तीर्थ गएकाहरू तीर्थस्थलनजिक अस्ताए

चुरियामाईमा नै किन बढी हुन्छ बस दुर्घटना ?



हेटौंडा । हेटौंडानजिकको प्रसिद्ध तीर्थस्थल मकवानपुर र बाराको सीमामा पर्ने चुरियामाईनजिक चालकको लापरबाहीका कारण बस दुर्घटनामा परेर ६ भारतीयसहित ७ जनाले ज्यान गुमाएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाई मन्दिरनजिक बिहीबार भएको बस दुर्घटनामा १ नेपालीसहित ७ जनाको मृत्यु भएको हो ।

दुर्घटनाका घाइते धरम सिंहले सवारीचालकले होटलमा खाना खाने क्रममा मदिरासेवन गरेको बताउनुभएको छ । होटलमा मदिरासेवनपछि चालकले राति सवारी द्रुतगतिमा चलाएको र चुरियामाई मन्दिरको ओरालोमा आएपछि आफू हाम्फालेर भागेको उहाँले बताउनुभयो ।

सवारीचालको लापरबाहीले दुर्घटना भएको उहाँको भनाइ छ । दुर्घटनापछि फरार चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेर बारा ल्याएको छ । बारामा प्रहरीले बिहीबार सा“झ करिब ६ बजेसम्म चालकको मापसे परीक्षण गरेन । यति ठूलो दुर्घटनापछि पनि प्रहरीको निष्क्रियता देखिएको यात्रुहरूको दाबी छ । प्रक्रिया पूरा गरेर मापसे गरिने बारा प्रहरीले बतायो ।

जनकपुर–७ का चालकसहित उहाँका सहयोगी सहचालक र अन्य २ जना गरी ३ जनालाई प्रहरीले जनकपुरबाट घाइते भएको अवस्थामा नियन्त्रणमा लिएको छ । मृत्यु हुनेहरूमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीया श्रीकान्ता चतुर्वेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मीरादेवी र एक जना महोत्तरीको लोहारपट्टी–५ का ४१ वर्षीय विजयलाल पण्डित हुनुहुन्छ ।

सिंहको ४ः२५ बजे, भारतकै राजस्थान बस्ने सत्यवतीको ४ः३२ बजे, राजस्थानका राजेन्द्रको ४ः४० बजे, राजस्थान बस्ने श्रीकान्ताको ४ः१५ बजे र राजस्थान बस्ने बैजन्तीको उपचारका क्रममा ३ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला महोत्तरी लोहारपट्टि नपा–५ बस्ने पण्डितको ४ः१० बजे मृत्यु भएको थियो ।

चुरेहिल अस्पताल हेटौंडामा उपचाररत भारतको राजस्थान बस्ने वर्ष ४८ का घनश्याम चतुर्वेदीको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ भने हेटांैडा अस्पतालबाट धनुषाको मौवा गापा–१८ बस्ने वर्ष ४१ का घुरन मण्डल, महोत्तरी लोहारपट्टि नपा–५ बस्ने वर्ष २६ का जसबेन्दर पासवान डिस्चार्ज हुनुभएको छ ।

भारतको राजस्थान बस्ने वर्ष ५३ की मायादेवीको दाहिने कुममा चोट, वर्ष ३५ का अनिलकुमारको टाउकोमा चोट, वर्ष ५० की तारावती चतुर्वेदीको निधार र कम्मरमा चोट, उहाँकी नातिनी वर्ष ९ की कृतिका चतुर्वेदीको अवस्था सामान्य, वर्ष ४८ का श्यामलाल मालीको बायाँ खुट्टा र छातीमा चोट, वर्ष ४७ का हरवारी मालीको टाउको र ढाडमा चोट, वर्ष ७० की चौथीदेवीको दाहिने खुट्टा र छातीमा चोट, वर्ष ७२ का सुरेशचन्द्र चक्रवर्तीको दाहिने खुट्टा र बायाँ कुममा चोट लागेको अस्पतालले जनाएको छ ।

भारतकै राजस्थान बस्ने वर्ष ६३ का धरम सिंहको निधार, छातीमा चोट र बायाँ खुट्टा फ्याक्चर भएको छ । वर्ष ६० की इन्दु धाकदको निधार र छातीमा चोट, वर्ष १६ की गर्बिदा चतुर्वेदीको ढाड र छातीमा चोट, वर्ष ५४ का रामकुमार चतुर्वेदीको बायाँ घ“ुडा र छातीमा चोट लागेको प्रहरीले बताएको छ । भारतको राजस्थान बस्ने वर्ष ६५ की मीरादेवीको छातीमा चोट लाग्दा उहाँ गम्भीर घाइते हुनुभएको छ ।

