६० किलो सुन तस्करी प्रकरण : दावासँग ‘सम्बन्ध’ रहेका नेपाली खोज्न सिआइबीको अरुचि



–दावासँग ‘सम्बन्ध’ भएका नेपालीलाई बचाउने प्रयास
–सिआइबीलाई मुख्य योजनाकारसम्म पुग्नै कठिन
–अनुसन्धानको सबै तारो चिनियाँतर्फ मात्रै
–चिनियाँ, नेपाली र भारतीय तीन समूह संलग्न
–दावासँग सम्बन्ध रहेका नेपालीलाई बचाउन माथिको दबाव

काठमाडौ । राजश्व अनुसन्धान विभागले गत २१ साउनमा सुन तस्करीको छानबीन र अनुसन्धान गर्ने जिम्मेबारी सिआइबीलाई सुम्पिए पनि त्यसयता यो तस्करीमा संलग्नहरुको थप जालो पत्ता लगाउनेतर्फ सिआइबीको भुमिका निकै सुस्त देखिएको छ ।

सिआइबीले अनुसन्धान गर्ने जिम्मेवारी पाएको २० दिन पुगिसक्दा समेत उसको अनुसन्धानको सूई सुन तस्करीमा पक्राउ परेको चिनियामूलक बेल्जियम नागरिक दावा छिरिङभन्दा माथि पुग्न सकेको छैन । दावासँग ‘सम्बन्ध’ देखिएका नेपाली नागरिकलाई छानबीन गर्नेतर्फ सिआइबीको रुचि नदेखिएको स्रोतको दावी छ ।

स्रोतका अनुसार राजनीतिक दबाव र प्रभावका कारण सिआइबीलाई सुन तस्करी प्रकरणको छानबीनलाई गति दिन कठिन भइरहेको छ । यही माथिको दवाब र प्रभावका कारण सिआइबीले दावाको कल डिटेल्स र इलेक्ट्रिक डिभाइसका बारेमा सूक्ष्म अनुसन्धान गरि दावासँग सम्बन्ध देखिएका नेपालीहरुको बारेमा छानबीन गर्न कुनै रुचि नदेखाएको स्रोतको दावी छ । स्रोतका अनुसार चिनियाँ, भारतीय र नेपाली गरि तीनवटा समूहसँग दावाको सम्बन्ध देखिए पनि सिआइबीको अनुसन्धानको तारो भने चिनियाँ समूहमा मात्रै सिमित भएको देखिएको छ ।

सिआइबीले राजश्व अनुसन्धान विभागबाट छानबीनको जिम्मेवारी पाएको २० दिनको अवधिमा ६ जना चिनियाँलाई मात्रै पक्राउ गरेको छ । तर दावासँग नियमित कनेक्सनमा रहेका र उनको सम्पर्कमा रहेका अन्य नेपालीलाई सिआइबीले केहि गर्न सकेको छैन । स्रोतका अनुसार दावाको कलडिटेल्सलाई निश्पक्षतापुर्वक र कुनै दबाव विना नै अध्ययन गर्ने हो भने केहि नेपाली उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरु समेत छानबीनको दायरामा आउने निश्चित छ । तर सिआइबीलाई परेको ‘माथिको दबाव’का कारण उसले दावाको कलडिटेल्समा दावासँग गहिरो सम्वन्ध देखिएका उच्च व्यक्तित्वहरुलाई छानबीनको दायरामा ल्याएर पक्राउ गर्ने हिम्मत गर्न सकेको छैन् ।

गृहस्रोतका अनुसार दावाको कलडिटेल्सका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबीसँग अस्वाभाविक चासो देखाइरहनु भएको छ । ‘उहाँहरुको चासोका कारण पनि सिआइबी केहि त्रसित जस्तो देखिएको छ ।’ गृहस्रोतले नेपाल समाचारपत्रसँग भन्यो । केहि दिन अघि मात्रै चिनियाँ मूलका बेल्जियम नागरिक रहेका सुन तस्कर दावासँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको वीच्याट मार्फत व्यवसायिक ‘डिल’ भएको तथ्य बाहिरिएको थियो । सिआइबीकै केहि अधिकृतले दावा र अध्यागमन विभागका महानिर्देशक बीच गहिरो सम्बन्ध देखिने वीच्याटका कुराकानी बाहिर ल्याइदिएका थिए । ‘त्यस्तो प्रमाण पाउदा समेत सिआइबीले अधिकारीलाई पक्राउ गर्न सकेको छैन । यो तथ्यले सिआइबीमाथि उच्चस्तरबाट ठुलो दबाव रहेको सहजै बुझ्न सकिन्छ । ’स्रोतले भन्यो ।

राजश्व अनुसन्धान विभागले २ साउनमा तस्करीको सुन पक्राउ गरेपछि आफ्नो अनुसन्धानलाई केहि समय नीकै व्यापक बनाएको थियो । विभागले राजधानीका विभिन्न ठाउमा रहेका सुन तस्करका सेल्टरहरुलाई समेत पहिचान गरि तस्करीको जालो केहि हदसम्म विच्छेद बनाउन सफल भएको थियो । विभाग नेतृत्वको प्रहरीले विभिन्न १८ जनालाई पक्राउ गर्न समेत सफल भएको थियो । विभागले १९ दिनको अवधिमा सो कार्य गरेको थियो । तर सिआइबीको अनुसन्धान २० दिन पुगिसक्दा समेत यसले केहि चिनियाँलाई पक्राउ गर्नेबाहेक अन्य उपलब्धि हासिल गर्न सकेको देखिदैन् । सिआइबीलाई अवैध सुन चोरी पैठारी तथा संगठित अपराधमा छानबीन गर्ने जिम्मेवारी दिइएको थियो । त्यतिखेर सिआइबीबाट राम्रै अनुसन्धान हुने आशा गरिएपनि अहिले आएर त्यस्तो देखिन नसकेको बताइएको छ । यद्यपी सिआइवीका अनुसन्धान अधिकारीहरुले भने अनुसन्धानलाई निश्कर्षमा पु¥याएरै छोड्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्