पढाइशुरू गर्नुपर्ने
-भदौमा भर्ना खोल्नैपर्ने
-क्यालेन्डर लागु गर्न राजनीतिक प्रतिबद्धता आवश्यक

काठमाडौं । सबै विश्वविद्यालयमा भदौ १ गतेबाट एकीकृत शैक्षिक क्यालेन्डर लागु भएको छ । विश्वविद्यालय अनुदान आयोगको बोर्ड बैठकले लामो छलफलपछि ११ वटै विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागु गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. देवराज अधिकारीले नेपाल समाचारपत्रसँग कक्षा १२ को परीक्षाफल प्रकाशित भएलगत्तै भर्ना खोल्नुपर्ने र मंसिर पहिलो साताबाट पठनपाठन गर्नेपर्ने गरी एकीकृत शैक्षिक क्यालेन्डर लागु गरेको जानकारी दिनुभयो । आयोगले बोर्डले गरेको निर्णय मन्त्रालयमा पेस गरेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘हामीले मन्त्रिपरिषद्बाटै स्वीकृत गरेर एकीकृत क्यालेन्डर लागु गराउने तयारीमा छौं । सबै विश्वविद्यालयका उपकुलपति, रजिस्टार, रेक्टर, डीन, परीक्षा नियन्त्रकसहित बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न सबै विश्वविद्यालयलाई दबाब पर्नेछ ।’

उहाँले परीक्षा सम्पन्न भएको चारवर्षे कोर्ष सकेको ६ वर्षसम्म पनि परीक्षाफल प्रकाशित हुन नसकेर विद्यार्थीमा परेको मानसिक दबाब नियन्त्रण गर्न, परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुँदा अधिकांश विद्यार्थी विदेशिनुपर्ने बाध्यात्मक परिस्थितिलाई नियन्त्रण गर्न एकीकृत क्यालेन्डर लागु गरिएको जानकारी दिनुभयो ।

आयोगले क्यालेन्डर लागु गरेलगत्तै सबै विश्वविद्यालयले यो वर्षको भर्ना खोलिसकेको छ । नेपालका सबै विश्वविद्यालयहरूको शैक्षिक पात्रो एकीकृत बनाउनका लागि भन्दै नयाँ नियम लागु गरेको हो ।

आयोगका अध्यक्ष एवं पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादव लामिछानेले कक्षा सञ्चालनदेखि परीक्षाफल प्रकाशित गर्नसम्म सबै विषय समेटेर क्यालेन्डर लागु भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै विश्वविद्यालयले भदौबाट क्यालेन्डर लागु गरिसकेका छन्, पूर्वाञ्चल विश्वविद्यालयले पनि सोही आधारमा कक्षा सञ्चालन गरेको छ ।’ प्राडा लामिछानेले एकीकृत क्यालेन्डर लागु नगरे अनुदान कटौती हुने जानकारी दिँदै भन्नुभयो– ‘यो विषयमा सबै विश्वविद्यालयका उपकुलपतिले सहमति जनाइसक्नुभएको छ, सोहीअनुसार एकीकृत क्यालेन्डर लागु भइसकेको छ ।’ परीक्षाफल प्रकाशित नहँुदा विद्यार्थीको गुनासो थेग्न नसकेका विश्वविद्यालयले शैक्षिक क्यालेन्डर लागु भएपछि विद्यार्थीमा हौसला बढ्ने बताउनुभयो । यसअघि सबै विद्यार्थी संगठनहरूले विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर माग गर्दै मागपत्र पेस गरेका थिए ।

क्यालेन्डरले स्नातक, स्नातकोत्तर, एमफिल, पीएचडीलगायत उच्च शिक्षा पठनपाठनमा संलग्न शैक्षिक संस्थाहरूलाई बाँध्नेछ । क्यालेन्डर लागु भएपछि चारवर्षे कोर्षको चार वर्षभित्रै सबै सेमेस्टरको परीक्षाफल प्रकाशित गरिसक्नु पर्नेछ । क्यालेन्डर लागु नगर्ने विश्वविद्यालयको बजेट कटौती हुनेछ ।

क्यालेन्डर लागु भएपछि समयमै भर्ना र परीक्षाफल प्रकाशित हुने अपेक्षा आयोगको छ । विश्वविद्यालयहरूले समयमै पढाइ र परीक्षाफल प्रकाशित भएपछि उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या घट्ने अपेक्षा गरेको छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले एकीकृत क्यालेन्डर पूर्ण रूपमा लागु गराउन राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विश्वविद्यालय अनुदान आयोगले निर्माण गरी सबै विश्वविद्यालयले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको क्यालेन्डर लागु गर्न दलहरूको मुख्य भूमिका हुनुपर्नेछ । त्यसैले आयोगले सो क्यालेन्डर मन्त्रिपरिषद्बाटै स्वीकृत गर्न पहल गरिरहेको छ ।’

बन्द हड्ताल नगरेर आयोगले कार्यान्वयन गर्न निर्देशन दिएको शैक्षिक टाइमलाइन लागु गरे नेपालको शैक्षिक स्तर थप मजबुत हुने जिकिर गर्दै उपकुलपति प्राडा थापाले भन्नुभयो– ‘यसलाई एकीकृत क्यालेन्डरभन्दा पनि परीक्षा र पढाइको लागि तयार भएको आचारसंहिताभन्दा वेस हुन्छ।’ सबै विश्वविद्यालयका उपकुलपतिले शैक्षिक क्यालेन्डर लागु गर्न राजनीतिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्