सञ्चो अस्पताल हेटांैडामा उपचाररत महोत्तरीको जलेश्वर नपा बस्ने वर्ष ३८ का बिहारी मुखियाको मुखमा चोट र बायाँ खुट्टा भा“च्चिएको छ । दुर्घटनामा घाइते १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बसमा चालक दलका ३ जनासहित २७ यात्रु थिए ।

बस चुरियामाई मन्दिरबाट करिब सय मिटर दक्षिणतर्फ खोलामा खसेको थियो । काठमाडौंबाट जनकपुरतर्फ जा“दै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बर बस बिहान करिब सवा २ बजे दुर्घटनामा परेको हो । घाइतेको अवस्था बुझ्न बाराका प्रजिअ नवराज सापकोटा, मकवानपुरका प्रजिअ सूर्यप्रसाद सेढार्इं, मकवानपुरका प्रहरी प्रमुख (एसपी) सीताराम रिजाल, बाराका प्रहरी प्रमुख (एसपी) होबिन्द्र बोगटीसहितको टोली चुरेहिल र हेटौंडा अस्पताल पुगेको थियो । घाइतेहरूको उपचारमा कमी नगर्न अस्पताल प्रशासनलाई आग्रह गरिएको मकवानपुरका प्रजिअ सेढाईंले बताउनुभयो ।

चुरियामाईमा नै किन बढी हुन्छ बस दुर्घटना ?

कृष्णउदास खनाल, वीरगन्ज । बिहीबार बिहानीपख भनिए पनि समय भने मध्य रात नै थियो । पूर्व पश्चिम लोकमार्गको हेटौंडा पथलैया सडकमा सवारीसाधनबाहेक अरूको आवाज थिएन । मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको रात्री बस पनि यही सडकमा गुड्दै थियो । काठमाडौंबाट हिँडेको बस बारा र मकवानपुरको सीमा स्थलमा रहेको प्रसिद्ध धार्मिक स्थल चुरियामाई मन्दिर अगाडि पुग्दा मध्य रात भएको थियो । प्रायः यात्रुहरू निद्रामा थिए ।

भारत राजस्थानका ६३ वर्षीय धरम सिंह पनि यही बसमा सवार रहनुभएको थियो । चुरियामाईको मन्दिर अगाडि पुगेपछि बसभित्र रहेका र निद्रा खुलेकाहरूले चुरियामाईको दर्शन गरे । धरम सिंहले पनि गर्नुभयो । ओरालो बाटो अनि साँघुरो सडकका कारण बस भने नियन्त्रित हुने कुरै थिएन । बेलाबेलामा बस हल्लिँदा धरम सिंहको मनमा चिसो पसेको थियो तर चुरियाको त्यही ओरालो कट्न नपाउँदै बस एकैचोटि गल्र्यामगुर्लुम्म लड्यो अनि कति यात्रुहरूले ऐयासमेत भन्न पाएनन् । होसमा आउँदा भने धरम सिंह हेटौंडामा रहेको चुरेहिल अस्पतालको श्ययामा हुनहुुन्थ्यो ।

बुधबार काठमाडौं महोत्तरीका लागि हिँडेको बसमा धरम सिंह पनि सवार हुनुभएको थियो । उहाँसहित १९ जना घाइते भएको सो दुर्घटनामा परी उहाँकै ६ जनासहित ७ जनाले ज्यान गुमाउनु परेको छ । यसअघि २०७९ साल असोज २० गते पनि सोही स्थान नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रुको ज्यान गएको थियो । हेटौंडादेखि बाराको पथलैयासम्मको सडकमा अत्यधिक सवारी दुर्घटना हुनुमा साँघुरो सडक अनि चालकको लापरबाही नै रहेको पाइएको छ ।

बिहीबारको घटनामा पनि चालकको लापरबाही रहेको र उनले मदिरा सेवन गरेर बस चलाएको दाबी घाइते यात्रुको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले चालकको लापरबाही र साँघुरो सडककै कारण यात्रुहरूको अनाहकमा ज्यान गएको बताउनुभयो । डिभिजन सडक कार्यालय हेटौंडाले सडक बिस्तार नगर्दा पनि सो स्थानमा अत्यधिक सवारी दुर्घटना हुन गरेको चालकहरूको अनुभव छ ।

सडक चौडा नगरेसम्म सो स्थानमा अझै पनि सवारी दुर्घटनाको जोखिम कायम नै रहेको चालकको भनाइ छ तर, डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले भने पूर्व–पश्चिम राजमार्गको हेटौंडा बजारको सडक नै चौडा गर्न नपाएका कारण पनि अन्य सडकहरू विस्तार गर्न नसकिएको बताउँदै आएका छन् । बारा प्रहरीका अनुसार चुरियामाईको सो स्थानमा एक वर्षको अवधिमा मात्रै साना ठूला गरी एक दर्जन सवारी दुर्घटना भइसकेका छन् भने २५ जना बढीको ज्यान यसै स्थानमा गएको छ ।

प्रतिक्रिया दिनुहोस्