साउनमा महानगरको राजस्व ६५ करोड ४२ लाख

गत  वर्षको तुलनामा २० करोड ३२ लाख बढी 



 काठमाडौँ ।

 चालु आर्थिक वर्षको साउन (१ महिना) मा काठमाडौँ महानगरपालिकाको ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गएको वर्ष (आ. व. २०७९/८०) को यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गएको बर्षभन्दा यस वर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको हो ।

आ. व. २०७७/०७८ देखिका बर्षहरुको राजस्व संकलनको अङ्क क्रमशः बढ्दो क्रममा छ । त्यस वर्ष (आ. व. २०७७/७८) को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपैयाँ र आ. व. ०७८/०७९ को पहिलो महिना (साउन) मा ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपैयाँ संकलन भएको थियो । पहिलो बर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपैयाँ धेरै हो । आ. व. ०७८/०७९ को तुलनामा आ. व. ०७९/०८० को पहिलो महिनामा १ करोड ५६ लाख ४५ हजार ३६५ रुपैयाँ धेरै राजस्व संकलन भयो ।

यी ४ बर्षमध्ये सबैभन्दा धेरै यही वर्ष संकलन भएको हो ।

यस वर्ष सम्पत्ति, बहाल  तथा पट्टावापतको आयमा लाग्ने कर, साना सवारी साधन कर, बाँडफाँड भइ प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर संकलन भएको छैन । यस्तै वित्तिय निकायबाट प्राप्त हुने व्याज रकम प्राप्त भएको छैन ।

प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २२८ रुपैयाँ प्राप्त भएको छ । यसपछि ठूलो रकम प्राप्त हुने शीर्षक सम्पत्ति कर हो । यसमा १२ करोड ५८ लाख ४८ हजार ७७३ रुपैयाँ प्राप्त भएको छ । अन्य राजस्व शीर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ् शुल्क, शिफारिस दस्तुर लगायत छन् । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, धरौटी सदरस्याहा, बेरुजु लगायत हुन् ।

राजस्व संकलनमा यो वर्ष प्राप्त भएको उपलब्धीका लागि केही प्रयासहरु कारण हुन् । राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन्  , ‘वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । राजस्व विभागले बेरुजु फस्र्यौट तथा वक्यौता असुली अनगुमन गरिरहेको छ । कर परीक्षण कार्य चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्