अझै ४० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त



काठमाडौं । लामो समयदेखि सयौंको संख्यामा रिक्त रहेको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद केही मात्रामा भए पनि पूर्ति हुने क्रम शुरू भएको छ । यद्यपि, अझै ४० स्थानीय तह रिक्त अवस्थामा छन् ।

लोकसेवा आयोगबाट उत्तीर्ण भई ६ महिनादेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम लिएका अधिकृतलाई मङ्गलबारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा नै पदस्थापन गर्न शुरू गरेको हो । लोकसेवा आयोगमा आएको नम्बर ६० प्रतिशत र प्रतिष्ठानमा तालिम लिएको मूल्याङ्कनलाई ४० आधार मानेर सोहीअनुसार योग्यताका आधारमा खाली रहेका ८० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले ७ सय ५३ स्थानीय तहमध्ये रिक्त रहेका स्थानमा प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ति गर्ने कार्य भइरहेको बताउनुभयो ।

मन्त्रालय स्रोतका अनुसार अझै पनि ४ सय ६० गाउँपालिकामध्ये १० वटा र २ सय ७६ वटा नगरपालिकामध्ये ३० वटामा उपसचिव रिक्त रहेका छन् । यसरी हेर्दा ४० स्थानीय तहमा अझै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको देखिएको छ । गाउँपालिकामा रिक्त रहेको ठाउँमा जाने प्रमुख प्रशासकीय अधिकृत पनि रमाना लिएको २१ र थप ७ दिनपछि मात्र जाने व्यवस्था कानुनमा रहेको हुँदा अझै १ महिना अगाडि जाने अवस्था छैन । अहिले गाउँपालिकामा शाखा अधिकृत, नगरपालिकामा उपसचिव र उपमहानगरपालिका र महानगरपालिकामा सहसचिव रहने व्यवस्था गरिएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माणलगायत काम प्रभावकारी हुन नसक्दा संविधान कार्यान्वयमा पनि समस्या देखिएको जानकारहरू बताउँछन् ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनप्रतिनिधिले आफ्ना नजिकका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर लाने र आफूअनुकूल आर्थिक हिनामिना गर्ने गरेका छन् । स्थानीय तहले गरेको कामको अनुगमन गर्ने संयन्त्र रहे पनि प्रभावकारी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्