एशियाकपमा नेपालको सहभागिता



काठमाडौं । एशिया कप यही भाद्र १३ गतेदेखि शुरु हुँदैछ । यसपटक एशिया कप नेपाली समर्थकको लागि विशेष रहनेछ । विगतमा नेपाल यसमा सहभागि हुन सकेको थिएन । यसपटक भने नेपालले खेल्ने भएको हुँदा यो एशियाकप नेपाली खेलकुदको लागि विशेष हुने भयो । साथै नेपाली क्रिकेटको इतिहासमा यो प्रतियोगिता स्मरणीय रहनेछ ।

नेपालले एसीसी पुरुषको प्रिमियर कप जितेपछि एशिया कपमा खेल्ने तय गरेको हो । नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आईसीसीको एकदिवसीय क्रिकेटको वरियतामा १५ औं स्थानमा छ ।

एशिया कपमा नेपालको समूहमा भारत र पाकिस्तान जस्ता विश्वकप विजेता टोली रहेका छन् । नेपालको समूहमा यी महारथी परेको हुँदा भारतीय मिडियामा पनि नेपालको चर्चा भइरहेको छ । यसमा भारतले सात पटक एशिया कप जितिसकेको छ भने पाकिस्तानले दुई पटक मात्रै जित्न सकेको छ ।

एशियाकपको अघिल्लो संस्करण टी २० फरम्याटमा खेलाइएको थियो । तर, यसपटक भने प्रतियोगिताको फरम्याट परिवर्तन गरिएको छ । यसै वर्ष अक्टोबरमा भारतमा ५० ओभरको विश्वकप शुरु हुने हुँदा एशिया कपलाई ५० ओभरमा खेलाइने भएको हो ।

१६ औं संस्करण

यो एशिया कप १६ औं संस्करणको हुनेछ । सन् १९८४ देखि शुरु भएको यो प्रतियोगिता आईसीसी बाहिरको हो । यसको डिफेन्डिङ च्याम्पियन श्रीलंका हो । २०२२ को फाइनलमा श्रीलंकाले पािकस्तानलाई हराएको थियो । यो श्रीलंकाको छैटो एशिया कप उपाधि थियो । भारत भने सुपर चारबाटै बाहिरिएको थियो ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान र बंगलादेशले पनि सहभागिता जनाउनेछन् । ६ टोली सहभागि प्रतियोगितामा तीन–तीन टोलीलाई दुई समूहमा विभाजित गरिएको छ । नेपाल कठिन समूहमा परेको छ भने अफगानिस्तान रहेको समूहमा श्रीलंका र बंगलादेश सम्मिलित छन् । समूहका शीर्षका दुई दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारमा एक अर्को टोलीसँग खेलिनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको पहिलो खेलमा मुल्तानमा पाकिस्तानसँग नेपालले खेल्नेछ । १३ खेल हुने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्